जसपा विभाजनसँगै वैकल्पिक गठबन्धन प्रयास तुहियो, माधव नेपालको बार्गेनिङ पावर समाप्त – Nepal Press

जसपा विभाजनसँगै वैकल्पिक गठबन्धन प्रयास तुहियो, माधव नेपालको बार्गेनिङ पावर समाप्त

काठमाडौं । अध्यक्ष उपेन्द्र यादव अमेरिकामै भएको बेलामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित बनेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजित बनेको हो ।

नयाँ दलको नाम नेपाल हटाएर जनता समाजवादीमात्रै राख्नेगरी दर्ताको लागि निवेदन दिएको सांसद सुशीला श्रेष्ठले बताइन् । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये राईको पक्षमा ७ सांसद रहेका छन् ।

सांसद श्रेष्ठका अनुसार अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादव रहेका छन् । पार्टीमा आफूहरुको पक्षमा बहुमत रहेको निर्वाचन आयोग पुगेकी सांसद श्रेष्ठले दाबी गरिन् ।

जसपामा अकस्मात विभाजन आउनुको कारण सत्ता समीकरण हो । फागुन २१ गते प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेपछि माधव नेपाललाई वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बनाउन कांग्रेसले गरेको प्रस्ताव लुकेको छैन ।

प्रतिनिधिसभामा १० सीट रहेका माधव नेपाल ओलीसँग दूरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा जोडिएका छन् । वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४-४ जोड्दा १३८ सांसदको गणित थियो ।

तर, नेता राईको नेतृत्वमा ७ सांसदले पार्टी विभाजन गरेपछि त्यो सम्भावना तुहिएको छ । अध्यक्ष उपेन्द्र यादव माधव नेपालसँग मिलेर प्रचण्ड सरकार ढाल्न लागेपछि पार्टी विभाजन भएको हो । अब उपेन्द्र यादवसँग ५ सांसदमात्रै छन् । जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको हात देखिन्छ ।

जसपा विभाजन गर्ने राई एमाले पृष्ठभूमिका हुन् । उनलाई धरानमा चुनाव जिताउन ओली आफैं खटिएका थिए ।

सरकारलाई स्थायित्व दिन आफूहरुले पार्टी विभाजनको कदम उठाएको वनमन्त्रीसमेत रहेका नवलकिशोर साहले बताए ।

उनले भने, ‘हामीले सरकारको स्थायित्वको लागि यो कदम चालेका हौं । यो सरकारमा म मन्त्री पनि छु, त्यो मेरो दायित्व पनि हो । स्थायी सरकार नभए देशको कल्याण हुन सक्दैन । त्यसैकारणले हामीले जसपा दर्ता गराएका छौं ।’

अध्यक्षले यो सरकार ढाल्ने सूचना पाएपछि पार्टी विभाजन गर्नुभएको हो भन्ने जिज्ञासमा उनले भने, ‘सरकारलाई अस्थिर गर्ने गतिविधि चलिरहेको थियो । त्यसैले सरकारको पक्षमा यो निर्णय गरेका हौं ।’

अध्यक्ष उपेन्द्र यादव वैकल्पिक गठबन्धनको पक्षमा उभिने संकेत पाएपछि यो कदम चालेको उनले सुनाए । उनले आफूहरु यही सरकार र गठबन्धनको पक्षमा रहेको साहको भनाइ छ ।

कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको छ ।

आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधानविपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताए । मनमौजी तरिकाले निर्णय गर्ने प्रवृत्ति बढेकाले आफूहरूले पहिलेदेखि विरोध गर्दै आएको उनले प्रष्ट्याए ।

तर, जसपा प्रवक्ता मनिष सुमनले पार्टीका केही नेताहरुले दल त्याग गरे पनि पार्टी एक ढिक्का रहेको दाबी गरे ।

उनले भने, ‘पार्टीका केही साथीहरुले दल त्याग गर्नुभएको होला । पार्टी एक ढिक्का छ । उहाँहरुले आफ्नो राजनीतिको आफैं हत्या गर्नुभएको छ ।’

सुमनले आफूहरु पनि यही सरकारको पक्षमा रहेको बताए ।


प्रतिक्रिया

3 thoughts on “जसपा विभाजनसँगै वैकल्पिक गठबन्धन प्रयास तुहियो, माधव नेपालको बार्गेनिङ पावर समाप्त

  1. राष्ट्रिय पार्टी समेत नभएको माधव नेपाल भन्ने लाज नभएको मान्छे प्रधानमन्त्री बन्न मरिहत्ते गरेको थियो । बल्ल ठिक भयो। माकुने जस्ता तल्लोस्तरका मान्छेलाई राजनीतिमा कुनै स्थान र महत्त्व दिनुहुँदैन !

  2. जल्नेहरु जल्दै गरून् भन्दै थियो कुन्ठे महाराज🖕🖕अब आफै जल्दै छन्।प्रधानमन्त्रीको सपनामा कुन्ठे महाराजको मन अहिले भतभती पोलिरहेको छ🤣😂।देशको कार्यकारिणी पद त धेरै परको कुरा, एउटा टोल सुधार समितिमा पनि बस्न योग्य नहुने मनुवा हो माकुने🤮🤮

  3. बाध्यताबस लेख्न पर्यो यस्तो समाचार पत्रिकाले !!!
    खासमा, स्थायित्व, स्थिरता र उन्नतिको वातावरण बनाउन माकुने र यादब जस्ता भुरे टाकुरे, अवसरबादी भारतीय गोट्टीहरुका पसल बन्द हुनै पर्छ !! देशको लागि भन्दा पनि आफ्नु, आफ्नु पद अझ भन्ने हो भने मात्र ‘प्रधानमन्त्री’ पद देख्ने यी चिप्ले किराहरुको घिलाग्दो घिश्र्याई साह्रै मार्मिक रुपमा बेहोरी रहेको छ देशले : अब चाहिँ मुक्ति पाओस यिनीहरुबाट !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर