सञ्चारकर्मी आस्थाले ल्याइन् ‘जनयुद्धका चिठी’ – Nepal Press

सञ्चारकर्मी आस्थाले ल्याइन् ‘जनयुद्धका चिठी’

काठमाडौं । सञ्चारकर्मी आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक भएको छ ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस्तक सार्वजनिक गरेका हुन् ।

१५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी लेखक केसीले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठी संकलन गरेर पुस्तकका रुपमा प्रकाशन गरेकी हुन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मीमा रहेर ६ वर्ष भूमिगत जीवन बिताएकी थिइन् । त्यसै समयमा सहकर्मी योद्धा, घरपरिवार र नेता गणबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीलाई पुस्तकमा समेटेकी छन् ।

जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रंगीन अनुभूति, युद्धमोर्चाका आरोहअवरोह, कार्य क्षेत्रको अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठीन बाटोमा सहज बनायो र बाल्यकालका दौंतरी र घरका पत्र गरी १० भागमा केन्द्रित गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने लेखक केसीले बताइन् ।

पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष नेपालले कालजयी कृतिका लागि लेखक केसीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रम नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको थियो । कार्यक्रममा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रकाशन गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेज’ ग्रन्थ दुई र ‘कालीकोट स्मारिका’ पनि सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *