वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना, के भन्छ क्यान ? – Nepal Press

वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना, के भन्छ क्यान ?

काठमाडौं । नेपालमा क्रिकेट श्रृंखला खेल्न टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टीम काठमाडौं आइपुगेको छ । आज बिहान खेलाडी र अफिसियलसहित २० सदस्यीय टोली त्रिभुवन विमानस्थलमा ओर्लेको थियो ।

यता सामाजिक सञ्जालमा भने वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । खेलाडीका लगेजहरू एउटा मामुली पिकअप भ्यानमा लोड गरिएको तस्विर धेरैले सेयर गरेका छन् । यस्तो स्वागतले देशकै इज्जतमा धक्का लागेको उनीहरुको टिप्पणी छ ।

खेलाडीहरूलाई होटलसम्म पुर्‍याउने बस पनि निकै थोत्रो थियो । खेलाडी बसेको बस स्टार्ट भएपछि ट्याक्टरजस्तो ठूलो आवाज निकालेको भिडिओमा सुनिन्छ ।

वेस्ट इन्डिज टीमलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दास दुई कर्मचारीसहित विमानस्थलमा पुगेका थिए । दासले खेलाडीहरुलाई खादा लगाएर स्वागत गरे । एयरपोर्टबाट उनीहरुलाई सोल्टी होटल पुर्‍याइएको छ ।

वेस्ट इन्डिज टिमलाई गतिलो खातिरदारी नगरिएको आरोपबारे दासलाई प्रश्न गर्दा उनले अस्वीकार गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘यसमा नौलो केही थिएन । खेलाडीले ल्याएका लगेजहरु सबै बसमा अटाउँदैनन् । लगेज भ्यान नै प्रयोग गर्नुपर्छ । यसअघि अरु टिम आउँदा पनि यस्तै गर्ने गरिएको छ ।’

खेलाडीको स्वागतमा उच्च तहको व्यक्ति आउनुपर्ने कुनै प्रोटोकल नरहेको उनले सम्झाए ।

‘हाम्रो टीम अरु देशमा जाँदा पनि कुनै उच्च पदस्थ व्यक्ति आएको हुँदैन । उनीहरूले त्यस्तो अपेक्षा पनि गर्दैनन् । हामीले वेस्ट इन्डिज टीमलाई दिने सुविधा र सम्मानमा कुनै पनि कमि गर्ने छैनौं,’ दासले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *