बालकोटको बार्दलीमा पाल्मो- ओलीको सोफामा उपरखुट्टी लाएर बस्छिन्, सपिङका लागि अड्डी कस्छिन् – Nepal Press

बालकोटको बार्दलीमा पाल्मो- ओलीको सोफामा उपरखुट्टी लाएर बस्छिन्, सपिङका लागि अड्डी कस्छिन्

काठमाडौं । आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भेट्न जानेहरुको भीड लागिसकेको थियो । अध्यक्ष ओली बस्ने सोफामा एकजना बालिका मस्तसँग खुट्टा फर्काए मोबाइलमा खेलिरहेकी थिइन् ।

अध्यक्ष ओली बस्ने कुर्सीमा बसेकी बालिकालाई आगन्तुकले ‘त्यहाँ होइन यता बस’ भने पनि उनले टेरपुछर लाइनन् । कोही आफन्त वा नातागोताकी नानी होलिन् भन्नेहरुले पछिमात्र थाहा पाए उनी मुगु जिल्लाकी बालिका रहिछन् ।

अध्यक्ष ओलीको भेटघाट कक्षको बीचमा एक्लै राखिएको कालो सोफा छ, विभिन्न व्यक्तिहरुसँगको भेटघाट उनी त्यही सोफामा बसेर गर्छन् । तर आज उनको सोफामा उपरखुट्टी लगाएर मुगुकी बालिका छिरिङ पाल्मो बसिरहेकी थिइन् ।

उनलाई अध्यक्ष ओलीले प्रधानमन्त्री भएका बेला विद्यालय शिक्षाको अभिभावकत्व लिएका थिए ।

मुगुकै विद्यालयमा भर्ना भए पनि स्कुल मौसमअनुसार सरिरहने भएपछि उनलाई अहिले ओली र राधिका शाक्यले अभिभावकत्व लिएर काठमाडौंकै एक स्कुलमा पढाइको जिम्मा लिएका छन् । बिदा भएका दिन उनी बालकोटमा आफ्नै घरजसरी हैकम चलाएर ओलीकै सोफामा बसिदिन्छिन् ।

उनी कहिले भान्सामा गएर पोखढोल गरिदिन्छन् भने कहिले घरका कोठा चोटा चाहारेर सामान जाँच गर्छिन् । आइतबार उनी कपडा किन्न माग गर्दै बालकोट पुगेकी थिइन् । प्रायः उनको सपिङका लागि ओलीको तर्फबाट पैसा दिएर पठाइने गरेको छ भने फुर्सद भएका बेला आफूसँगै लगेर किनिदिन्छन् ।

ओलीको सचिवालयका एक सदस्य भन्छन्– उनीहरु (मुगकै अर्की बालिका पनि) बिदा भएको बेला आउँछन्, एक हप्तासम्म यतै बसेर जान्छन् । यस्तो चाहियो उस्तो चाहियो भनेर पूरै डिमान्ड गर्छन् । अध्यक्षज्युकै आसनमा बसिदिन्छन् । बालबालिकाप्रति उहाँको अतिरिक्त माया हुने गरेकाले उनीहरुले रतिभर अप्ठेरो मान्दैनन् ।

अध्यक्ष ओलीले अभिभावकत्व लिएका करिब २ दर्जन बालबालिकाहरु अहिले विभिन्न तहमा अध्ययन गरिरहेका छन् ।


प्रतिक्रिया

5 thoughts on “बालकोटको बार्दलीमा पाल्मो- ओलीको सोफामा उपरखुट्टी लाएर बस्छिन्, सपिङका लागि अड्डी कस्छिन्

  1. परिबारको सदस्यलाइ जस्तै माया दिनुभएकोमा ओलिजीलाइ राम्रो मान्छु !

  2. भाग्यमानी पाल्मो। प्रसंशनीय कार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर