जुम्ला महोत्सवमा गायिका ज्योति मगरमाथि किन भयो ढुंगा प्रहार ? (भिडिओ) – Nepal Press

जुम्ला महोत्सवमा गायिका ज्योति मगरमाथि किन भयो ढुंगा प्रहार ? (भिडिओ)

सुर्खेत । जुम्ला महोत्सवमा शनिबार गायिका ज्योति मगरले अप्रिय अवस्थाको सामना गर्नुपर्‍यो । उनले प्रस्तुति दिने क्रममा स्टेजमा ढुंगा प्रहार भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा अरू दिनभन्दा शनिबार भीड थियो । १० हजारभन्दा बढी दर्शक ज्योतिको प्रस्तुतिमा रमाइरहेका थिए ।

ज्योतिको स्वर गुञ्जिनेबित्तिकै दर्शकहरु उफ्रिन थाले । दर्शकको साथ पाएर ज्योति पनि हौसिन र उच्छृंखलता देखाउन थालिन् । उनको पहिरन पनि सधैं जस्तै भड्किलो थियो ।

दर्शक दीर्घामा रहेका केही युवा रक्सीले मातेका थिए । ज्योतिको प्रस्तुति र हाउभाउले उनीहरुले होस गुमाए । त्यसपछि केही युवाले भुईंबाट ढुङ्गा र माटो टिपेर स्टेजमा प्रहार गरेको भिडियोमा देख्न सकिन्छ ।

उनीहरुले अपशब्द प्रयोग गर्दै ज्योतिलाई गालीगलौचसमेत गरेका थिए । उक्त माहोललाई रोक्न साउण्ड सिस्टम केही समय बन्द गरिएको थियो ।

एक २३ वर्षीय युवकले ढुङ्गा हानेको सामाजिक सञ्जालमा रहेको भिडियोमा प्रस्ट देखिन्छ । तर, ज्योति मगरलाई भने ढुङ्गा लागेन । गायिका मगरको प्रस्तुतिमा रमाइलो गरिरहेका दर्शकहरु एकछिन तितरबितर भएका थिए ।

त्यसपछि ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा लगिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बढ्थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

गायिका मगरले गीत गाइरहेको समयमा अचानक प्राविधिक समस्याका कारण लाइन गएको हुँदा ती युवकले ढुङ्गा हानेको उनले दाबी गरे ।

‘प्राविधिक समस्याका कारण लाइन गएको थियो । सबै गायिका मगरको प्रस्तुतिमा रमाइलो गरिरहेका थिए । लाइन गएपछि दर्शक दीर्घाबाट ढुङ्गा प्रहार भएको हो’, अध्यक्ष बुढ्थापाले भने ।

सुरक्षाकर्मीलाई पनि भीड समाल्न हम्मेहम्मे भएको थियो । जेनेरेटरमा तेल सकिएको र लोडसेडिङका कारण बत्ती गएको हुँदा केही समय ज्योति मगरको प्रस्तुति रोकिएको अध्यक्ष बुढ्थापाको भनाइ छ ।

समाजिक सञ्जालमा गायिका मगरको आलोचना भइरहेको छ । उनको पहिरनमा धेरैले टीकाटिप्पणी गरिरहेका छन् ।

यसै विषयलाई लिएर गायिका मगरले सोमबार फेसबुकमा आफ्नो भनाइ सार्वजनिक गरेकी छन् । दर्शकले आफूलाई नभएर प्रहरीलाई ढुङ्गा हानेको ज्योतिको दाबी छ ।

हेर्नुहोस् उनको स्टाट्स

भएको के हो भने १० हजारभन्दा बढीको उपस्थितिमा मैले गीत गाउँदै गर्दा दर्शकहरु नाच्न र झुम्न थालेको समयमा त्यहाँ भएका ससाना महिला, बालबालिका च्यापिन थालेपछि सुरक्षाकर्मीले भीडमा घुसेर रोक्न खोज्दा लाठीचार्ज गर्नुभयो ।

नाच्न नपाएपछि केटाहरुले प्रहरीलाई ढुङ्गा हान्न थाले र एकछिन माहोल बिग्रेको हो । करिब आधा घण्टा म्युजिक बन्द गरेपछि फेरि माहोल साम्य भयो । बाँकी गीत गाएर कार्यक्रम सकाइयो ।

यदि ममाथि ढुङ्गामुढा भएको भए पनि खुसी नै हुन्थे, किन थाहा छ ? विनादर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो ।

१० हजार बढी दर्शकले पैसा तिरेर मलाई हेर्न आउँछन् भने त म खुसी खुसी ढुङ्गा नि खाइदिने हो ।

कार्यक्रम भव्य र सभ्य भयो भन्ने, तर चौरमा ४ जना नि दर्शक नहुनुलाई भन्छ दर्शकले लखेटेको भनेर लखेट्नुलाई ढुङ्गा हान्नु पर्दैन, उसको कार्यक्रम नै नहेर, इग्नोर गर्नु नै मनदेखि विरोध गर्नु हो ।

गायिका मगरले केहीलाई आफ्नो फेसबुक स्टाटसमा गालीसमेत गरेकी छन् ।

उनले स्टास्टमा लेखिकी छन्, ‘विचरा ज्ञानेन्द्र शाहीजीका भक्तहरु बाँकी था नपाउने इनोसेन्ट पिपुल, जसले जे भने नि होला कि भनेर विश्वास गर्नेहरु ।’

गायिका ज्योति मगरको प्रस्तुतिमा केटाहरुले अलि बढी नै गर्दा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *