कर्णाली सरकारले भोलि पूर्णता पाउने, यी हुन् मन्त्रीका सम्भावित अनुहार – Nepal Press

कर्णाली सरकारले भोलि पूर्णता पाउने, यी हुन् मन्त्रीका सम्भावित अनुहार

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ । मंगलबार मन्त्रालयको भागबन्डाको टुंगो लगाएसँगै नेताहरू मन्त्री छनौटको तयारीमा जुटेका हुन् ।

हिजो माओवादीका प्रमुख सचेतक रणसिंह परियार नियुक्त भइसकेका छन् । उनलाई मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ ।

कर्णालीमा नेकपा माओवादी केन्द्रको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय परेको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ ।

चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले १७ दिनपछि आज विश्वासको मत लिँदै छन् ।

एमालेको मन्त्री छान्ने जिम्मेवारी कँडेललाई दिएको छ भने माओवादीले पनि दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई दिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईंले नयाँ मन्त्रीबारे छलफल भइरहेको बताए । माओवादीका संसदीय दलका नेता शर्माले पनि अब मन्त्रीको नाम छिट्टै टुंगिने बताए ।

उनले भने,`शुक्रबारसम्म मन्त्री छनौट गरेर शपथ ग्रहण गर्ने गरेर छलफल भइरहेको छ । भोलि सरकारले पूर्णता पाउँछ ।`

यी हुन् सम्भावित अनुहार

शुक्रबार एमाले-माओवादीका गरी छ जना नयाँ मन्त्री नियुक्त हुँदैछन् । यसअघि माओवादीबाट प्रमुख सचेतक रणसिंह परियार विनाविभागीय मन्त्रीमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

एमालेमा यसअघि मन्त्री भइसकेका ३ जनालाई दोहोर्‍याउने कि नयाँ पठाउनेबारे टुंगिन बाँकी छ । कामकाजी मन्त्रालय एमालेको भागमा नपरेकाले यसपटक अधिकांश नयाँ मन्त्री बन्ने सम्भावना छ । दैलेखका विनोदकुमार शाह यसभन्दा पहिला आर्थिक मामिला तथा योजनामन्त्री भएको हिसाबले यसपटक एमालेले अर्थ मन्त्रालय नपाएको हुँदा शाहको सम्भावना कम रहेको नेताहरूले बताएका छन् ।

एमालेबाट यसअघि मन्त्री भइसकेका टेकराज पछाईका पनि यसपटक मन्त्री बन्ने सम्भावना कम नै देखिन्छ । यसभन्दा पहिला सामाजिक विकास मन्त्रालयको जिम्मेवारी समालेका पछाईले यसपटक भने सामाजिक विकास मन्त्रालय माओवादीका भागमा परेको छ ।

मन्त्री हटनासाथ पछाई एमालेका प्रमुख सचेतक भए । अर्को कार्यकालमा पार्टीकोबाट प्रतिनिधित्व कमजोर नहोस् भनेर पछाईलाई ब्याकअपको रूपमा राखिने सम्भावना छ ।

नयाँ पठाउँदा प्रत्यक्ष निर्वाचित भएको र जनजाति समुदायको भएका हिसाबले डोल्पाका शेरबहादुर बुढाको सम्भावना छ । पुराना दोहोरिए मुगुका जीतबहादुर मल्लले बाजी मार्ने छन् ।

महिलामा सिनियरका हिसाबले दक्षिणा शाही र भूगोल र दलित समुदायलाई समेट्ने हो भने गमता विक मन्त्री बन्ने सम्भावना देखिन्छ । त्यसो त हुम्लाका कलबहादुर हमाल र रूकुमकी तुल्सा मल्ल पनि प्रमुख दाबेदार छन् ।

माओवादीमा पनि आकांक्षी बढि छन् । अघिल्लो कार्यकालमा मन्त्री भइसकेका विन्दमान विष्ट र वीरबहादुर शाही मन्त्रीलाई दोहोर्‍याउने/नदोहोर्‍याउने बारे छलफल चलिरहेपनि नयाँलाई प्राथमिकतामा राखेर मन्त्री छनोट गर्ने तयारी रहेको एक नेताले बताए ।

माओवादीबाट कालिकोटका दुर्गा रावत, रुकुम पश्चिमका महेन्द्र के.सी. रूकुम पश्चिमकी मिलन खड्का (रोका) सम्भावित अनुहार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर