नेकपा एमाले सुनसरी : आठौँ जिल्ला अधिवेशनको बन्द सत्र शुरु, प्रतिनिधि मनोनयनमा विवाद – Nepal Press

नेकपा एमाले सुनसरी : आठौँ जिल्ला अधिवेशनको बन्द सत्र शुरु, प्रतिनिधि मनोनयनमा विवाद

इटहरी । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन बन्द सत्र सुरु भएको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हिजो उद्घाटन गरेको अधिवेशनको आज ढिलो गरी बन्द सत्र शुरु भएको हो । अधिवेशनमा जम्मा ७ सय २० प्रतिनिधि सहभागी छन् ।

अधिवेशनमा कुल प्रतिनिधिको५ प्रतिशत मनोनयन गर्न पाउने व्यवस्था विधानले गरेको छ । तर मनोनयनमा एकलौटी भएको भन्दै विरोध भइरहेको छ ।

नेकपा एमालेको विधान २०४९ को धारा ३४ को उपधारा २९घ० मा निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत नबढ्ने गरी जिल्ला कमिटीबाट मनोनीत गर्न पाउने व्यवस्था छ ।

हालका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले विधान विपरीत प्रतिनिधि पठाएको असन्तुष्ट समूहको आरोप छ । प्रतिनिधि मनोनयन गर्दा जिल्ला कमिटीले निर्णय गर्नुपर्ने विधानको व्यवस्था छ । शुक्रवार बसेको जिल्ला कमिटीको बैठकमा प्रतिनिधि छनौटको विषय उल्लेख नभएको एक पदाधिकारीले बताए ।

वर्तमान जिल्ला कमिटी आयोजक कमिटी भएकाले १६५ जना स्वतः प्रतिनिधि हुने व्यवस्था छ । वडा र पालिकाबाट निर्वाचित भएका सहित जम्मा ६७५ को ५ प्रतिशत अर्थात् ३४ जना मनोनीत गरेर ७०९ ले मतदान गर्न पाउँछन् । तर सम्पर्क मञ्चका पदाधिकारी सहित ८० जना भन्दा बढी मनोनीत गरिएको असन्तुष्ट समूहले जनाएको छ ।

अधिवेशनमा भूगोल र जन सङ्गठनहरूबाट प्रतिनिधि चुनिएर आएका छन् । भूगोलबाट प्रतिनिधि चयन गर्दा ३५ जना सङ्गठित सदस्य बराबर १ अधिवेशन प्रतिनिधि छनोट भएको छ । दलित सदस्यहरू प्रतिनिधि छनोट गर्न २० बराबर १ अधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

यसरी छनोट गर्दा प्रतिनिधिको सङ्ख्या कुनै इकाईमा ३ जना भए त्यसमा एक जना महिला अनिवार्य गरिएको छ । प्रतिनिधि छनोट गर्दा अनिवार्य ३३ प्रतिशत महिला अनिवार्य हुनु पर्ने कार्यविधिले व्यवस्था गरेको थियो ।

जिल्लाभर रहेका २३ वटा जनसङ्गठनहरूबाट १०१ जना प्रतिनिधि चुनिएका छन् ।पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सर्व सम्मत नेतृत्व चयनका लागि निर्देशन दिए पनि सुनसरीमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना टर्दै गएको छ ।

सुनसरी अध्यक्षका लागि पार्टीका निलम खनाल र खेमराज पोख्रेलले आकांक्षा देखाएका छन् । दुवै जनाले एक अर्काको नेतृत्व स्वीकार नगरेपछि सुनसरीको नेतृत्व छनौट चुनावी प्रक्रियाबाट हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर