रेलमा च्यापिएर जनकपुरमा युवकले गुमाए दुवै खुट्टा


जनकपुरधाम । भंगहा-जनकपुरधाम-जयनगर चल्ने रेलमा एक युवकले दुवै खुट्टा गुमाएका छन् ।
धनुषाको जनकनन्दिनी गाउँपालिका- ३ महुवाका ३५ वर्षीय श्रीराम दासको दुबै खुट्टा गुमेको हो । शनिबार बिहान ११ः१५ बजेको समयमा धनुषाको खजुरीस्थित रेलमा च्यापिएर उनको दुवै खुट्टा काटिएको छ ।
रेल जयनगरबाट जनकपुरधामतर्फ आउँदै थियो । रेल खजुरी स्टेशनदेखि करिब तीन सय मिटर पश्चिम महुवामा घटना घटेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेलको छेउबाट हिँडिरहेका उनी अचानक रेलतिरै भाग्न खोज्दा च्यापिएका थिए ।
रेलले हर्न दिएपछि दास उल्टै रेलतिरै दौडिँदा घटना घटेको रेल विभागका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।
उनका अनुसार दासको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ ।