नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’ – Nepal Press
सट्टेबाजी सिरिज–२

नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’

बालबालिका र किशोरीलाई विज्ञापनको माध्यम बनाइँदै

काठमाडौं । वान् एक्स बेटको खुलेआम प्रोमोसनको समाचार नेपाल प्रेसमा प्रकाशित भएसँगै यसले बनाएको ‘अवैध बेटिङ’को जालो सरकारलाई चुनौति दिने खालेको रहेको पाइएको छ ।

‘जलान’ र ‘दी कार्टुन्ज क्रू’ले खुलेआम यसको प्रोमोसन गरेको विषयको उठान भएसँगै नेपाल प्रेसलाई त्यस्ता धेरै प्रोमोटरहरू रहेको र उनीहरूले विभिन्न माध्यमहरूबाट यसको प्रोमोसन गरिरहेको सूचना प्राप्त भएको छ ।

साइप्रस बेस्ड कम्पनी ‘वान् एक्स बेट’ले नेपालको बेरोजगारीको फाइदा उठाउँदै युट्युब/टिकटकमा रमाउने उमेर समूहलाई लक्षित गरेर यसको अवैधानिक प्रचार गरेको तथ्य बाहिर आएको छ ।

‘जलान’ र ‘दी कार्टुन्ज क्रू’मात्रै नभएर युट्युबरहरू ‘मिङ सेरप’, ‘राइजिङ स्टार नेपाल’ र गणेश जिडी तथा टिकटकरहरू ‘बिनय’, ‘प्रशन्न’, ‘प्रकाश राई’ र ‘सृष्टि श्रेष्ठ’ लगायतको माध्यमबाट खुलेआम सट्टेबाजीको विज्ञापन भइरहेको छ ।

यो भिडियो हेर्नुहोस्… (राइजिङ स्टार  नेपाल)

नेपालको कानुनु विपरीत हुँदा हुँदै पनि नेपाललाई नै प्रमुख बजारको रूपमा विकास गर्न खोज्नुका पछाडि नेपालमा रहेको युवा बेरोजगारी प्रमुख कारण रहेको वान् एक्स बेट निकट स्रोतले जानकारी दिएको छ ।

यो भिडियो हेर्नुहोस्… (मिङ सेराप)

“वान् एक्स बेटले युट्युबमार्फत् विज्ञापन गर्दा पनि धेरै उमेर भएकाले हेर्ने च्यानलहरूमा गर्दैन, युवा लक्षितमा मात्रै गर्छ,” स्रोतले नेपाल प्रेससँग भन्यो, “जलान, कार्टुन क्रू, मिङ सेराप जस्ता च्यानलमार्फत् विज्ञापन गर्दा युवाले हेर्छन्, र त्यसतर्फ आकर्षित हुन्छन् ।”

नेपालमा इन्टरनेट र सामाजिक सञ्जालमा उर्लँदो युवा पुस्ताको जमात बेरोजगारीको नतिजा हो भन्ने वान् एक्स बेटले बुझेर त्यसैलाई आफ्नो लक्षित वर्ग बनाइरहेको कुरा विज्ञापनका लागि चुनेका कन्टेन्ट क्रिएटरबाट पनि थाहा हुन्छ ।

यो भिडियो हेर्नुहोस्… (गणेश जिडी)

“नेपालमा धेरै युवा बेरोजगार छन् । र, ती बेरोजगार युवाले धेरै समय युट्युब/टिकटकमा बिताउँछन् भन्ने बुझेर नै वान् एक्स बेटले त्यस्ता कन्टेन्ट क्रिएटरलाई विज्ञापनको माध्यम बनाएको हो,” यसमा संलग्न व्यक्तिले प्रेससँग भने “बेरोजगार युवाले घरमै बसेर पैसा कमाउने ‘अप्सन’ पाइरहेको छ भने पक्कै क्लिक गर्छ भन्ने मनोसाय राखेर नै वान् एक्स बेटले विज्ञापन गरिरहेको छ ।”

हुन पनि ‘काटुन्ज क्रू’का सरोज अधिकारी, गणेश जिडी, राइजिङ स्टार्समार्फत् गरिएको विज्ञापनको कन्टेन्टको सुरुमा नै ‘लकडाउन’को समयमा घरमा बसी-बसी पैसा कमाउन चाहनुहुन्छ भने’ भनेर सुरु गरिएको छ ।

यसले कोरोना भाइरसको कारणले सिर्जित देशव्यापी लकडाउन र त्यसैको नतिजा स्वरूप बढेको बेरोजगारीको फाइदा उठाएर बेरोजगारीले छटपटाइरहेका युवाहरूको भावनालाई प्रयोग गरेर गैर कानुनी कार्यतर्फ अग्रसर गर्न खोजिएको स्पष्ट हुन्छ ।

नेपालमा रकम ट्रान्सफर गर्न डिजिटल बालेट र एनआईसी एसिया बैङ्कको प्रयोग

यसरी गैर कानुनी कार्य गर्नका लागि माध्यम भने नेपाली नै हुने गरेका छन् । “वान् एक्स बेट नेपाल भित्रिएको २०१८ को लगभग अन्त्य तिर हो । त्यसअघि वान् एक्स बेटको वेबसाइटमा नेपालबाट पेमेन्टका लागि कुनै विकल्प थिएन,” स्रोतले भन्यो,“आज हेर्ने हो भने, त्यहाँ, ई-सेवा, खल्ती र एनआईसी एसिया बैङ्क सम्मको प्रयोग गरेर ट्रान्ज्याक्सन भइरहेको देखिन्छ । त्यसले स्पष्ट रूपमा नेपालमा पनि यसको सक्रिय सञ्जाल छ र त्यसले निर्वाध रूपमा काम गरिरहेको छ भन्ने प्रष्ट पारेको छ ।”

यसरी यो वेब साइटको प्रोमोसन गरे बापत युट्युबरहरू/टिकटकरहरूको ‘डिल’ इमेल मार्फत हुने गरेको छ । “यस्तो किसिमको विज्ञापनको लागि कुनै पनि किसिमको वार्तालाप हुँदैन, हुन्छ त केबल ईमेल । वान् एक्स बेटले यस्तै प्रोमोटर छान्छ जसले नाईँ भन्ने सम्भावना एकदमै कम हुन्छ, र जो युवाले खास रुचाएको सामाजिक सञ्जालको सेलिब्रेटी हो ।”

बालबालिका र किशोरी प्रयोग

युट्युबबाट बिस्तारै टिकटकलाई पनि विज्ञापनको माध्यम बनाइरहेको वान् एक्स बेटको प्रोमोसनमा बालबालिकालाई समेत सामेल गराइएको पाइएको छ । टिकटकमा बिनय-एक्सएलएस युजरनेम भएका एक बालकले नै ‘फुटबल हेरेर नै वान् एक्स बेटबाट पैसा कमाइरहेको’ बताउँदै उनले ‘वान् एक्स बेट भनेको संसारकै सबैभन्दा ठूलो कम्पनी हो’ सम्म भनेका छन् ।

बालकको प्रयोग गरेर बनाइएको यो भिडियो हेर्नुहोस् …

उनले अगाडि भनेका छन्, “यसमा तपाईहरूले स्पोर्ट्स र गेममा बेट गरेर मिलाउनु भयो भने रियल ‘मनी’ जित्नु सक्नुहुन्छ । र मेरो प्रोमोकोड ‘युज’ गरेर डिपोजिट गर्नुभयो भने फस्र्ट डिपोजिटमा सत प्रतिशत बोनस पाउन सक्नुहुनेछ ।”

किशोरीले बनाएको यो प्रोमो भिडियो पनि हेर्नुहोस्…

त्यस्तै प्रकाशराई२१० नाम भएको अकाउन्टबाट त खुलेआम ‘अफिलेटर’का लागि भ्याकेन्सी नै खुलाइएको छ । त्यस्तै टिकटकमा झण्डै दुई लाख फलोअर भएकी किशोरीले पनि ‘लकडाउनमा वान् एक्स बेटमा बेट गरेर पैसा कमाई रहको’ कबुल गर्दै अरूलाई पनि त्यसपर्छ सुझाएकी छिन् । र त्यहाँ आएका प्रतिक्रिर्या हेर्न हो भने त्यस्तै विज्ञापनको प्रभावकारिता स्पष्ट देखिन्छ । त्यहाँ आएका प्रतिक्रिया यस्ता छन् ।

यो समाचार लेख्दासम्म १ लाख ९ हजार ९ सय पटक हेरिएको त्यो वान् एक्स बेटको प्रोमोसनल टिकटकमा आएका १४७ मध्ये धेरैजसो यसबारे थप जानकारीका लागि उत्साहित देखिन्छन् । यसले यसको प्रभावकारिता र बेटिङ नेटवर्कको जालो वान् एक्स बेटले कसरी बुनिरहेको छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

सट्टेबाजी सिरिज–१: युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

सट्टेबाजी सिरिज–३: वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

सट्टेबाजी सिरिज–४: वान् एक्स बेटको सट्टेबाजीमा कुन बैङ्क र डिजिटल वालेटको साथ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर