एकडारा गाउँपालिकाका तत्कालीन अधिकृतसहित चार जनामाथि भ्रष्टाचार मुद्दा दायर – Nepal Press

एकडारा गाउँपालिकाका तत्कालीन अधिकृतसहित चार जनामाथि भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसहित पाँच जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन सडक ढलान गरी भ्रष्टाचार गरेको निष्कर्षसहित अधिकृत सिंहसहित पाँच जनामाथि आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

भ्रष्टाचारमा संलग्न अधिकृत, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र मण्डल, असिस्टेन्ट सब-इन्जिनियर सञ्जय कुमार मण्डल र श्री जानकी कन्सट्रक्सन, भनरा सिसवा नपा ५ का प्रोप्राइटर राकेश कुमार राय विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

वडा नम्बर १ अन्तर्गत स-साना सडक ढलानका लागि विनियोजित बजेटमा गुणस्तरहीन काम गरेको भन्दै आयोगमा उजुरी परेको थियो ‌। आयोगले उजुरीमाथि छानबिन गर्दा गुणस्तरहीन काम भएको र गुणस्तर चेकजाँच नै नगरी सम्झौता बमोजिम निर्माण कम्पनीलाई भुक्तानी गरेको देखिएको आयोगले जनाएको छ ।

गुणस्तरहीन सडक ढलानमा ८ लाख ६५ हजार १४५ रुपैयाँ भ्रष्टाचार भएको आयोगको दाबी छ । आयोगले कर्मचारीहरूलाई कैद र जरिवाना गर्न तथा निर्माण कम्पनीका प्रोप्राइटर रायलाई सजाय गरी बिगो समेत जफत गर्न माग दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *