अदालतका तहसिलदार र सेवाग्राही महिलाबीचको लफडा, थुनाबाट छुटेपछि बलात्कारको मुद्दा दर्ता – Nepal Press

अदालतका तहसिलदार र सेवाग्राही महिलाबीचको लफडा, थुनाबाट छुटेपछि बलात्कारको मुद्दा दर्ता

दाङ। दाङ जिल्ला अदालतका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

प्रहरीका अनुसार पीडित महिलाले अदालतकै सरकारी क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसप तथा प्रवक्ता जनकबहादुर मल्लले पाण्डेविरुद्ध मुद्दा दर्ता भइसकेको पुष्टि गरे । उनले घटनाका आरोपी पाण्डेलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको बताए ।

साथै प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको पनि जनाएको छ । घोराही उपमहानगरपालिका- १७ की २८ वर्षीया ती महिलाले आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि प्रहरी घटना अनुसन्धानमा जुटेको छ । आरोपी तहसिलदार पाण्डेको दाङ जिल्ला अदालतबाट सरुवा भइसकेको छ ।

यसअघि उजुरी दिने ती महिला अदालतकै कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाएकोमा अदालतले तोके बमोजिमको धरौटी रकम तिर्न नसकेपछि केही दिन जेल चलान भएकी थिइन्।

अदालतका कर्मचारीले प्रहरीमा दिएको किटानी जाहेरीमा आफूसँग महिलाले अनुचित लाभ लिन खोजेको कुरा उल्लेख थियो।

सम्बन्ध विच्छेदपछि अंश मुद्दाका लागि अदालत पुगेकी ती महिलाले अदालतका तहसिलदारले आफूलाई अदालतभित्रै कोठामा जबरजस्ती बलात्कार गरेको आरोप लगाएको कर्मचारीको भनाई छ ।

तहसिलदारसँग २५ हजार रुपैयाँ माग गर्दै नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिएकी थिइन्। त्यसपछि आफू बाध्य भएर प्रहरीमा जानु परेको तहसिलदारले बताएका थिए।

प्रहरीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले सोही ब्यहोरासहितको ती महिलाविरुद्ध मुद्दा चलाएको थियो। चैत ७ गते जिल्ला अदालतमा न्यायाधीश लोकबहादुर हमालको इजलासमा भएको सुनुवाइमा ती महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

धरौटी बुझाउन नसकेपछि महिला कारागार चलान भएकी थिइन्। धरौटी तिरेर छुटेपछि महीलाले पाण्डे विरुद्ध जबरजस्ती करणीको जाहेरी लिएर प्रहरीमा पुगेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *