रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित – Nepal Press

रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

काठमाडौं । साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन् । ‘मृत्युको आयु’, ‘कोरोना तन्त्र’जस्तै ‘पैसाको उडान’ पनि लघुकथा शैलीमा लेखिएको उपन्यास हो ।

अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँशुजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित यो उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ । सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई उपन्यासका हरेक कथामा सँगसँगै बुनिएको छ ।

पैसाको उडान उपन्यासमा पैसाको महत्त्व मात्र हैन सीमितताबारे मार्मिक ढंगबाट लेखिएको छ । विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ भन्ने आंकलन पनि गरिएको छ ।

पैसाको लागि काकाकुल बनेको यो वैश्य युगमा पैसाका आवश्यकता मात्र नभएर मृगतृष्णा भएको तथ्य सूक्ष्म ढंगबाट उजागर गरिएको छ । मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको यो उपन्यासमा मुख्यता ५६ वटा च्याप्टर रहेका छन् । अत्यधिक पैसाले जीवनमा के कस्ता दुष्प्रभाव गर्दछ भन्ने कोणबाट यो उपन्यास पृथक् रहेको छ ।

शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३२५ रहेको छ ।

समीरका अर्जुन दृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलव्य दृष्टि, मृत्युको आयु, कोरोना तन्त्र लगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन् ।

समीरले युवावर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्म श्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभूषण पदक लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *