कुमारीको तस्बिर परराष्ट्रले मेटाउन लगाएको पुष्टि, आरके शर्मा भन्छन्- त्रुटि भयो, तर नियतवश होइन – Nepal Press

कुमारीको तस्बिर परराष्ट्रले मेटाउन लगाएको पुष्टि, आरके शर्मा भन्छन्- त्रुटि भयो, तर नियतवश होइन

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतद्वारमा राखिएका कुमारीका तस्बिर सरकारले नै हटाउन लगाएको खुलेको छ ।

परराष्ट्र मन्त्रालयले ती स्वागतद्वार बनाउने एनआरएनए नेता राजेन्द्र कुमार शर्मा (आरके शर्मा) लाई तत्कालै कुमारीका तस्बिर छोप्ने निर्देशन दिएको हो ।

नेपालमा कुमारीलाई ‘जीवित देवी’ का रूपमा पूजा गर्ने गरिन्छ । कुमारीले विदेशी राष्ट्रप्रमुखलाई अभिवादन गरिरहेको तस्बिरप्रति विशेषतः नेवार सम्प्रदायबाट विरोध भएको थियो । भगवानकै रूपमा सम्मान गरेर सबैले ढोग्ने कुमारीले एक विदेशी नागरिकलाई ढोगेको देखाइएकोमा आपत्ति जनाइएको हो । परराष्ट्र मन्त्रालयमा समेत यो विषयमा उजुरी पुगेको बुझिएको छ । त्यसपछि मन्त्रालयका एक उपसचिवले ती स्वागतद्वार बनाउन लगाउने एनआरएनए नेता आरके शर्मालाई फोन गरेका थिए ।

परराष्ट्रबाट निर्देशन आएपछि हिजो राति नै शर्माले आफ्ना कर्मचारीहरू लगाएर कुमारीको तस्बिर मेट्न लगाए । उनले तस्बिरको स्थानमा कतारको झन्डाकै रंग पोत्न भनेका थिए । तर, कतिपयमा रंग नमिलेर विद्रुप देखिएको गुनासो आएपछि उनी फेरि सच्याउनलाई हिँडिरहेका छन् ।

यो पनि पढ्नुहोस्- कतारका राजाको स्वागतद्वारबाट कुमारीको तस्बिर रातारात गायब

कतारमै बस्दै आएका शर्माले आफ्नो नेतृत्वको पिजन इन्जिनियरिङ ग्रुप अफ कम्पनीमार्फत काठमाडौंमा आधा दर्जन स्वागतद्वार बनाउन लगाएका थिए । ती स्वागतद्वारमा कम्पनीको नाम र केहीमा आरके शर्माकै नाम पनि लेखिएको थियो । अहिले आरके शर्माको नाम भने मेटाइएको छ ।

कतारको राजाको स्वागतमा काठमाडौंका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारहरु राखिएका छन् । अन्य संघसंस्थाले पनि यस्ता स्वागतद्वार बनाएका छन् । तर आरके शर्माको कम्पनीले बनाएको ब्यानरमा मात्रै कुमारीको तस्बिर राखिएको थियो ।

नेपाल प्रेससँग कुरा गर्दै शर्माले राम्रो गर्न खोज्दा अञ्जनमा त्रुटि भएको बताए । आफूले नेपाल झल्काउनका लागि पञ्चकन्याको प्रतिकात्मक तस्बिर राख्न भनेको तर कर्मचारीले भुलवश वास्तविक कुमारीकै तस्बिर राखिदिएको उनको भनाइ छ ।

‘राम्रो बनाउन खोजेको हो, तर हतारमा काम गर्दा अलिकति गडबडी भयो,’ उनले भने, ‘परराष्ट्रबाट निर्देशन आएपछि म आफैँले मेटाउन लगाएको हुँ ।’

काठमाडौं महानगरपालिकाबाट पनि यस विषयमा चासो राखेर फोन आएको शर्माले जानकारी दिए । कतारी झन्डासँग कलर म्याच नभएको कुरा आएपछि फेरि केही गर्न सकिन्छ कि भनेर आफू लागिरहेको उनले बताए ।

शर्मा एनआरएनको गत महाधिवेशनमा अध्यक्षमा लडेर पराजित भएका थिए । कतारमा व्यवसाय गर्ने उनी सवकन्ट्रयाक्ट कम्पनी चलाउँछन् । चुनाव हारेपछि शर्मा आफूले आफैंलाई अध्यक्ष घोषणा गर्दै तत्कालीन सत्ता गठबन्धनको पावर लगाएर एनआरएन सचिवालय भवन कब्जा गर्न गएका थिए । नवनिर्वाचित नेतृत्वलाई बैधानिकता नदिन सरकारलाई दबाब दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर