राजश्व छलीको पोल खुल्दा वर्ल्ड लिंकमा खैलाबैला, कर्मचारीलाई दुरुपयोग गर्दै फेसबुकमा ह्यासट्याग अभियान – Nepal Press

राजश्व छलीको पोल खुल्दा वर्ल्ड लिंकमा खैलाबैला, कर्मचारीलाई दुरुपयोग गर्दै फेसबुकमा ह्यासट्याग अभियान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले राजश्व छल्न गरेका प्रपञ्चबारे नेपाल प्रेसले धारावाहिकरुपमा सामग्री प्रकाशित गरेपछि सञ्चालकहरुमा छट्पटी सुरु भएको छ । उनीहरुले समाचारको विश्वसनीयतालाई कमजोर पार्ने र पाठकमा भ्रम छर्ने कलुशित उद्देश्यसहित सामाजिक सञ्जालमा ह्यासट्याग अभियान नै थालेका छन् ।

नेपाल प्रेसमा प्रकाशित पछिल्ला केही समाचारमा थुप्रै संख्यामा ‘प्रायोजित’ प्रतिक्रियाहरुको बाढी आएको देख्न सकिन्छ । नेपाल प्रेसको फेसबुकपेज र समाचारको लिंकमा लेखिएका प्रतिक्रियाहरुमा ह्यासट्याग प्रयोग गरिएको छ- #justicforworldlink थुप्रै प्रतिक्रिया हुवहु कपिपेस्ट गरिएका छन् ।

सबैको आशय एउटै छ कि वर्ल्ड लिंकको कर छली उजागर गरेर नेपाल प्रेसले अन्याय गर्‍यो । प्रतिक्रिया लेख्नेहरुको प्रोफाइल खोल्नासाथ देखिन्छ, उनीहरु वर्ल्ड लिंंकमा कार्यरत कर्मचारी हुन् । हामीले केही कर्मचारीसँग कुरा गर्दा उनीहरुले नाम उल्लेख नगर्ने शर्तमा आफूहरुलाई व्यवस्थापनबाटै सर्कुलर आएको जानकारी दिए ।

‘हामीलाई justiceforworldlink ह्यासट्याग राखेर नेपाल प्रेसको समाचारमा कमेन्ट गर्न माथिल्लो तहबाटै सर्कुलर गरिएको छ । समाचारमा लेखिएका कुरा सत्य हुन् भन्ने जान्दाजान्दै पनि जागीर जोगाउनका लागि कमेन्ट लेख्नुपर्ने वाध्यतामा छौं’, एक कर्मचारीले व्यथा सुनाए ।

सम्पादकीय टिप्पणीः

एउटा व्यवसायिक सञ्चारमाध्यमका रुपमा नेपाल प्रेसले कानूनसम्मत चलिरहेको कुनै पनि अमूक संस्थालाई अकारण पतन गराउने दुराशय राखेको छैन र कहिल्यै राख्दैन । तर, चर्को शुल्कले उपभोक्ताको ढाड सेक्ने र राज्यका नियम–कानूनको धज्जी उडाएर राजश्व छल्दै अकुत आर्जन गर्न पल्केका व्यवसायिक प्रतिष्ठानहरु, चाहे जति नै शक्तिशाली किन नहुन्, उनीहरुप्रति नेपाल प्रेस नरम बन्न पनि सक्दैन ।

वर्ल्ड लिंकको बदमाशीलाई लिएर प्रकाशित सबै समाचारहरु तथ्यको धरातलमा टेकेर लेखिएका हुन् भन्ने हामीले आफ्ना नियमित पाठक वर्गलाई सायदै विश्वास दिलाइरहनुपर्ला । प्रत्येक समाचारमा लेखिएका विषयवस्तुहरु पुष्टि हुने आवश्यक सबै सबुत प्रमाण हामीसँग सुरक्षित नै छन् । नेपाल प्रेसले सञ्चारमाध्यमको आचारसंहिताभित्र रहेर गरेको कार्यलाई अवाञ्छित तरिकाले चुनौती दिने र पाठकमा भ्रम सिर्जना गर्ने कार्यलाई स्वीकार्न सक्दैन ।

संविधानले नै अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रुपमा स्थापित गरेको छ भने स्वतन्त्र पत्रकारिता लोकतन्त्रको एउटा स्तम्भ नै हो । समाचारमा चित्त नबुझेको खण्डमा प्रक्रियागतरुपमा खण्डन पठाउने वा त्यसो गर्न पनि आत्मविश्वास नभएमा नियमनकारी निकायहरु गुहार्ने विकल्पहरु छन् ।

तर, समाचारमा प्रश्न उठाउने ठाउँ नभएपछि आफ्ना कर्मचारीको सञ्जाललाई दुरुपयोग गर्दै ह्यासट्याग अभियान चलाउनेजस्तो दुष्कार्यसँग नेपाल प्रेस तर्सिँदैन । बरु आगामी दिनमा अझै कठोरताका साथ गलत कार्यहरुको पर्दाफास गरिनेछ ।

वैयक्तिक गोपनियताको ख्याल राख्दै हाम्रो समाचारमा नकारात्मक प्रतिक्रिया लेख्नेहरुको पहिचान खुलाउन चाहेको छैन । तर, यस्ता सबै प्रोफाइलहरुको रेकर्ड भने सुरक्षित राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *