भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शनमा आउने – Nepal Press

भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्र आगामी असार ७ गतेबाट पुनः प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित सिनेमालाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा प्रदर्शन गर्नेछ ।

सिनेमामा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराजले निर्वाह गरेका छन् । उनी सिनेमाका निर्माता पनि हुन् ।

पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाइ छ ।

उनका अनुसार नयाँ सिनेमा जस्तै गरी रिलिज गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिँदैछ । असार ५ गते राजधानीमा सिनेमाको भव्य प्रिमियर शोको आयोजना गरिने सत्यराजले बताए ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको सिनेमामा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतको पनि अभिनय छ ।

भजन शिरोमणि भक्तराज आचार्यलाई श्रद्धाञ्जलीस्वरुप सिनेमा पुनः रिलिज गर्न लागेको कान्छा छोरा स्वरुपराजले बताए ।

‘सायद त्यो बेला यो सिनेमाका लागि सही समय थिएन । अहिले एकदमै उपयुक्त समय लागेकाले सिनेमा पुनः रिलिज गर्न लागिएको हो’, उनले भने ।

सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, गरेको संघर्ष र भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ ।

२०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाउँछ ।

सिनेमाको पुनः रिलिज घोषणा कार्यक्रममा संगीतकार लक्षण शेष, चेतन सापकोटा, वसन्त सापकोटालगायतका थुप्रै सेलिब्रेटीको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अधिकांशले ‘आचार्य’ पुनः रिलिज गर्नु भजन शिरोमणिको लागि अर्थपूर्ण श्रद्धाञ्जली हुने बताएका थिए ।

निर्माण टीमका अनुसार सिनेमाको ट्रिमिङ तथा पुनः सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । सिनेमामा भजन शिरोमणि तथा वरिष्ठ गायक भक्तराज आचार्यको निधनपश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यस पटक आफूहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक सिनेमा देखाउन खोजेको अभिनेता सत्यराजले बताए । सिनेमाका निर्माता रोशन राई हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर