युवतीको चरित्र हत्या केसमा हाजिर भएका युवकले रविको नाम लिएर डाइभर्ट गर्न खोजेको साइबर ब्युरोको दाबी – Nepal Press

युवतीको चरित्र हत्या केसमा हाजिर भएका युवकले रविको नाम लिएर डाइभर्ट गर्न खोजेको साइबर ब्युरोको दाबी

काठमाडौं। गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको साइबर ब्युरोले दाबी गरेको छ।

ब्युरोका अनुसार एक युवतीको चरित्र हत्या गरेको आरोपमा उनलाई प्रहरीले बोलाएको थियो । गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै आफूले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिकाटिप्पणीलाई लिएर ब्युरोले यातना दिएको दाबी गरेका थिए ।

केही महिनाअघि लामिछानेलाई आफूले सहकारी ठग भनेर सामाजिक सञ्जालमा कमेन्ट गरेको र त्यही विषयलाई लिएर मंगलबार ब्युरोले आफूलाई बोलाएको उनले भिडियोमा भनेका छन्।

उनका अनुसार प्रहरीले बुधबार मोबाइल लिएर आउनु भनेपछि उनी ब्युरो पुगेका थिए।

प्रहरीले वर्षौसम्म जेलमा कोच्ने भनेर थर्काएपछि आफूले ब्युरो परिसरमै औषधि सेवन गरेको दाबी गरेका छन् । तर ब्युरोका अधिकारीहरू ठकुरीलाई विशुद्ध महिला चरित्र हत्याको आरोपमा बोलाइएको दाबी गर्छन् ।

‘उनी बुधबार ब्युरोमा आउँदा नै औषधि बढी सेवन गरेर आएका रहेछन् । बेलुका आएको भिडिओमा कुनै सत्यता छैन । रवि लामिछानेसँग सम्बन्धित कुनै विषय नै थिएन ’, ब्युरोका एक अधिकारीले भने ।

ठकुरीको सामाजिक सञ्जालमा आफूलाई पत्रकारका रूपमा उल्लेख गरेको देखिन्छ । ब्युरोका ती अधिकारीले पीडित युवतीको उजुरीपछि ठकुरीलाई बोलाइएको र अनुसन्धानमा उनले हदैसम्म चरित्र हत्या गर्ने कामहरू गरेको पाइएको बताए ।

यसैबीच प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले अर्कै अभियोगमा हाजिर भएको व्यक्तिले गलत ढंगले प्रचारबाजी गरेर मुख्य अभियोगबाट जोगिन खोजेको भन्ने सुन्न आएकाले यसबारेमा साइबर ब्युरोले‍ केहीबेरमा आधिकारिक विज्ञप्तिमार्फत प्रष्ट पार्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर