‘पुजार सार्की’ को ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक – Nepal Press

‘पुजार सार्की’ को ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक

काठमाडौं । यही जेठ १० गते विश्वभर एकसाथ रिलिज हुने चलचित्र ‘पुजार सार्की’ मा समावेश ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम र पीडालाई देखाइएको छ ।

त्यसैगरी गीतमा मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यहरुमा अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्यालाई मूल स्थान दिइएको छ ।

‘जाऊँ माया’ गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमिकालाई आग्रह गरेको कुरा दर्शाएको छ ।

यसअघि चलचित्रका रोमान्टिक गीतहरू सार्वजनिक गरिएको थियो । यो गीतमा दुःखका भावना व्यक्त गरिएको छ । बी पाण्डेले शब्द रचना गरेको यस गीतमा केतन क्षेत्रीको स्वर रहेको छ । पाण्डेका शब्दमा सुवास भुसालले सङ्गीत भरेका छन् । करिब २ सय गीत रचना गरेका पाण्डेले भुसालकै सङ्गीत र दिनेश राउतकै निर्देशनमा बनेको ‘प्रसाद’मा ‘बनकी चरी के भन्छ’ र चलचित्र ‘सेल्फी किङ’को लागि भुसालकै सङ्गीतमा ‘जाली रुमाल’ बोलका गीत रचना गरेका थिए ।

चलचित्रमा तीन नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिएका छन् । नायिकाहरूमा अञ्जना बराइली र परीक्षा लिम्बू छन्, जसले ग्रामीण परिवेशका युवतीहरूको भूमिका निभाएका छन् । चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायतको पनि अभिनय रहेको छ ।

चलचित्रलाई दिनेश राउतले निर्देशन र सुवास भुसालले निर्माण गरेका हुन् । किङ्डम नेटवर्कको ब्यानरमा बनेको चलचित्र नेपालमा आरआर फिल्मस् र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछन् । राजेश श्रेष्ठको डीओपी रहेको ‘पुजार सार्की’मा भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर