अक्सफोर्डमा मोदी सरकारबारे ‘शास्त्रार्थ’: भारतमा भोकमरी बढ्दा नेपालमा घटेको चर्चा – Nepal Press

अक्सफोर्डमा मोदी सरकारबारे ‘शास्त्रार्थ’: भारतमा भोकमरी बढ्दा नेपालमा घटेको चर्चा

काठमाडौं । बेलायतको विश्वविख्यात विश्वविद्यालय अक्सफोर्डको जरा ११ औं शताब्दीमा पुग्छ । त्यही शताब्दियौं पुरानो अक्सफोर्डमा हुने शास्त्रार्थ अर्थात अक्सफोर्ड युनियन डिबेटको इतिहास पनि दुई शताब्दी कटेको छ । विश्वविद्यालयमा पढाइने मुद्दामा मात्रै नभएर विश्वका तरोताजा एवं जल्दोबल्दो विषयमा समेत शास्त्रार्थ हुने गरेको छ ।

अक्सफोर्डका विद्यार्थीहरुको समूह अक्सफोर्ड युनियनले ‘अक्सफोर्ड युनियन डिबेट’ आयोजना गर्दै आएको छ । सन् १८२३ मा सुरु भएको यो शास्त्रार्थमा विज्ञान क्षेत्रबाट अल्बर्ट आइन्सटाइनदेखि स्टेफन हकिङसम्म, राजनीतिमा रोनाल्ड रेगनदेखि दलाई लामासम्म सहभागी भएको इतिहास छ । यहाँ सहभागी हुनेको सूचीमा मदर टेरेसाको नाम पनि छ । बिल क्लिन्टन तथा जिम्मी कार्टर छन् ।

यही विरासत बोकेको शास्त्रार्थमा यही मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा चलेको दशक लामो सत्ताको विषयमा शास्त्रार्थ भएको भिडियो सार्वजनिक भएको छ । अहिले यो भिडियो सामग्री धेरै चर्चाको विषय बनेको छ । ‘मोदीको भारत सही दिशामा छ ?’ भन्ने मुद्दाको पक्ष र विपक्षमा अक्सफोर्डमा विवाद भएको थियो ।

पक्ष र विपक्ष दुइटै कित्तामा उठ्यो नेपाली सवाल

अक्सफोर्ड युनियनको शास्त्रार्थको पक्षमा बोल्ने पाल्की शर्मा उपाध्याय र विपक्षमा बोल्ने अजय माकेन दुवैले नेपालको प्रसंग ल्याए । भारतीय चर्चित पत्रकार पाल्कीले मोदी सरकार सफल भएको बताइन् । उनले मोदीको कारण भारतीयहरुको विश्वास बढेको, भारतको पासपोर्ट बलियो भएको, डिजिटल भारत बनेका जस्ता उदाहरण दिइन् ।

उनले भारतको प्रगतिले भारत र भारतीयको मात्रै हित नभएर विदेशी खासगरी छिमेकीहरुको पनि भएको बताइन । उनले नेपाल र भूटानको उदाहरण दिएर भारतका अनलाइन भुक्तानी प्रणालीमा यी दुई देश जोडिएको बताइन् ।

विपक्षमा बोल्ने भारतीय कांग्रेसका नेता, राज्यसभा सदस्य तथा पूर्वमन्त्री अजय माकेनले पनि नेपालको नाम लिए । भारतमा लोकतन्त्र राम्रोसँग नआएको उनले बताए । भारत सरकारले मोदीको समयमा प्रगति नगरेको उनले दाबी गरे ।

मनमोहन सिंह प्रधानमन्त्री हुँदा २७ करोड भारतीय गरिबीबाट माथि उठेको यूएनडीपीको प्रतिवेदन भएको तर मोदीको समयमा भारतका धनी झन धनी तर गरिब झन गरिब भएको उनले बताए । मनमोहन सिंह प्रधानमन्त्री भएको समयमा आवास तथा शहरी गरिबी निवारणमन्त्री भएका अजयले आर्थिक रुपमा भारत अगाडि होइन पछि भएको बताए ।

भोकमरी इन्डेक्समा भारत छिमेकीभन्दा मुनि पुगेको उनले बताए । अजयले भने, ‘..नेपालमा भोकमरी ९.९ प्रतिशतले घटेको छ । अफगनास्तिानमा समेत २.३ प्रतिशतले भोकमरी घटेको छ । मोदी नेतृत्वको भारतमा स्कोर ३.२ प्रतिशतले बढेको छ । मोदीले भारतलाई दिएको यति हो ।’

भारतबाट अक्सफोर्ड शास्त्रार्थ प्रतिनिधित्वः पत्रकार र युट्युबर सरकारका पक्षधर

मोदी सरकारको बारेमा भएको अक्सफोर्ड युनियनको शास्त्रार्थमा आठ जनाको सहभागिता थियो । जसमा भारतबाटै अक्सपोर्ड पुग्नेहरु भने पाँच जना छन् । तीन जना भारत बाहिरबाट पुगेका थिए । भारतबाट पुगेका मोदी सरकार सही बाटोमा छ भन्ने पक्षमा पत्रकार तथा युट्युबर छन् । पत्रकार पाल्की तथा देशभक्ति नामक च्यानल चलाउने युट्युबर आकाश बेनर्जी पुगेका थिए ।

विपक्षमा पुग्नेहरुमा आम आदमी पार्टीका संस्थापक तथा चर्चित अधिवक्ता प्रशान्त भूषण, भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्वमन्त्री अजय माकेन र किसान आन्दोलनका नेता तथा भारतीय कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य अशोक धवाले थिए । भारतीय जनता पार्टीका नेताहरुलाई गरिएको निम्तो अस्वीकार भएको अजयले शास्त्रार्थमै बताएका थिए ।

आफूलाई बेलायत जानु अगाडि आफ्नी छोरीले मोदी सरकारविरुद्ध बोल्दा भारतमा आएपछि जेल हाल्नसक्ने भन्दै नजान भनेको उनले सुनाएका थिए । तर, प्रशान्तभूषण र अशोक धवालेसँगै जेल जानुपर्दा राम्रै होला भनेर आफू आएको उनले ठट्टा गरेका थिए ।

धवालेले मोदी सरकारकै कारण भारतमा रेल दुर्घटना भएर २८० को ज्यान गएको बताएर विरोध गरे भने पक्षमा बोलेका आकाश बेनर्जीले मोदी सरकार गलत बाटोमा नभएको भन्दै भारतका हरेक दशक र हरेक सरकारमा केही न केही आलोचनाको कुरा भएको बताए । बेलायतकै पनि भारतमा बन्ने हेडलाइन्स र बेलायत आएपछिको दृश्य फरक भएको उनले तर्क गरे ।

प्रशान्त भूषणले मोदी सरकारले गरिबी, विज्ञानदेखि किसान युद्ध गरेको भन्दै मोदी नेतृत्वमा भारत लोकतन्त्र नभएरर पैसा र प्रोपोगाण्डाको खेलमा परिवर्तन भएको तर्क गरे ।

भारत बाहिरबाट मोदी सरकारको विपक्षमा बोल्नेमा पाकिस्तानकी मिसा मियान थिइन् । उनले मोदी नेतृत्वमा काश्मिरमा मुस्लिमहरुको समस्या बढेको भन्दै मानव अधिकार हनन भएको बताइन् । पाकिस्तानले आफ्नो समस्याको कुरा गर्नुपर्नेमा भारतलाई लेक्चर दिएको भन्दै भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मिसाको आलोचना भएको छ ।

मिसाभन्दा भिन्न कित्तामा मोदी सरकारको पक्षमा बोलेकी बेलायती सत्ताधारी दलको तर्फबाट बेलायतको हाउस अफ लर्डकी सदस्य बारेनेस वर्माले भने मिसाको तर्कको खण्डन गरिन् । काश्मिरमा विदेशी लगानी खुला भएको, काश्मिरमा मुसलमानमात्रै नभएर पण्डितहरुलाई पनि हिंसा भएको भन्दै एक पक्षीय कुरा नभएको उनले तर्क गरिन् ।

काश्मिरका पण्डितहरुले थातथलो छोडेर हिँड्नु परेको बिर्सन नहुने भन्दै उनले भनिन्, ‘एक पक्षको महाविपत्तिमात्रै नहेरौं । त्यहाँ दुई पक्ष छन् । त्यहाँ सबै पक्षका पीडितहरु छन् । हामीले सबैको दुःख बुझ्न आवश्यक छ ।’

भारतको चर्चा गरे जस्तो समस्या नभएको भन्दै उनले थपिन्, ‘विश्वमा त्यस्ता देशहरु पनि छन् जहाँ तपाईं गैरमुस्लिम हुँदा आक्रमण हुन्छ । तपाईंको धार्मिक धाम ध्वस्त गरिन्छ ।’

अक्सफोर्ड युनियन शास्त्रार्थमा मोदीको पक्ष र विपक्षमा खरा कुरा राखिएका थिए । तर, उपस्थित दर्शकहरुको मतदानमा मोदी सरकारको विपक्षको मत धेरै आएको चेरवाल डट ओआरजीमा बिन्तिया देनोङले लेखेको सामग्रीमा उल्लेख छ ।

अक्सफोर्ड युनियनको आधिकारिक युट्युब च्यानलले भने मतदानको आँकडाको भिडिओ सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *