जसपा फुट : प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिको हकमा के हुन्छ निर्णय ? – Nepal Press

जसपा फुट : प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिको हकमा के हुन्छ निर्णय ?

काठमाडौं । अशोक राईले नयाँ दल दर्ता गरेसँगै जसपा नेपालबाट निर्वाचित प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिको हकमा के हुन्छ भन्ने आम चासो छ । यद्यपि निर्वाचन आयोगले जसपा नेपालका वरिष्ठ नेता अशोककुमार राई नेतृत्वको जसपा दल दर्ता निर्णयसँगै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको हकमा पनि के गर्ने भन्ने निर्णय गरेको छ ।

आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव रामदत्त पाण्डेका अनुसार जसपाबाट निर्वाचित प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा स्वयम उपस्थित भएर निवेदन दिनुपर्ने छ ।

निर्णयबारे जानकारी गराउँदै सहायक प्रवक्ता पाण्डेले नेपाल प्रेससँग भने, ‘नयाँ गठन भएको जनता समाजवादी पार्टीमा सो दल गठन हुनुभन्दा तत्कालअघिको जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारीसमक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयम उपस्थित भई सनाखत गराउन आयोगको सचिवालयले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्ने र सोही बमोजिम गर्न गराउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले निर्देशन दिने निर्णय भएको छ ।’

आयोगका अनुसार जसपाबाट संघीय संसदमा १५ जना सांसद निर्वाचित छन् । जसमा प्रतिनिधिसभामा १२ जना र राष्ट्रियसभामा तीनजना छन् । उनीहरूमध्ये सातजना सांसद विभाजनको पक्षमा उभिएका छन् । सनाखत गर्ने सांसदमा अशोककुमार राई, नवलकिशोर साह, रञ्जु झा, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव छन् ।

प्रदेशसभामा जसपा नेपालका २० जना निर्वाचित छन् । यस्तै स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर