जसपा विभाजनपछि झलनाथको प्रतिक्रिया- समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन – Nepal Press

जसपा विभाजनपछि झलनाथको प्रतिक्रिया- समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि नेपाली राजनीति तरंगित भएको छ । यही मेसोमा सोमबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन नेकपा एसका सम्मानित नेता झलनाथ खनाल निवास पुगेका छन् ।

खनाल निवास डल्लु पुगेका अर्थमन्त्री पुनसँग पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ । उनले अर्थमन्त्री पुनसँग समीकरणलाई थप बलियो बनाएर जानेबारे पनि छलफल भएको बताए ।

पुनसँगको भेटपछि खनालले नेपाल प्रेससँग भने, ‘अहिले समीकरण थप सदृढ बन्दै गएको छ, यसलाई थप बलियो बनाएर लानुपर्छ भन्नेमा छौं । त्यही कुराकानी भयो ।’

जसपा विभाजनपछि नेकपा एस पनि विभाजनको डिलमा रहेको चर्चा छ नि ? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो पार्टी विभाजन हुँदैन, त्यस्तो कुनै सम्भावना छैन ।’

उनले अर्थमन्त्री पुनलाई पछिल्लो आर्थिक संकट निकास गर्नेखालको नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएको बताए ।

उनले थपे, ‘मुलुकमा देखिएको आर्थिक संकट समाधान, विकास निर्माण, मुलुकले समृद्धि मागिरहेको छ, मुल्यवृद्धि, भ्रष्टाचार महंगी यसलाई समाधान गर्ने किसिमको नीति तथा कार्यक्रम र बजेट ल्याउनुस् भन्ने सुझाव दिएको छु ।’

उनले आज अध्यक्ष माधव नेपालले बोलाएको संसदीय दलको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताए ।

जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेको बेलामा माधव नेपालले दलको बैठक बोलाएका छन् । तर, पार्टी विभाजन हुने खालको कुनै विवाद नभएको नेता खनालले जिकिर गरे ।

नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्नेमा विवाद रहँदै आएको छ । नेता खनाललगायतका नेता एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् भने अध्यक्ष नेपाल सुरुआती चरणदेखि नै यो समीकरणमा सन्तुष्ट छैनन् ।

कांग्रेससँग वैकल्पिक गठबन्धन बनाउने माधव नेपालको सक्रियताकै कारणले उपेन्द्र नेतृत्वको जसपा विभाजन भएको नेताहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर