अनुभवी ओपनर आसिफबाट आशा – Nepal Press
जो नेपालबाट टी-२० विश्वकपमा खेल्दैछन्:३

अनुभवी ओपनर आसिफबाट आशा

काठमाडौं। नेपाली राष्ट्रिय टोलीमा केही समयदेखि ओपनरको भूमिकामा जमिरहेका ब्याट्सम्यान हुन्, आसिफ शेख । यद्यपि, उनको प्रदर्शनमा बारम्बार उतारचढाव आइरहन्छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका लागि घोषणा गरेको १५ सदस्यीय राष्ट्रिय टोलीमा आसिफ अटाउनेमा कुनै शंका थिएन । आसिफका सहोदर दाजु आरिफ शेख भने अटाउन सकेनन् ।

राष्ट्रिय टोली घोषणा भएको दिन नेपालले वेस्ट इन्डिज ‘ए’सँग खेलेको खेलमा आरिफ पनि टोलीमा थिए । सायद यस खेलमा राम्रो प्रदर्शन गर्न सकेको भए उनले छनोटकर्ताको विश्वास जित्न सक्थे । दुर्भाग्य, मध्य क्रमका यी अनुभवी ब्याटिङ अलराउन्डर ३ रनमै आउट भए ।

आरिफले हालसम्म ३८ टी-२० अन्तर्राष्ट्रिय खेल्दै १०९.०७ को स्ट्राइक रेटमा ४९३ रन जोडेका छन्। उनले एक पटक पनि अर्धशतक बनाएका छैनन् । तर, बलिङमा ४ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो विर्सनलायक प्रदर्शन हो । आरिफले ५१ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ६ अर्धशतकसहित ९६४ रन बनाएका छन् । स्ट्राइक रेट ६२.४३ छ ।

आसिफको कहानी भने बेग्लै छ । तीन वर्षअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले पछाडि फर्केर हेर्नुपरेको छैन । नेपालको ओपनिङ ब्याटिङमा आसिफ र कुशल भुर्तेलको जोडी लगातार जमिरहेको छ । सन् २०२१ को अप्रिलमा यी दुईले नेदरल्यान्ड्सविरुद्ध खेल्दै डेब्यु गरेका थिए । नेपालले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न मलेसियालाई पनि नेपाल बोलाएको थियो ।

कुशल र आसिफले पहिलो खेलमै अर्धशतक बनाएर डेब्युलाई स्मरणीय बनाएका थिए । त्यसयता आसिफले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेल खेल्दै एक हजार २३ रन जोडेका छन् । उनले ५ अर्धशतक बनाएका छन् भने स्ट्राइक रेट ११८.६७ छ । हालै वेस्ट इन्डिज ‘ए’विरुद्ध भएको अन्तिम खेलमा उनले ५१ रनको पाली खेलेका थिए । सोही टोलीविरुद्ध खेलेको पहिलो खेलमा उनले खाता खोल्न सकेका थिएनन् ।

त्यसअघि नेपाल सहभागी एसीसी प्रिमियर कपका अन्तिम तीन खेलमा आसिफको प्रदर्शन विर्सनालयक रहेको थियो । उनले लिग चरणको अन्तिम खेलमा साउदी अरबविरुद्ध २ रन बनाएका थिए भने सेमिफाइनलमा यूएईविरुद्ध ८ रन जोडेर आउट भएका थिए ।

तेस्रो स्थानका लागि भएको खेलमा हङकङका बलरले उनलाई ५ रनमा आउट गरेका थिए । तर, खराब प्रदर्शन हुँदा पनि छनोटकर्ताले उनीमाथि विश्वास गुमाएनन् । भनिन्छ- फर्म इज ट्याम्पोररी, क्लास इज पर्मानेन्ट अर्थात् लय अस्थायी हो, तर क्लास स्थायी ।

दायाँ हाते यी ब्याटरको क्षमतामाथि कुनै शंका छैन । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ४९ खेल खेल्दै एक शतक र १२ अर्धशतकसहित एक हजार ४०१ रन बनाएका छन् । स्ट्राइक रेट ७६.९७ रहेको छ । गत वर्ष भएको एसिया कपमा उनले भारतविरुद्ध अर्धशतकीय पाली खेलेका थिए । त्यस खेलमा उनले ५८ रन जोडेका थिए ।

उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान, स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, पीएनजी, नामिबिया जस्ता टोलीहरुविरुद्ध अर्धशतक बनाएका छन् । यस्तै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्स, यूएई जस्ता टोलीविरुद्ध अर्धशतक बनाएका छन् । उनी तीन पटक शून्यमा आउट भएका छन् । तर, २ वर्षयता उनले यसरी आउट हुनु परेको छैन । आसिफले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ छक्का र ९९ चौका प्रहार गरेका छन् ।

आसिफ ओपनरका रूपमा एंकर रोलमा हुन्छन् । कुशलसित उनको ट्युनिङ निकै राम्रो मिल्ने गरेको छ । उनीहरूको पार्टनरशिप टिक्यो भने नेपाललाई निकै सजिलो हुन्छ । आसिफको अतिरिक्त जिम्मेवारी भनेको विकेट किपरको हो । विकेट किपिङ उनको सफा नै छ । दोहोरो भूमिका भएका कारणले पनि उनलाई रिप्लेस गर्न सजिलो छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *