प्रदेश २ मा कोरोना संक्रमण दर घट्दै, निषेधाज्ञा खुकुलो बनाइयो – Nepal Press

प्रदेश २ मा कोरोना संक्रमण दर घट्दै, निषेधाज्ञा खुकुलो बनाइयो

जनकपुरधाम । कोरोनाको हटस्पट बनेको वीरगञ्ज र जनकपुरमा पनि संक्रमण दर घटेपछि प्रशासनले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ ।

धनुषा प्रशासनले सात दिन निषेधाज्ञाको समय लम्ब्याउँदै निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउने दिने निर्णय गरेको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जोर गतेमा जोर र बिजोर गतेमा बिजोर सवारी (मोटरसाइकल, ट्याक्सी र ट्याम्पू) चलाउन दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

उनका अनुसार अब आवश्यकीय पसलहरु दिउँसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि नियमित सेवा सुचारु गर्न पाउने भएका छन् । बैठकले सरकारी, अर्धसरकारी कार्यालय, स्थानीय तह एवं संस्थाहरुले भीडभाड हुन नदिइ आलोपालो गरी सेवा सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

त्यस्तै विद्यालयहरुमा भीडभाड हुन नदिइ आलोपालो गरी पुस्तक वितरणको व्यवस्था गर्न सकिने छ । तर शैक्षिक संस्था बन्द नै रहने छन् ।

पर्सामा दिउँसो बजार खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय पर्साले बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म बजार खोल्न दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दुई पाङ्ग्रे सवारी साधन पनि चलाउन पाउने निर्णय भएको बताए । उनका अनुसार सार्वजनिक यातायातका सवारी साधनहरु भने तत्काल बन्द नै रहनेछ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीको निर्देशनपछि मालपोत तथा भूमीसुधार र नापी कार्यालय सञ्चालनमा आएको छ । कोरोना संक्रमण दर घटेपछि दुवै कार्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।

प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १० हजारबाट घटेर साढे तीन हजारमा झरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले मात्र ३ हजार ६८० सक्रिय संक्रमित छन् । यस प्रदेशमा कोरोनाको दोस्रो लहरले ९७७ जनाको ज्यान लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर