राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन – Nepal Press

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेका छन् ।

साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । पोखरा– १७ र २१ भित्र तय गरिएको रुटमा च्यापिम्पयन बनेका दुबै जनाले जनही ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

प्रकाशले निर्धारित २८ किमि दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भए ।

महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भए । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट एक सेकेन्डमा २० किलोमिटर दूरी पार गरेका थिए ।

प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला-पुरूष खेलाडीले क्रमशः ३०-३० हजार र २०-२० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने । उनीहरुले जनही १०-१० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्की, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं १७ र कास्की जिल्ला साइक्लिङ सङ्घको सहआयोजना र नेपाल साइक्लिङ सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र ‘रन फर फन’ विधामा गरेर १०० जनाभन्दा बढी खेलाडी सहभागी थिए । पोखरा-१७ पावरहाउसबाट सुरू भएको दौड महतगौंडा-दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा-२१ फेदीपाटन-खर्सयाङ-निर्मलपोखरी-फेदीपाटन-दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर