शिक्षामा वर्गीय विभेद रहेसम्म सुखी नेपाली समृद्ध नेपालको संकल्प र समाजवादको लक्ष्य पूरा हुँदैन: मन्त्री गिरी – Nepal Press

शिक्षामा वर्गीय विभेद रहेसम्म सुखी नेपाली समृद्ध नेपालको संकल्प र समाजवादको लक्ष्य पूरा हुँदैन: मन्त्री गिरी

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्ताको ताबेदारी नगरी नेतृत्व विकास गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

अनेरास्ववियुको केन्द्रीय कानून तथा संघीय मामिला विभागले शनिबार नेपाल ल क्याम्पसमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गिरीले भने, ‘विद्यार्थी नेताहरुको काम भनेको हामीलाई खबरदारी गर्ने पनि हो । हामी गलत बाटो हिँड्न खोज्यौं भने सच्याउने पनि हो । दबाब र जागरणको भूमिका खेल्ने हो तपाईंहरुले, सत्ताको ताबेदारी गर्ने होइन । त्यो हिसाबले आफ्नो नेतृत्व विकास पनि गर्नुपर्छ ।’

उनले थपे, ‘नेपालका ठूल्ठूला राजनीतिक परिवर्तनमा सायद पार्टीका नेताहरुभन्दा पहिला विद्यार्थी नेताहरु पुगेर आन्दोलनको ज्वारभाटा सिर्जना गरिसके पछाडि बल्ल सबै आन्दोलनको पछाडि हिँड्नुपर्ने स्थिति सिर्जना भएको हो । त्यसकारण विद्यार्थीहरुले त्यो हैसियत र त्यो आँट राख्नुपर्छ ।’

मन्त्री गिरीले विद्यार्थीहरुलाई नेपालमा शिक्षाका समस्या के हुन् भन्ने विषयमा सबैभन्दा पहिले स्पष्ट भएर आफ्ना गतिविधि अघि बढाउन सुझावसमेत दिए ।

शिक्षामा हुनेखाने र हुँदाखाने बीचको वर्गीय विभेद कायम रहेसम्म सुखी नेपाली समृद्ध नेपालको संकल्प र समाजवादको लक्ष्य पूरा नहुने उनले बताए ।

उनले भने, ‘जब शिक्षाको नीति नै विभेदकारी छ भने, जब शिक्षा नै सबैलाई समान रुपले दिन सकिँदैन भने, समान अवसरहरु शिक्षामा सिर्जना गर्न सकिँदैन भने त्यसले वर्गीय समाजको निर्माण गर्छ, त्यसले हुनेखाने र हुँदाखानेहरुका बीचमा अर्को नयाँ खाडल सिर्जना गर्छ । त्यसले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्न दिँदैन, समाजवादको गन्तव्यमा हामीलाई पुग्न दिँदैन ।’

एउटालाई दास बनाउने र अर्कोलाई राज्यका माथिल्ला निकायहरुमा पुर्‍याउने प्रकारको शिक्षाको वातावरण भएमा समाजमा दुइटा वर्ग निस्किने भन्दै मन्त्री गिरीले भने, ‘देशको समग्र प्रणाली सुधार्न सबैभन्दा पहिला शिक्षाबाट सुरुवात गर्नुपर्छ भन्ने कुरामा हामी सबै एकमत हुनुपर्छ । देशमा एउटै खालको शिक्षा प्रणाली लागू गर्न सक्नुपर्छ । यसमा हामी दृढताका साथ उभिन सक्नुपर्छ ।’

स्थानीय तहले पाठ्यक्रम विकास गरे पनि आमरुपमा केन्द्रले दिशानिर्देश गर्नुपर्ने र शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधाको मापदण्ड पनि केन्द्रबाटै तय हुनुपर्ने उनको भनाइ छ ।

नेपालको शिक्षा यहाँको माटो सुहाउँदो, जीवनोपयोगी र व्यवहारिक हुनुपर्ने भन्दै उनले त्यसैअनुसारको पाठ्यक्रम तयार पार्नुपर्नेमा जोड दिए । अन्यथा बेरोजगारमात्र उत्पादन हुने उनले टिप्पणी गरे ।

हाम्रो आवश्यकता के हो भन्ने पहिचान गरी व्यवसायिक, प्राविधिक शिक्षा आजको अनिवार्य आवश्यकता भएको भन्ने ख्याल गर्नुपर्नेमा मन्त्री गिरीले जोड दिए ।

विद्यमान ऐन र नीतिमा भएको खोटका कारण नेपालीहरुको विदेश पलायन नरोकिएको र सस्तोमा श्रम बेच्न बाध्य भइरहेको भन्दै मन्त्री गिरीले यस विषयलाई जोडदार ढंगले उठाउन विद्यार्थीहरुलाई आह्वान गरे ।

सरकारले भने यी कुराहरुलाई सम्बोधन गर्ने गरी अघि बढ्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर