फरक मत राख्दै आएका झलनाथ महाधिवेशनमा साझा दस्तावेज ल्याउन माधवसँग होलान् सहमत ? – Nepal Press

फरक मत राख्दै आएका झलनाथ महाधिवेशनमा साझा दस्तावेज ल्याउन माधवसँग होलान् सहमत ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा साझा दस्तावेज ल्याउनेगरी छलफल थालेको छ । तयारी नपुगेको भन्दै असार दोस्रो साताका महाधिवेशन सारेर दस्तावेजबारे छलफल थालेको हो ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने नेकपा एसको तयारी छ । दस्तावेज लेख्नको लागि पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग सुझाव समेत मागेको छ । पार्टीभित्र सबैको सुझाव समेटेर साझा दस्तावेज ल्याउनेबारे छलफल भइरहेको अध्यक्ष माधव नेपालले बताए ।

युवा संघको कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि विद्रोह गरेर नेकपा एकीकृत समाजवादी निर्माण गरेका छौं । त्यो पार्टीले १० औं महाधिवेशन गर्दैछौं । ९ औं महाधिवेशनसम्म हामी सँगै थियौं त्यही पार्टीको निरन्तरताको लागि हामीले १० औं महाविधेशन गर्न गइरहेका छौं। त्यसका लागि सर्वसहमतिबाट पार्टीको दस्तावेज तयार गर्ने सोचिरहेको छौं। छलफल चलिरहेको छ ।’

राजनीतिक प्रतिवेदन, संगठनात्मक सिद्धान्त र विधान चारवटा दस्तावेज ल्याउने तयारी भइरहेको बताए ।

उनले पार्टीका सम्मानित नेता झलनात खनाललाई लक्षित गर्दै भने, ‘कसैले सिद्धान्तलाई व्यवहारमा लागू गर्न होइन। आफूलाई सन्तुष्टि गर्ने विषयमा बुझेका छन् । अहिलेको राजनीतिक व्यवहारमा कुन चित आवश्यक छ बुझ्नु छैन मनोगत परिकल्पनाको आधारमा चल्ने गर्दैछन् त्यसरी हुँदैन ।’

अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच पार्टी स्थापनादेखि नै मतभेद छ । सत्ता गठबन्धनदेखि पार्टीको नीतिगत विषयमा पनि दुई नेताबीच रस्साकस्सी चल्दै आइरहेको छ ।

अध्यक्ष नेपाल एमाले नेतृत्वको सत्ता समीकरण असहज भएको भन्दै कांग्रेससँग सहकार्य गरेर जानुपर्ने पक्षमा देखिएका छन् । नेता खनाले कांग्रेसलाई वर्गशत्रु घोषणा गरेर जानुपर्ने अडान राख्छन् । तर, नेता नेपाल कांग्रेसलाई शत्रु घोषणा गरेर जाने कदम पार्टीको लागि हानिकारक हुने तर्क गर्छन् ।

त्यसबारे अध्यक्ष नेपालले भने, ‘कसैले कांग्रेसलाई शत्रु बनाउनुपर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन्। त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो । त्यसमा सहमत हुन सकिँदैन ।’

अध्यक्ष नेपाल र खनालबीच एमालेकै जस्तो जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने पक्षमा छन् । तर, खनालको फरक मत छ । त्यसमा महासचिव घनश्याम भुसालको पनि समर्थन छ ।

अध्यक्ष नेपाल अहिले पनि जबजलाई छाड्न नसक्ने अडानमा छन्। त्यही प्रस्ताव महाधिवेशनमा अध्यक्ष नेपालले ल्याएर थप छलफल हुने नेता खनालले बताए ।

उनले बुधबार नेपाल प्रेससँगको कुराकानीको क्रममा भनेका थिए, ‘जबज भनेको हिजो जनवादी क्रान्तिको कुरा हो । अहिले हामी समाजवादी क्रान्तिको अवस्थामा आइपुगिसकेका छौं । अब जबजमा भनेको इतिहासको भइसक्यो । हामीले समाजवादी कार्यक्रम लिएर अगाडि बढ्नुपर्छ, त्यसको कुनै विकल्प छैन ।’

त्यसो त आगामी महाधिवेशनबाट अध्यक्ष नेपाल आफैं नेतृत्वमा दोहोरिने दाउमा छन्। तर, नेता खनाले सुुरुवाती चरणदेखि नै पार्टीका ठूला नीतिगत निर्णयमा फरक मत राख्दै नेतृत्वको दाबी गर्ने रणनीतिमा छन् ।

‘पार्टी आफ्नै ढंगले अगाडि बढ्दैछ । यो पार्टीलाई अझै क्रान्तिकारी विचार, नीति र सिद्धान्त आधारमा समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा मेरो दृढ प्रतिबद्धता हो । पार्टीले त्यही प्रतिबद्धता पास गर्यो भने मैले जे जिम्मेवारी लिनुपर्छ म तयार नै छु’ नेतृत्व दाबी गर्नेबारे उनको छ ।

याे पनि पढ्नुस्: झलनाथको रोडम्याप- फरक मत बोकेर माधव नेपालमाथि हावी, महाधिवेशनमा अध्यक्षको दाबी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर