वार्षिक ३ अर्ब प्याकेट उत्पादन हुन्छ वाइवाइ : गुणस्तर निश्चित गर्न कस्तो छ प्रक्रिया ? – Nepal Press

वार्षिक ३ अर्ब प्याकेट उत्पादन हुन्छ वाइवाइ : गुणस्तर निश्चित गर्न कस्तो छ प्रक्रिया ?

नेपाललाई विश्वमा चिनाउने नेपाली ब्राण्डका रुपमा परिचित छ वाइवाइ । गुणस्तरमा कायम गरेको विश्वसनीयताकै कारण वाइवाइ विश्व नुडल्स बजारमा प्रसिद्ध छ । विश्व नुडल्स बजारमा तीन प्रतिशत हिस्सा ओगट्ने वाइवाइ एसिया मात्रै होइन, युरोप र अमेरिकी उपभोक्ताको पनि प्रिय नेपाली ब्राण्ड हो ।

अन्तर्राष्ट्रिय विजनेस कम्युनिटीद्वारा ‘नुडल्स किङ्स’ उपाधी दिइएका नेपालका एक्ला अर्बपति एवं समाजसेवी विनोद चौधरी भन्ने गर्छन्- विश्वमा नेपालीहरू जहाँ-जहाँ पुगेका छन्, वाइवाइ त्यहीँ पुगेको छ । तर, अब त कस्तो देखिन थालेको छ भने नेपालीहरू जहाँजहाँ पुग्छन्, वाइवाइ त्यहीँ उत्पादन हुन थालेको छ । नेपालीले आफ्नो घरको एउटा स्वादलाई विश्वबजारमा पुर्‍याएका छन्, नेपाली स्वादका रूपमा ।

वाइवाइले दिने सन्तुष्टिका बारेमा चौधरीले एउटा कार्यक्रममा भनेका थिए- अमेरिकामा रहेका मेरा मित्रले ह्वाट्सएपमा मलाई एउटा भिडियो पठाइदिए जहाँ उनका टिनएजमा हुर्किँदै गरेका छोराले पहिलो पटक वाइवाइ पकाएर परिवारका सबै सदस्यलाई खुवाएका थिए ।

वाइवाइ विश्वका ५ देशमा फैलिएका केही दर्जन फयाक्ट्रीहरूमार्फत् वर्षमा ३ अर्ब प्याकेट उत्पादन हुन्छ । र, विश्वका ३५ देशका उपभोक्तासम्म वाइवाइका प्याकेट पुग्छन् । वाइवाइ नेपाल, भारत, बंगलादेश, युरोपको सर्बिया, मध्यएसियाको किर्गिस्तानबाट उत्पादन भइरहेको छ । मध्यपूर्वको इजिप्टबाट निकट भविष्यमा उत्पादन हुने तयारीमा छ । चौधरीले अमेरिकाबाट पनि उत्पादन गर्ने योजना बुनिरहेका छन् ।

चौधरीले कुनै बेला भनेका थिए- मेरो सपना वाइवाइलाई न्यूयोर्क स्टक एक्सचेन्समा सूचीकृत गर्नु हो । गएको साता मिडियामा उत्साहजनक रुपमा समाचार आए- भारतका स्टक एक्सचेन्जमा वाइवाइ सूचीकृत हुने प्रकृया अगाडि बढिसक्यो । त्यो समाचारलाई थप पुष्टि गर्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा घोषणा गरिदिए- नेपालमा पनि सँगै आईपीओ आउने छ । सन् २०२६ मा आमनागरिक पनि वाइवाइको लगानीकर्ता हुनेछन् ।

सफलताको राज : गुणस्तर

सीजीले नेपालमा चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाइबाट वाइवाइको उत्पादन सुरु गरेको थियो । नेपाली उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउने सीजी पहिलो कम्पनी हो ।

विश्वव्यापी रूपमा वाइवाइ इन्स्ट्यान्ट नूडल्सकोे वृद्धि पछाडीको एउटा प्रमुख कारक यसको गुणस्तर नै भएको कम्पनीको दाबी छ ।

कम्पनीका एक अधिकारी भन्छन्, ‘सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हँुदै गएको छ ।’

उनले कम्पनीको गुणस्तर प्रक्रियालाई यसरी वर्णन गरेः

कच्चा सामान फ्याक्ट्री पुग्नु अघिदेखि नै सीजीले गुणस्तरमा ध्यान दिएको हुन्छ । आपूर्ति गरिएका सामग्री सीजीको गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गर्दछ । प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नुअघि गुणस्तर जाँचको मापदण्ड पुरा गरेको हुनुपर्छ । यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ ।

प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ । दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गर्दछन् ।

प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरिन्छन् जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने गर्दछन् । कुनै त्रुटी देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ ।

यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानकअनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ ।

उत्पादित सामानहरू ब्याचका आधारमा भण्डारण गरिन्छ जहाँबाट पुन गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि (र्‍यान्डम्ली) नमूना संकलन गरिन्छ । प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ ।

सीजीसँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू छन् जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन् । यस कार्यलाई प्रत्येक उत्पादन इकाईमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाई प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याब गरी गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ ।

गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सिमित हुँदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भएअनुरुप गुणस्तर रहेको वा नरहेको हेर्न बजारबाट स्याम्पल समेत लिइन्छ ।

यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डी मार्फत गरिन्छ । प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडि आन्तरिक रूपमा मूल्याङ्कन र परिक्षण गरिन्छ ।

माथिका प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरू मार्फत खाद्य सुरक्षाव्यवस्थापन प्रणाली  ISO 22000: 2018 र गुणस्तर व्यवस्थापन प्रणाली  ISO 9001: 2015 प्रमाणित छन् ।

(कर्पोरेट समाचार)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *