युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन – Nepal Press
सट्टेबाजी सिरिज–१

युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

जलान र दी कार्टुन्ज क्रू जुवा प्रबन्धक, करोडौं रूपैयाँ अवैध रूपमा विदेशिदैँ

काठमाडौं । नेपालमा सट्टेबाजी (बेटिङ) पूर्णरूपमा प्रतिबन्धित छ । यति मात्रै होइन, सट्टेबाजी सम्बन्धी कुनै पनि गतिविधि, प्रोमोसन गर्न पनि पाइँदैन । तर नेपालका केही नाम चलेका युट्युबरहरूले यसको बेवास्ता गर्दै खुलेआम प्रवर्द्धन गरिरहेका छन् ।

नेपालमा रुचाइएका युट्युबरहरू ‘जलान घर्ती मगर’ र ‘दी कार्टुन्ज क्रू’ का ‘सराेज अधिकारी’ले अहिले खुलेआम अनलाइन बेटिङ कम्पनी ‘वान् एक्स बेट’को विज्ञापन गरिरहेका छन् ।

कसरी हुन्छ बेटिङ प्रोमोसन ?

“हाम्रो भिडिओको स्पोन्सर हो वान् एक्स बेट । वान् एक्स बेट चाहिँ एउटा एकदमै ‘ट्रस्टेड’ बेटिङ कम्पनी हो,” जलानले आफ्नो भिडियो सुरु गर्नु अगाडि भन्ने गर्छन्, “ट्रस्टेड किन हो भन्दा चाहिँ यो लालिगा, सिरी ए, एफसी बार्सिलोना जस्ता ठूला क्लब र लिगहरूसँग हाम्रो पार्टनर रहेको छ । ‘नो रिस्क बेट’मा गएर हजुरहरूले बेट लगाउनुभयो भने र बेट लगाएको टीमले हार्‍यो भने पनि पैसा रिफन्ड हुन्छ । त्यही भएर पैसा हार्ने कुनै चान्स नै छैन । ‘म्याक्सिमम्’ रिफन्ड चाहीँ एक हजार दुई सयको मात्रै हुन्छ । बेटिङका लागि रजिस्टर गर्नुपर्छ । रजिस्टर गर्नका लागि प्रोमोकोडहरू हुन्छन् । यो प्रोमोकोड राखेर रजिस्टर गर्नुहोला । यो प्रोमोकोड राखेर रजिस्टर गर्नुभयो भने पहिलो डिपोजिटमा बोनस पैसा पनि पाउनुहुनेछ । प्रोमोकोड र लिङ्क तल डिस्क्रिप्सनमा छ ।”

यो हेर्नुहोस् …

त्यस्तै, दी कार्टुन्ज क्रूका सरोज अधिकारीले पनि ‘घरैमा बसेर पैसा कमाउने उपाय’को रूपमा यो गैरकानूनी कार्य (बेटिङ) गर्न सुझाएका छन् । यसले नेपालको कानूनले पूर्ण रूपमा निषेध गरेको अनलाइन बेटिङ कार्य निर्वाध चलिरहेको संकेत गर्छ ।

यो भिडियो हेर्नुहाेस्…

जलन र कार्टुन्ज क्रूका सरोज अधिकारीले युवा पुस्तामा युट्युबरका रुपमा ‘सेलिब्रिटी’को छवि बनाएका छन् । उनीहरूनै यस्ता गैरकानुनी कामको ‘प्रोमोसन’मा लाग्दा सट्टेबाजीको कुलतमा लाग्ने युवा पुस्ताको जमात बढ्ने निश्चित छ ।

करोडौं रकम विदेशिँदै, के भन्छ कानुन ?

सट्टेबाजी एक प्रकारको जुवानै हो । सरकारले अनुमति प्राप्त क्यासिनोमा विदेशीलाई मात्र जुवा खेल्न दिन्छ । तर इन्टरनेटको दुरुपयोग गरेर हजारौं युवालाई जुवाडेमात्र बनाइदै छैन, अवैध रूपमा करोडौं नेपाली रूपैयाँ विदेशिएको छ। यो गैरकानुनी धन्दाको माध्यम जलन र कार्टुन्ज क्रू खुलेआम बन्दा सरकार बेखबर छ ।

जसरी एकपछि अर्को गर्दै युट्युब च्यानलमा बढिरहेको ‘वान् एक्स बेट’ कम्पनीको विज्ञापनले नेपालमा बजार बढिरहेको अनुमान लगाउन सकिन्छ ।

कानुनमा निषेधित कुनै पनि कार्य तथा गतिविधिको विज्ञापन गर्न नपाइने साइबर इन्टरनेट अधिकारको क्षेत्रमा क्रियाशील अधिवक्ता बाबुराम अर्याल बताउँछन् ।

“यदि संविधानले कुनै पनि कुरामाथि प्रतिबन्ध गरेको छ भने त्यसबारे विज्ञापन गर्न पाइँदैन,” अधिवक्ता अर्यालले नेपाल प्रेससँग भने, “यदि कुनै भारतीय कम्पनी हो र त्यसको लक्षित बजार नेपाल हो भने पनि त्यसको विज्ञापन गर्नका लागि सरकारसँग स्वीकृति लिनुपर्छ । विज्ञापन बोर्डमार्फत् प्रक्रिया पुर्‍याएर मात्रै विज्ञापन गर्न पाइन्छ, बेटिङको त पाइने कुरै भएन ।”

त्यसमाथि गतवर्ष मात्रै जारी भएको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ले त झनै के गर्ने–के नगर्ने भन्ने स्पष्ट पारिदिएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६को परिच्छेद–१ को ५ नम्बर बुँदाको एक नम्बमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयमा विज्ञापन गर्न पाइने छैन’ भनेर उल्लेख गरेको छ ।

ऐनमा ‘प्रचलित नेपाल कानुनले उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न निषेध गरेका कुनै वस्तु, पद्धार्थ वा सेवाको उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने विषयमा’ विज्ञापन गर्न नपाइने उल्लेख गरेको छ ।

सरकारलाई थाहै छैन

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यस्ता गैरकाकानुनी कार्यको बारेमा जानकारी नै छैन । सूचना प्रविधि विभागका प्रवक्ता लोकराज शर्मा यसमसा सरकारको ध्यान नपुगेको स्वीकार गर्छन् ।

“अनलाइन बेटिङ भनेको टेक्नोलोजीको देन हो । र, टेक्नोलोजीको क्षेत्रमा एकदमै छिटो नयाँ–नयाँ कुराहरू आइरहन्छन्,” प्रवक्ता शर्माले भने, “आइटी रेगुलेसनका लागि कानून पूराना पनि छन् । त्यसैले गर्दा पनि निमयन गर्न गाह्रो भएको हुनसक्छ ।

शर्माका अनुसार कतिपय कुराहरू भइरहेका हुन्छन् तर सरकारलाई थाहा हुँदैन । यदि सरोकारवालाले पनि सरकारलाई जानकारी दिने हो भने ग्याम्ब्लिङ र बेटिङ जस्ता कुरालाई पनि नियमन गर्न सहज हुने उनी बताउँछन् ।

यस्तो गैरकानुनी विज्ञापनको विषयमा प्रतिक्रिया लिन ‘दी कार्टुन्ज क्रू’ का सरोज अधिकारीलाई पटक-पटक फोन र एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

के फाइदा हुन्छ प्रोमोटरलाई ?

यसरी विज्ञापन गर्दा प्रोमोटरले के पाउँछन् भन्ने विषयमा नेपाल प्रेसले गरेको खोजबाट प्रोमोटरलाई उल्लेख्य फाइदा हुने खुलेको छ । स्रोतका अनुसार बेटिङको कारोबार गर्नका लागि तीन हिसाब आवद्ध हुनुपर्छ ।

“वान् एक्स बेटिङमा बेटिङ कारोबार गर्न प्रयोगकर्ता, एजेन्ट र एफिलेटेड एकाउन्ट होल्डर भएर तीन वटा तरिका छन्,” स्रोतले भन्यो, “प्रयोगकर्ता जो, बेट गरेर पैसा कमाउन चाहन्छन्, उनीहरूले विभिन्न खेलहरूमा बाजी लगाएर पैसा जित्न वा हार्न सक्छन् । दोस्रो एजेन्ट, जसले प्रयोगकर्ताहरूलाई बेटिङका लागि आवश्यक पर्ने पैसा वान् एक्स बेटको अकाउन्टमा डिपोजिट गर्न माध्यम बनेर काम गर्छन् र निश्चित रकम पाउँछन् । तेस्रो हो अफिलेटेड अकाउन्ट, यसमा जलान र कार्टुन्ज क्रू जस्ता प्रोमोटरहरू पर्छन् । जसले तपाईँलाई प्रोमो कोड दिन्छन् ।”

स्रोतका अनुसार उनीहरूको प्रोमोकोड राखेर प्रयोगकर्ताले रजिस्टर गरे भने उनीहरूलाई त्यो कार्यमा सरिक भइन्जेल कमिसन आइरहन्छ । “यदि जलानको प्रोमोकोड राखेर रजिस्टर गरेको प्रयोगकर्ताले पैसा हार्‍यो भने त्यसको २७ प्रतिशत जलानलाई नै फाइदा हुन्छ,” स्रोतले भन्यो, “यो इन्स्योरेन्स कम्पनीका एजेन्टले ‘क्लाइन्ट’ बनाए जस्तै हो ।”

यसबाट यी युट्युबरहरू वान् एक्स बेटले प्रायोजनमार्फत् दिने पैसा र प्रोमोकोडबाट आएको केही प्रतिशत कमिसनका लागि कानूनको प्रवाह नगरी बेटिङको प्रोमोसनमा लागेको देखिन्छ ।

सट्टेबाजी सिरिज–२: नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’


प्रतिक्रिया

2 thoughts on “युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर