तुलसीपुरमा कक्षा १२ को परीक्षा : ग्रुप म्यासेन्जरमै आउँछ प्रश्नको उत्तर – Nepal Press

तुलसीपुरमा कक्षा १२ को परीक्षा : ग्रुप म्यासेन्जरमै आउँछ प्रश्नको उत्तर

दाङ । तुलसीपुर उपमहानगरले आजदेखि सुरू भएको कक्षा १२ को परीक्षा अनुगमन गरेको छ । मेयर टिकाराम खड्काको नेतृत्वमा शिक्षा शाखाले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा परीक्षा निकै लापरबाही तरिकाले सञ्चालन भएको पाइएको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार परीक्षा केन्द्रमा परीक्षार्थीले मोबाइल लगेको र फेसबुक म्यासेन्जर ग्रुपमा प्रश्न पत्र पठाएर उत्तर समेत राखिएको पाइएको छ । उक्त ग्रुपमा आएको जवाफ परीक्षार्थीले उत्तर पुस्तिकामा सहजै सारेका छन् ।

अनुगमन क्रममा उपमहानगरले सबैभन्दा धेरै मोबाइल महेन्द्र मावि केन्द्रबाट बरामद गरेको छ । त्यहाँ पब्लिक ज्ञानज्योति माविका विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

साे माविका विद्यार्थीबाट अनुगमन टोलीले १ सय २८ थान मोबाइल बरामद गरेको छ ।

हिमाल एकेडेमी केन्द्रबाट २१ थान मोबाइल फेला पारेको छ । हिमालमा तुलसी आवासीय मावि,महेन्द्र मावि,पशुपति मावि र सहिद स्मृति मावि सहित चार विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

चारै विद्यालयका विद्यार्थीलाई छुट्टाछुट्टै म्यासेन्जरमा प्रश्नका उत्तर पठाइएको पाइएको छ । चार विद्यालयका विद्यार्थी मध्य तुलसी आवासीय माविका विद्यार्थीबाट धेरै मोबाइल बरामद गरिएको छ ।

त्यसै गरी लिटिल हेबन केन्द्र परीक्षा दिइरहेका अरनिको माविका विद्यार्थीबाट १ सय भन्दा बढी मोबाइल बरामद गरिएको छ ।

त्यसै गरी मावि सेन्टर केन्द्रबाट ४ थान मोबाइल फेला पारिएको अनुगमन टोलीले जानकारी दिएको छ । ग्रुप म्यासेन्जरमा प्रश्न पत्र राख्ने र प्रश्नको हल गर्नेलाई कारबाही गर्न सिफारिस गरिने शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरीले बताए ।

आज अंग्रेजी विषयको परीक्षा थियो ।


प्रतिक्रिया

2 thoughts on “तुलसीपुरमा कक्षा १२ को परीक्षा : ग्रुप म्यासेन्जरमै आउँछ प्रश्नको उत्तर

  1. ‘ग्रुप म्यासेन्जरमा प्रश्न पत्र राख्ने र प्रश्नको हल गर्नेलाई कारबाही गर्न सिफारिस गरिने’ ।गफै त हुन् सम्धी, कारवाही हुने भइदिए यस्तै हुँदो हो ।

  2. कस्तो बनाउने हुन यिनलाई कार्वाही होस् ।सरकार केन्द्राध्यक्ष र कक्षा गार्ड लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *