सुन्धारामा चिटिक्कका बस स्ट्यान्ड: बालेनको वाहवाही, तर बनाएको कसले ? – Nepal Press

सुन्धारामा चिटिक्कका बस स्ट्यान्ड: बालेनको वाहवाही, तर बनाएको कसले ?

काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा बनाइएका आकर्षक यात्रु प्रतीक्षालय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । धेरैले तस्विर शेयर गर्दै काठमाडौंका मेयर बालेन्द्र शाहको गुणगान गाइरहेका छन् ।

यस्तो प्रकारको यात्रु प्रतीक्षालय सम्भवतः काठमाडौंमै पहिलो पटक बनाइएको हो । धरहराको कम्पाउण्ड बाहिर सडकपेटीसँगै जोडेर बनाइएका तीन वटा प्रतीक्षालयहरु सिसाले घेरिएका छन् । भित्र बस्न कुर्सी राखिएको छ, जहाँ यात्रुले आनन्दले थकाइ मार्न सक्छन् ।

काठमाडौंमा कतैकतै बस विसौनीहरु छन् । तर, त्यहाँ यात्रुका लागि कुनै सुविधा छैन । धरहरा परिसरमा बनेका प्रतीक्षालय भने सुविधायुक्त हुनुका साथै आकर्षकसमेत छन् । प्रतीक्षालय अगाडि फराकिलो फुटपाथ छ ।

यो प्रतीक्षालय केही दिनअघि मात्रै तयार भएको हो । सबैले यसको क्रेडिट मेयर बालेनलाई दिइरहेका छन् । तर, यथार्थमा यो प्रतीक्षालय निर्माणमा उनको हात छैन । आधुनिक धरहरा निर्माण परियोजनाअन्तर्गत यो बनेको हो । प्रतीक्षालय परियोजनाकै अंग हो ।

शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आधुनिक धरहराको विषयमा विवाद कायमै छ । निर्माणाधीन आधुनिक धरहराको बेसमेन्टको काम नै नसकी काठमाडौं महानगरपालिकाले आफूखुशी पार्किङ खुलाएपछि महानगर र मन्त्रालय आमनेसामने भएका थिए । यसबाट निर्माणको जिम्मा लिएको रमण कन्स्ट्रक्सन असन्तुष्ट बनेको थियो । यद्यपि, पार्किङ अहिले पनि सुचारु नै छ ।

अनर्गल प्रचार गरियोः निर्माण कम्पनी

धरहरा परिसरको बस स्ट्याण्ड महानगरपालिकाले बनाएको चर्चा निराधार भएको रमण कन्स्ट्रक्सनका अध्यक्ष रमण महतोले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘मेयरले बनाएको भनेर अनर्गल प्रचार भइरहेको छ । यो हामीले धरहराकै बजेटअन्तर्गत बनाएका हौं ।’

प्रोजेक्टअनुसार बिल्डिङबाहेक परिसर वरपरको सडक, फुटपाथ, बगैंचा, प्रतीक्षालयलगायतका काम जीआईईटीसी-रमण कन्स्ट्रक्सन (जेभी)ले बनाएको उनले बताए ।

महतोका अनुसार दुई महिना अघिदेखि निर्माण सुरु गरेर केही दिनअघि मात्रै प्रतीक्षालय प्रयोगमा आएको छ । प्रतीक्षालय बनाउन लागेको खर्च पनि धरहराकै बजेटमा जोडिएको उनले बताए ।

कहिले हुन्छ हस्तान्तरण ?

२०७२ सालको भूकम्पले धरहरामा क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त धरहराको ठुटो त्यत्तिकै राखेर आधुनिक धरहराको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तर, ३ वर्ष अगाडि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक धरहराको औपचारिक उद्घाटन गरेका थिए । धरहरा निर्माणको शिलान्यास २०७५ वैशाख १२ मा ओलीले नै गरेका थिए ।

पुरानो धरहरासँगै नयाँ आधुनिक धरहरा निर्माण गर्न चिनियाँ निर्माण कम्पनी जीआईईटीसी-रमण कन्स्ट्रक्सन (जेभी)ले ठेक्का पाएको थियो । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको आधुनिक धरहराको काम लगभग सकिसकेको छ ।

निर्माण कम्पनी जीआईईटीसी-रमण कन्स्ट्रक्सनले सातौं पटक म्याद थप गरेर असार अन्तिमभित्र हस्तान्तरण गर्ने तयारी गरेको छ । विभागले नै म्याद गरेर डिजाइन भेरियसनको काम गरिराखेकाले ढिलो भएको महतो बताउँछन् ।

तस्विरहरु : उमेश कार्की


प्रतिक्रिया

One thought on “सुन्धारामा चिटिक्कका बस स्ट्यान्ड: बालेनको वाहवाही, तर बनाएको कसले ?

  1. योदेश मा जुन ब्यक्ति वा सस्था ले काम गर्छ
    त्यस्को अत्तो पत्तो हुदैन क्रेडिट लिनलाइ नगरेको कामको मैले गरेको भनेर कोलाहल गर्छन जसले मिडिलाइ पैसा छर्न सक्छ उसैको गुणगान बडि हुन्छ काम भन्दा हल्ला गर्ने प्रबिति बढि छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर