राजतन्त्र फर्किने भविष्यवाणी फ्लप खाएपछि ज्योतिषी अर्जुन क्षेत्री भन्छन्- म भगवान हो र सबै मिलाउन ? (भिडिओ) – Nepal Press

राजतन्त्र फर्किने भविष्यवाणी फ्लप खाएपछि ज्योतिषी अर्जुन क्षेत्री भन्छन्- म भगवान हो र सबै मिलाउन ? (भिडिओ)

इलामको चुनावदेखि सन्दीप लामिछानेको मुद्दासम्ममा गरे नयाँ भविष्यवाणी

काठमाडौं । २०८० साल सकिनै लाग्दा सामाजिक सञ्जालमा धेरैले भाइरल ज्योतिषी अर्जुन क्षेत्रीको खोजी गरे । ५ वर्ष अगाडि उनले गीतामा हात राखेर ८० सालभित्र नेपालमा राजतन्त्र फर्किने भविष्यवाणी गरेका थिए ।

एउटा युट्यूब च्यानललाई दिएको अन्तरवार्तामा क्षेत्रीले गरेको भविष्यवाणी नराम्ररी फ्लप भएको छ । राजतन्त्र नफर्केको मात्र होइन कि निकट भविष्यमा फर्किने कुनै छेकछन्दसमेत देखिएन । कतिपय राजावादीहरु क्षेत्रीको अन्तरवार्ता हेरेर आशामा पनि बसेका थिए । उनीहरु निराश भए ।

क्षेत्रीले राजतन्त्र फर्किने भविष्यवाणी मात्रै गरेका थिएनन्, यदि फर्किएन भने आफूले ज्योतिष पेशाबाट सदाको लागि हात धुने घोषणा समेत गरेका थिए ।

उनले भनेका थिए, ‘म गीता छोएर भन्छु नेपालमा २०८० सालसम्म राजतन्त्र फर्केन भने म जीवनभरि ज्योतिषको काम नै गर्दिनँ ।’

क्षेत्री केही समयदेखि गुमनाम छन् । धेरैलाई चासो छ, कतै उनी ज्योतिष विद्याबाट पलायन भएर त हिँडेनन् ? कि ठूलै अवसादमा परेर बाहिर मुख देखाउन नसकेका हुन् ?

तर, त्यस्तो केही होइन । क्षेत्री अहिले पनि ज्योतिष पेशामा उस्तै सक्रिय छन् र पहिलेझैं बिन्दास छन् । उनी अझै पनि भविष्यबाणी गर्न पछि पर्दैनन्, चाहे मान्छेले आफूलाई विश्वास गर्न किन नछाडुन् ।

नेपाल प्रेससँग भिडिओ अन्तरवार्ता दिँदै गर्दा क्षेत्रीको अनुहारमा खासै ग्लानीभाव थिएन । भए पनि लुकाउन सफल भइरहेका थिए । आफ्नो बचाउमा उनले थुप्रै अमिल्दा तर्कहरु गर्न खोजे । यद्यपि, अन्त्यमा आफ्नो भविष्यवाणी अधुरो बनेको स्वीकारोक्तिसहित क्षमायाचना पनि गरे ।

‘मैले त्यो बेलाको समय परिस्थिति ग्रह दशा सबै हेरेर अन्तरआत्माबाट बोलेको थिएँ’, उनले भने, ‘अलिकिति नमिलेकै हो । त्यसरी ठोकुवा गरेर बोल्नु हुने रहेनछ भन्ने चाहिँ महसुस भएको छ ।’ यद्यपि, देशमा राजतन्त्र फर्किन वातावरण भने २०८० सालमा ह्वात्तै बढेको क्षेत्रीको विश्लेषण छ ।

‘राजतन्त्र फर्काउने आन्दोलनमा मानिस मारिनु, दुर्गा प्रसाईंजस्तो कम्युनिष्ट राजा फर्काउन हिँड्नु, राजा आफैंले अब राजसंस्था देशमा चाहिन्छ भनेर बोल्न थाल्नुले मेरो भविष्यवाणी आंशिकरुपमा चाहिँ मिलेकै हो । यद्यपि, राजसंस्था नफर्केको कुरा मैले स्वीकार्नै पर्छ । ममाथि विश्वास गर्नेहरुलाई पक्कै आघात पुगेको छ । त्यसका लागि माफी चाहन्छु’, क्षेत्रीले भने ।

उनी थप्छन्, ‘जति दिग्गज मान्छे पनि कहिलेकाहीँ चिप्लिन्छ । मेस्सी रोनाल्डोले पनि थुप्रैचोटि गोल मिस गरेका छन् । म पनि भगवान त होइन नि । एउटा भविष्यवाणी नमिल्दैमा म केही होइन भन्ने चाहिँ मिल्दैन ।’

तर, तपाईंले भन्नुभएको कि २०८० सालमा राजतन्त्र फर्केन भने ज्योतिष पेशामा रहन्न भनेर । गीता छोएर बोलेको कुरा पूरा गर्नुपर्दैन ?

क्षेत्रीले भने, ‘हो मैले त्यस्तो भनेको थिएँ । अब राजतन्त्र फर्किँदैन भन्ने भएपछि मैले ज्योतिष पेशामा नरहने सोच पनि बनाएको हो । तर, मेरो साथीभाइ, आफन्त र शुभचिन्तकले तैंले छोड्नु हुँदैन भनेर आग्रह गर्नुभयो । उहाँहरुको आग्रह टार्न सकिनँ । त्यसैले यो पेशालाई नै निरन्तरता दिइरहेको छु ।’

मान्छेले पत्याए पनि नपत्याए पनि क्षेत्रीलाई भविष्य हेराउन आउनेहरुको अहिले पनि कमी छैन । ज्यातिष पेशाबाटै उनले तीनवर्ष अगाडि घर ठड्याएका छन् । उनीसँग निजी गाडीसमेत छ ।

थप भविष्यवाणी

ठूलो सेटब्याकपछि पनि ज्योतिष क्षेत्री भविष्यवाणी गर्न डराइरहेका छैनन् । हामीले उनलाई इलामको चुनावमा कस्तो नतिजा आउला भनेर सोध्दा उनले उम्मेदवारको नाम लिन चाहेनन् तर ‘नयाँ शक्ति’ को सम्भावना प्रबल रहेको बताए ।

पुराना दलले नजित्ने उनको भविष्यवाणी छ । रवि लामिछानेको सन्दर्भमा उनले अबका दिनमा अहिलेको भन्दा कडा आरोपको सामना गर्नुपर्ने बताए । यद्यपि, लामिछाने भविष्यमा प्रधानमन्त्री बन्ने योग रहेको उनको भनाइ छ । सन्दीप लामिछानेको मुद्दाबारे सोध्दा उनले सफाइ पाउन गाह्रो अवस्था रहेको दाबी गरे । प्रचण्ड नेतृत्वको सरकार अब ७ महिना भन्दा नटिक्ने पनि उनको आँकलन छ ।

राजतन्त्रकै विषयमा भने उनी खुलेर बोल्न डराए । तर अब अझै पनि भदौ असोजसम्म आशा रहेको उनको भनाइ छ । ‘असोजसम्ममा पनि केही भएन भने त्यसपछि त गाह्रो छ’, उनले भने ।

 

 


प्रतिक्रिया

3 thoughts on “राजतन्त्र फर्किने भविष्यवाणी फ्लप खाएपछि ज्योतिषी अर्जुन क्षेत्री भन्छन्- म भगवान हो र सबै मिलाउन ? (भिडिओ)

  1. राजा आए त?! चाहे कतार कै किन नहुन। राजा त मिल्यो नि, ज्योतिषि बाजे ले नेपालको राजा भन्याथ्यो र?😆😆😆

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर