झलनाथसँग अन्तर्वार्ता- आलोपालो प्रधानमन्त्री माधव नेपालको व्यक्तिगत माग होला, पार्टीको होइन – Nepal Press
नेपाल टक

झलनाथसँग अन्तर्वार्ता- आलोपालो प्रधानमन्त्री माधव नेपालको व्यक्तिगत माग होला, पार्टीको होइन

'कांग्रेस र एमाले मिल्ने सम्भावना देखेको छैन, याे समीकरणलाई तुरुन्तै ढाल्ने शक्ति नेपालमा छैन'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २१ गते कांग्रेस नेतृत्वको गठबन्धनको काँध फेर्दै एमालेसँग मिसिन आए । नयाँ समीकरणमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी छन् । नयाँ गठजोडसँगै प्रधानमन्त्री प्रचण्ड र ओलीको सम्बन्धमा केही सुधार आएको देखिन्छ । नेकपा एसका अध्यक्ष माधव नेपालले भने यो गठबन्धनप्रति आशंका व्यक्त गरिरहेका छन् । तर, उनले प्रचण्ड र ओली मिलेर अझै आफूलाई अपमान गरेको सार्वजनिक अभिव्यक्ति नै दिए । प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर ओलीसँग काँध मिलाएदेखि नै नेपाल सन्तुष्ट छैनन् ।

तर, प्रचण्डसँग बिग्रिएको सम्बन्ध सुधार गरेर ओलीले पुनः सहकार्यको थाल्दा एमालेबाट अगल भएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल भने अझै बिच्किरहेका छन् । प्रचण्डले आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेसँग सहकार्य अघि बढाउँदा गत निर्वाचनमा गठबन्धनको बलमा पनि राष्ट्रिय पार्टी बनाउन नसकेका नेपाल यही संसदको कार्यकालमा प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसका लागि ओलीसँगको गठबन्धन उनका लागि सहयोगी नबन्ने भएकाले पनि नेपाल बेचैन छन् ।

सम्मानित नेता खनाल, महासचिव घनश्याम भुसाल एमालेसँगको सहकार्यमा विश्वासको वातावरण बनाउँदै अघि बढ्नुपर्ने पक्षमा छन् । उनीमाथि कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन भूराजनीतिक दबाब पनि उत्तिकै छ । कांग्रेसले वैकल्पिक गठबन्धनमार्फत प्रधानमन्त्रीको ‘ललीपप’ देखाएपछि नेपालले नयाँ समीकरणमा थप शक्तिसाथ बार्गेनिङ कसिरहेका छन् । नयाँ समीकरणको भविष्य, माधव नेपालको असन्तुष्टिदेखि  पार्टीको आसन्न महाधिवेशनलाई केन्द्रित गरेर पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालसँग गरेको कुराकानीः

– हिजो इलामका चिया किसानको समस्या लिएर बालुवाटार पुग्नुभएको थियो, प्रधानमन्त्रीसँग के-के कुराकानी भयो ?

इलामको चिया भारतमा निर्यात हुन्छ । त्यहाँ समस्या भयो भन्दै इलामका चिया उद्यामीहरूको डेलिगेसन यहाँ आउनुभएको थियो । उहाँहरूले प्रधानमन्त्रीसँग कुराकानी गरिदिनुपर्‍यो भनेको हुनाले म प्रधानमन्त्रीलाई भेट्न उहाँहरूसँगै गएको थिए ।

मैले प्रधानमन्त्रीलाई तुरुन्त भारतसँग कुराकानी गरिदिनुपर्‍यो नत्र इलामको चिया रोकिदिने हो भने ठूलो समस्या खडा गर्छ, नेपालले अर्को विकल्प सोच्नुपर्ने स्थिति हुन्छ । भारतको व्यवहार पनि राम्रो भएन भने । त्यसपछि उहाँले लगत्तै प्रधानमन्त्रीले भारतमा कुराकानी गरिदिनुभयो । आज मैले सुनेँ, त्यहाँ रोकिएको चिया लैजान खुलाइदिएका छन् भन्ने ।

– यो समीकरणप्रति माधव नेपाल सन्तुष्ट देखिएका छैनन् । उहाँले गठबन्धन टिक्नेमै आशंका व्यक्त गरिराख्नुभएको छ । त्यो विषयमा केही छलफल भयो ?

हिजोको भेटमा त त्यो विषयमा केही छलफल भएन । तर, यो अहिलेको समीकरणलाई दह्रो ढंगले अगाडि बढाऔं । यसका नीति, सिद्धान्त, कार्यक्रमलाई साझा ढंगले अगाडि बढाएर जानुपर्छ भन्ने कुरा भएका छन् । केही विषयमा असन्तुष्टि सुनिएपनि यो समीकरणको विकल्प छैन । यो विभिन्न व्यक्तिहरूको आ-आफ्नो बुझाइको कुरा हो । अहिलेको समीकरणलाई तुरुन्तै ढाल्ने शक्ति नेपालमा छैन ।

– एमालेको कार्यक्रममा तपाईं जानुभयो तर, उहाँले बहिष्कार गर्नुभयो ?

यो आफ्नो व्यक्तिगत इच्छाको कुरा हो । जान मन लाग्ने जान्छ, मन नलाग्ने जाँदैन । यस्तो विषयलाई हेरेर कुनै निष्कर्ष निकाल्नु हुँदैन । कोही नभ्याएर नगएको हुनसक्छ, कोही आग्रह पूर्वाग्रहले नगएको हुनसक्छ । त्यसलाई ठूलो कुरा म चाहिँ ठान्दिनँ । त्यही कुराले समीकरणमा तलमाथि पनि हुँदैन ।

– उहाँले यो समीकरणमा (प्रचण्ड-ओली) सँग प्रचण्डपछि प्रधानमन्त्री बन्ने लिखित सहमति खोज्नुभएको छ । त्यो माग उहाँको संस्थागत हो कि उहाँको व्यक्तिगत हो ?

त्यो कुराकानी हिजोको गठबन्धनको बीचमा चाहिँ भएको थियो । त्यो कहिले पनि अहिलेसम्म हाम्रो पार्टीको बैठक र कमिटीभित्र प्रवेश भएन । हामीले त्यस्ताखालको कुनै पनि निर्णय गरेका थिएनौं । अहिले पनि उहाँहरूबीचमा खास कुनै समझदारी भएको हुनसक्छ, त्यो भन्दा बढी केही भएको छैन । तपाईंहरूले सुनेजस्तै यो विषय मैले पनि सुनेको हो । तर, कुनै आधिकारिकता भन्ने मलाई थाहा छैन ।किनकी यसबारे पार्टीमा छलफल पनि भएको छैन,व्यक्तिगत कुरा पार्टीको हुन्न ।

– प्रतिनिधिसभामा तपाईंहरूको पार्टीको १० सीट छ, त्यो अवस्थामा माधव नेपालले प्रधानमन्त्रीको दाबी गर्नु कतिको स्वाभाविक ठान्नुहुन्छ ?

अहिले त प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, उहाँ नै प्रधानमन्त्री भइरहेको बेलामा अरु कसैले पनि दाबी गर्ने कुरा मलाई लाग्छ अनुपयुक्त मात्र होइन अनावश्यक पनि हो ।

– समीकरण सुरू भएका दुई महिनामै एकपछि अर्को गर्दै आशांका बढ्नुलाई कसरी बुझ्नुहुन्छ ?

समीकरण भएका सबै नेताहरूले, सबैको हित, चाहना र हैसियतलाई बुझ्नपर्छ । एक-अर्कालाई सम्मान गरेर सबैको बीचमा एउटा समानतापूर्ण व्यवहार गर्न सक्नुपर्छ । ‘पावर सेयरिङ’ पनि त्यही ढंगले गर्न सक्नुपर्छ । त्यो भएन भने असन्तुष्टि र अविश्वास स्वाभाविक हुन्छ । त्यो भयो भने साझा आधारमा उभिएर लामै समयसम्म यो समीकरणलाई टिकाउन पनि सकिन्छ ।

– तपाईं वामपन्थी एकताको पक्षमा हुनुहुन्छ, अहिले सुरू भएको सहकार्य पार्टी एकतासम्म पुग्ने सम्भावना कतिको देख्नुहुन्छ ?

अहिले पार्टी एकताको कुनै सम्भावना छैन । खाली वामपन्थीहरू अहिले साझा सवालमा मिलेका छन्, यो राम्रो र महत्वपूर्ण कदम पनि हो । तर, वैचारिक, राजनीतिक, नीति र सिद्धान्तमा एकता नभइकन पार्टीहरूका बीचमा एकता हुँदैन । यदि भोलि पार्टीहरूका बीचमा नीति, सिद्धान्त र कार्यदिशा एकरुपता हुँदै गयो भने कुनै शक्तिले पार्टी एकता गर्नबाट रोक्न पनि सक्दैन ।

– भनेपछि यो सहकार्यले एमालेसँग फेरि मिल्ने आधार बन्दैछ ?

अहिले त्यो आधार बनेको छैन । अहिले वामपन्थी एकतामा उभिएर देशमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट देखा परेका छन्, त्यसलाई सम्बोधन गर्नको लागि मिल्नुपर्छ । त्यहाँ भन्दा बढी अहिले पार्टी नै एकता गर्छु भनेर आँट्न जरुरी छैन ।

– पछिल्लो समय गठबन्धनमा किचलो बढेको भन्दै कांग्रेस-एमाले मिलेर सरकार बनाउने गृहकार्य भइरहेको पनि चर्चा सुनिन्छ नि !

यदि कांग्रेस र एमाले मिलेर अगाडि जान चाहेको छ, त्यो ढंगबाट संवाद चल्दैछ भने म उहाँहरूलाई शुभकामना दिन चाहन्छु ।

– त्यो सम्भावना कतिको देख्नुहुन्छ ?

अहिले कांग्रेस र एमाले मिल्ने कुनै सम्भावना मैले चाहिँ देखेको छैन । यद्यपि, असम्भव पनि ठान्दिनँ।

– पार्टी महाधिवेशनको तयारीमा छ, तर मिति फेरि किन सारियो ?

अहिले आन्तरिक तयारी नपुगेकै कारणले सारिएको भनिएको छ । त्यही मानौं । अब असार १६ देखि २० गते काठमाडौंमा १० औं महाधिवेशन गर्ने भनेका छौं, त्यो मितिमा पनि सम्पन्न भएन भने आन्तरिक तयारी नपुगे होइन पार्टीभित्र कुरा नमिलेर सारिएको भन्ने पुष्टि हुन्छ ।

– अध्यक्ष नेपालले आफैं दोहोरिने आन्तरिक तयार गरेको देखिन्छ तपाईँ पनि दाबी गर्नुहुन्छ ?

स्वाभाविक रूपमा अहिले पार्टी आफ्नै ढंगले अगाडि बढ्दैछ । यो पार्टीलाई अझै क्रान्तिकारी विचार, नीति र सिद्धान्त आधारमा समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा मेरो दृढ प्रतिबद्धता हो । पार्टीले त्यही प्रतिबद्धता पास गर्‍यो भने मैले जे जिम्मेवारी लिनुपर्छ म तयार नै छु ।

– त्यसो त पार्टी अध्यक्ष जबजको पक्षमा हुनुहुन्छ । त्यो विषयमा पनि मतभेद देखिन्छ । महाधिवेशनबाट पार्टीले कुन लाइन लिन्छ ?

त्यो मतभेदभन्दा पनि जनताको बहुदलीय जनवाद (जबज) भनेको हिजो जनवादी क्रान्तिको कुरा हो । अहिले हामी समाजवादी क्रान्तिको अवस्थामा आइपुगिसकेका छौं । अब जबजमा भनेको इतिहासको भइसक्यो ।

हामीले समाजवादी कार्यक्रम लिएर अगाडि बढ्नुपर्छ, त्यसको कुनै विकल्प छैन । मतभेदको प्रश्न आउँदैन । उहाँले यो विषयमा कहिले कहिले कहाँ कहाँ के-के टिप्पणी गर्नुभयो । त्यो कुरा महाधिवेशनमा पनि ल्याउनुभयो भने त्यहाँ छलफल र बहस होला नि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर