हारको रनाहामा धोनी : जब आरसीबीका खेलाडीसँग ह्यान्डसेक नगरी हिँडे – Nepal Press

हारको रनाहामा धोनी : जब आरसीबीका खेलाडीसँग ह्यान्डसेक नगरी हिँडे

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को हिजोको खेलमा आरसीबीले चेन्नइलाई हराउँदै प्लेअफमा स्थान पक्का गर्‍यो । यो नतिजा भारतीय लिजेन्ड क्रिकेटर महेन्द्रसिंह धोनीका फ्यानहरूका लागि हार्टब्रेक बराबर थियो ।

धेरैले यो आईपीएल धोनीको अन्तिम हुन सक्ने पनि अनुमान गरेका छन् । त्यसैले उनले आफ्नो टिमलाई उपाधि जिताएको हेर्न धोनीका फ्यानहरू लालायित थिए । तर, रोयल च्यालेन्जर्स बैंगलोरसँगको निर्णायक खेलमा चेन्नइ सुपरकिङ्स चुक्यो ।

धोनीसँग आफ्नो टिमलाई प्लेअफमा पुर्‍याउने मौका नभएको होइन । यसका लागि अन्तिम ओभरमा चेन्नइलाई चाहिएको थियो मात्र १७ रन र स्ट्राइकमा थिए धोनी । यो समीकरण आजकालको टी–२० क्रिकेटमा ब्याटिङ टीमका लागि धेरै कठिन मानिँदैन । धोनीले पहिलो बलमै छक्का हाने र समर्थकमा खुशी फैलियो । चेन्नइलाई अब ५ बलमा ११ रन चाहियो । तर, लगत्तैको बलमा धोनी आउट भए । यस दयालको बललाई अर्को छक्का हान्न खोज्दा उनी बाउन्ड्री नजिक क्याच भएका थिए । धोनीको विकेटसँगै चेन्नइको सम्भावना समाप्त भएको थियो ।

सामान्यतया जितमा धेरै उत्साह र हारमा धेरै निराशा नदेखाउने खेलाडी हुन् धोनी । तर, हिजोको हारपछि धोनीले आफ्नो स्वभावविपरीको व्यवहार देखाए । उनले विपक्षी टिम आरसीबीका खेलाडीहरूसँग ह्यान्डसेक समेत गरेनन् ।

खेल सकिएपछि दुवै टिमका खेलाडीहरू पङ्तिवद्ध भएर एक अर्कासँग हात मिलाउने प्रचलन छ । त्यसका लागि चेन्नइको टिम पङ्तिवद्ध भएर उभिएको पनि थियो । उनीहरू आरसीबीले सेलिब्रेसन सकेर आउने प्रतीक्षामा थिए । सबैभन्दा अगाडि थिए धोनी । एक छिन उभिएपछि उनलाई के मुड चल्यो, अरू खेलाडीलाई छोडेर सरासर पेभिलियनतिर हिँडिदिए ।

बाटोमा जाँदै गर्दा धोनीसँग आरसीबीका सपोर्ट स्टाफ र केही रिजर्भ खेलाडीले हात मिलाए । तर, धोनीको अनुहारमा मुस्कान थिएन । उनी रनाहामा देखिन्थे ।

त्यसको केहीबेरपछि आरसीबीका खेलाडी विराट कोहली धोनीसँग हात मिलाउन चेन्नइको ड्रेसिङ रुममा गएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर