जनता समाजवादी पार्टी दर्ता भएको निर्वाचन आयोगको पत्र संसद सचिवालय पुग्याे (भिडिओ) – Nepal Press

जनता समाजवादी पार्टी दर्ता भएको निर्वाचन आयोगको पत्र संसद सचिवालय पुग्याे (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतवार निर्वाचन आयोगमा निवेदन परेको थियो ।

आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणपत्र दिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै आयोगले सो कुराको जानकारी संघीय संसद सचिवालयलाई पनि गराएको हो ।

राई नेतृत्वको जसपामा ७ जना सांसद रहेका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए ।

उनले आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोहीअनुसारको सीट व्यवस्थापन गरिने जानकारी दिए ।

‘आज निर्वाचन आयोगबाट दर्ता कायम रहेको जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दलबाट छुट्टिइ जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गर्नेगरी निर्वाचन आयोगको बैशाख २४ गतेको बैठकबाट निर्णय भएको भनी र सो व्यहोरा उल्लेख गरी संघीय संसद सचिवालयलाई पत्र प्राप्त भएको छ’, उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल विभाजन भएर निर्वाचन आयोगबाट त्यसको पुष्टि गरेर पत्र आइसकेपछाडि निश्चय नै सदनमा उहाँहरु कहाँ बस्ने भन्ने सन्दर्भमा उहाँहरुसँग सोध्छ । उहाँहरु सत्तापक्ष वा प्रतिपक्षमा बस्ने जानकारी गराएपछि सोही अनुकूलको सीट व्यवस्थापनको काम संसद सचिवालयले गर्छ । संसदीय दल गठन गर्न केही विवरण उपलब्ध गराएपश्चात उहाँहरुलाई सचिवालयले संसदीय दलको कार्यालयसमेत उपलब्ध गराउँछ ।’

जनता समाजवादी पार्टी नेपालबाट फुटेर बनेको जसपा राष्ट्रिय मान्यता प्राप्त दल हो वा होइन भन्ने कुराको पुष्टि भने निर्वाचन आयोगले गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर