जसपा विभाजनको अन्तर्यः माधव-उपेन्द्रविनै बहुमत कायम राख्न यस्तो छ गणित – Nepal Press

जसपा विभाजनको अन्तर्यः माधव-उपेन्द्रविनै बहुमत कायम राख्न यस्तो छ गणित

गठबन्धन भत्काउन प्रयासरत शक्ति केन्द्रलाई ओली-प्रचण्डको अर्को काउन्टर

काठमाडौं । सत्ताधारी पार्टी जसपामा अचानक आएको विभाजनले धेरैले आश्चर्यमा पारेको छ । जसपाका ७ सांसदको हस्ताक्षरसहित अशोक राईले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

स्रोतका अनुसार यो विभाजनको सूत्रधार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । माधव नेपालको निरन्तरको किचकिच र वैकल्पिक गठबन्धनका लागि भूराजनीतिक प्रयासले दिक्क भएर नेताहरुले यो कदम चालेको स्रोतको भनाइ छ ।

माधव नेपाललाई प्रधानमन्त्रीमा अगाडि सारेर कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धनका लागि शक्तिकेन्द्रले गरिरहेको खेलकुदलाई ओली-प्रचण्डले जसपा विभाजनमार्फत निस्तेज बनाइदिएका छन् ।

आफ्नो जानकारी र सहयोगविना बनेको एमाले-माओवादी गठबन्धनप्रति सुरुदेखि दिल्ली सकारात्मक थिएन । यो गठबन्धन चीनले बनाइदिएको बुझाइ भारतीय संस्थापनमा रहेको छ ।

यता, सत्ताबाट गलहत्याइएको कांग्रेसलाई जसरी पनि प्रचण्डसँग बदला लिनु थियो । प्रधानमन्त्री बन्ने पालो पर्खिएका माधव नेपाललाई पनि अघि सार्ने रणनीति बनेको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सुरुमै यो गठबन्धनमा सहभागी नहुन दबाब थियो । यद्यपि, माधव नेपाललाई पनि उनले रोक्न खोजेका थिए । तर, नेकपा एसले सरकारमा जाने निर्णय लिएपछि यादव निर्णायक रहेनन् । उनी पनि पछि लागे । तर, त्यसपश्चात दिल्लीको इशारामा उपेन्द्रले गठबन्धन भत्काउने खेलमा सक्रिय बनेपछि जसपामा फुट ल्याइएको हो ।

अशोक राईलाई पार्टी विभाजनका लागि तयार पार्न ओलीको मुख्य भूमिका रह्यो । एमालेकै सहयोगमा राईले यसपालि चुनाव जितेका हुन् । उनकी पत्नी पनि सांसद बनेकी छन् । त्यसैले राई एमालेप्रति अनुग्रहित छन् । उनको पुरानो पृष्ठभूमि पनि एमाले नै हो ।

जसपामा विभाजनसँगै माधव उपेन्द्रविनै गठबन्धन टिकाउने आधार तयार भएको छ । एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ जनाको बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा १४० हुन्छ ।

जसपा फुटपछि माधव नेपालको बार्गेनिङ पावर समाप्त हुने भएको छ । उनी सरकारमा निर्णायक रहने छैनन् । उस्तै परे नेकपा एसलाई बाहिरै राख्न सकिने रणनीतिसमेत गठबन्धनमा बनिरहेको स्रोत बताउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर