वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो – Nepal Press
सट्टेबाजी सिरिज-३

वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

वान् एक्स बेटले अवैध रूपमा खुलेआम यसरी लाँदैछ वार्षिक करोडौं रूपैयाँ

काठमाडौं । नेपालको कानूनले निषेध गरेको सट्टेबाजी (बेटिङ) कम्पनी ‘वान् एक्स बेट’ले नेपालबाट हुन्डी कारोबार गरेर दैनिक लाखौं रूपैयाँ लगिरहेको पाइएको छ । वान् एक्स बेट निकट स्रोतका अनुसार वान् एक्स बेटले नेपालमा रहेका आफ्ना एजेन्टहरूमार्फत हुन्डीको कारोबार भइरहेको पाइएको छ ।

नेपाल प्रेसलाई स्रोतले उपलब्ध गराएको वान् एक्स बेट कम्पनी र यसका एजेन्टबीचको सम्झौता पत्रमा भएका शर्तमा भनिएको छ, “पहिलो पार्टी (एजेन्ट)ले ‘प्रिपेमेन्ट’ पठाउँदा हुन्डी, बिट्क्वाइन, नेटेलर, स्क्रिल वा पर्फेक्ट मनीको माध्यमबाट पैसा पठाउनुपर्नेछ” भन्ने उल्लेख भएको देखिएको छ ।

यो हेर्नुहोस्…

कम्पनीको कुनै पनि लेटर प्याड वा आधिकारिक पत्रमा नभएको सो सम्झौता पत्रले कति खुलेआम हुन्डी कारोबार भइरहेको छ भन्ने छर्लङ्ग पार्छ ।

अहिले नेपाली युवालाई लक्षित गरेर बेटिङ नेटवर्कको विस्तार गरिरहेको छ । नेपालमा बेटिङ र ‘अनलाइन ट्रान्जेक्सन’ पनि सहज नभएकाले यसका लागि वान् एक्स बेटले नेपालीलाई नै एजेन्ट रूपमा प्रयोग गरिरहेको पाइएको छ ।

वान् एक्स बेट निकट स्रोतले दिएको जानकारीअनुसार नेपालमा अहिले ५० देखि १०० जनाको हाराहारीमा वान् एक्स बेटका लागि काम गर्ने एजेन्टहरू छन् । “नेपालमा ५० देखि १०० जनाको बीचमा एजेन्टहरू छन्, जसले वान् एक्स बेटको वेबसाइट तथा मोबाइल ‘एप्लिकेसन’मा गएर अनलाइन गेम खेल्न र बेटिङका लागि आवश्यक पर्ने पैसा ‘डिपोजिट’ र ‘विथ्ड्र’ गर्ने माध्यम बन्ने गरेका छन्”, स्रोतले नेपाल प्रेससँग भन्यो ।

स्रोत भन्छ–वान् एक्स बेटमा अकाउन्ट सहजै बन्ने भए पनि पैसा डिपोजिट गर्न र निकाल्न गाह्रो छ। यस्तो अवस्थामा खल्ती, आईएमई पे जस्ता प्लेटफर्मको प्रयोग गरेर पैसा ट्रान्जेक्सन हुन्छ । तर, सोझै तपाईँले आफ्नो डिजिटल वालेटबाट गेमिङ अकाउन्टमा पैसा डिपोजिट गर्न प्रोसेस गरेपछि त्यहाँ नेपाली एजेन्टको नाम र अकाउन्ट नम्बर आउँछ । त्यसरी नाम आउने सबै एजेन्ट हुन् ।

यसरी बेटिङको अवैध जालो बुनिरहेको वान् एक्स बेटका ती एजेन्टले शुरुमा केही पैसा लगानीसमेत गर्ने स्रोतले जानकारी दिएको छ । “कुनै एक नेपालीले नेपालमा एजेन्ट भएर काम गर्न तयार भयो भने ऊसँग कम्पनीले सम्झौता गर्छ,” स्रोतले भन्यो।

यो हेर्नुहोस् सम्झौता पत्र

यसरी सम्झौता गरेर आफूले पैसा लगानी गरेर एजेन्ट बनेका नेपालीको पेमेन्ट प्लेटफर्मबाट वान् एक्स बेटले डिपोजिट र विथ्ड्र गरिरहेको पाइएको छ ।

यसमा संलग्न व्यक्तिहरु भन्छन्–उदाहरणका लागि, म एजेन्ट भएँ भने, मेरो खल्तीको आइडी र नाम कम्पनीले प्रयोग गर्छ । जब बेटिङ गर्न चाहनेले पैसा डिपोजिटका लागि प्रोसेस गर्छन् त्यहाँ मेरो नाम र आइडी जान्छ । जुन ‘वान् टाइम पासवर्ड’ (ओटिपी) जस्तै हुन्छ । त्यसरी देखिएको अकाउन्टमा पाँच मिनेट भित्र पैसा राखिसक्नुपर्छ । र, यसरी एजेण्टको अकाउन्टमा पैसा राख्यो कसैले भने त्यसको केही मिनेटमै सट्टेबाजको गेमिङ अकाउन्टमा पैसा जान्छ ।

यसरी आफ्नो पेमेन्ट प्लेटफर्म वान् एक्स बेटले प्रयोग गरेबापत नेपाली एजेन्टले निश्चित प्रतिशत कमिसन पाउने गरेका छन् । त्यस्तै प्रोमोटर र एफिलेटरले पनि आफूले ‘क्लाइन्ट’ बनाए बापत निश्चित पैसा पाउँछन् ।

“जलानले गरेको प्रोमोसनमा आफ्नो प्रोमोकोड राखेर रजिस्टर गर्न भन्छन्, हो त्यसरी प्रोमोकोड राखेर कसैले रजिस्टर गर्‍यो भने जीवनभर जलानले त्यो क्लाइन्टले हारेको पैसाको २७ प्रतिशत पाइरहन्छन्” स्रोतले भन्यो, “यो इन्स्योरेन्सको एजेन्टले जस्तै कमिसन पाउने तर गैरकानूनी काम हो ।”

कसरी चुनिन्छ एजेन्ट ?

साइप्रसमा मुख्य कार्यालय रहेको वान् एक्स बेट कम्पनीमा नेपालका लागि भनेर नेपाली विभाग नै खोलेर नेपाली कामदार राखिएको स्रोतले जानकारी दिएको छ ।

“त्यो नेपाली डिपार्टमेन्टको कस्टोमर केयरबाट एजेन्टको खोजी सुरु हुन्छ” स्रोतले नेपाल प्रेससँग भन्यो, “नेपालबाट बेटिङका लागि रजिस्टर गरेका प्रयोगकर्ताहरूको कन्ट्याक्ट डिटेल्स हेरेर अलि सहजै ‘कन्भिन्स’ गर्न सकिने खालका मानिसको छनोट हुन्छ, र कस्टमर केयरले उनीहरूलाई इमेलमार्फत अफर पठाउँछ ।”

त्यसरी आएको इमेलमा ‘वान् एक्स बेट कम्पनीको एजेन्ट बनेर पैसा कमाउन चाहनुहन्छ ?’ भनेर सोधिने गरेको त्यस सञ्जालमा हुनेहरु बताउँछन् । यदि त्यसरी आएको इमेलमा ‘एजेन्ट बन्न चाहन्छु’ भनेर कसैले प्रतिक्रिया पठायो भने उसलाई ह्वाट्सएप अथवा भाइबरमा म्यासेज आउँछ ।

र, त्यहीँबाट बाँकी प्रक्रिया पूरा गरेर सम्झौतामा हस्ताक्षर गरिसकेर केही समयको ट्रेनिङ पश्चात कम्पनीलाई प्रिपेमेन्ट गरिसकेपछि अर्थात् ‘टेरिफ’ किनिसकेपछि वान् एक्स बेटको एजेन्ट बन्छन् ।

एजेन्टका लागि छुट्टै म्यासेन्जर एप

वान् एक्सले आफ्न एजेन्टहरूसँग इन्स्ट्यान्ट म्यासेजिङका लागि ‘रेड्डी’ नामक एप प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल प्रेसलाई उपलब्ध भएको सम्झौता पत्रमा एजेन्टले कम्पनीको तर्फबाट रेड्डी एप पाउने र त्यसमा आकस्मिक सम्वाद, प्राविधिक समस्या र समाधान आवश्यक हुने विषयमा कुरा गर्न सकिने उल्लेख छ । त्यसबाहेकका अन्य सम्पूर्ण व्यावसायिक कुरा स्काइप, ह्वाट्सएप र भाइबरमार्फत गर्नुपर्ने पनि उल्लेख छ ।

यो हेर्नुहोस्…

टेरिफ के हो ? कति पैसामा किनबेच हुन्छ ?

टेरिफ किन्नु भन्नाले एजेन्टले वान् एक्स बेटमा शुरुमा केही पैसा डिपोजिट गर्नुपर्ने हुन्छ । “नेपालको हकमा न्यूनतम ३ लाख नेपाली रूपैयाँदेखि टेरिफ प्याकेज सुरु हुन्छ । यसरी टेरिफ किनिसकेपछि त्यो एजेन्टले त्यति पैसा बराबरको ट्रान्जेक्सन गर्न सक्छ । यो सोझो तरिकाले बुझ्दा हुन्डी जस्तो हुन्छ ।

एजेन्टले वान् एक्स बेटलाई दिन्छन् अनि एजेन्टले सट्टेबाजसँग पैसा लिन्छ । वान् एक्स बेट निकट स्रोतका अनुसार एजेन्ट एक जना मात्रै व्यक्ति बन्न मिल्दैन । किनभने, जुनसुकै बेला पनि पैसा डिपोजिट र विथ्ड्रको रिक्वेस्ट आउन सक्ने भएकाले सातै दिन चौबीसै घण्टा उपलब्ध हुनुपर्छ ।

त्यसैले एजेन्टको समूहमा कम्तीमा तीन जना सदस्य हुनुपर्छ त्यसो गर्दा ८/८ घण्टा तीन जनाले बाँडेर काम गर्न सक्छन् ।

ईसेवा, खल्ती, आईएमई पे जस्ता डिजिटल वालेट नै वान् एक्स बेटका प्रमुख कारोबारी माध्यम बनेका छन् । तर, यसबारे ‘उनीहरूलाई थाहै नदिई ‘थर्ड पार्टी सर्भिस’ को रूपमा प्रयोग भइरहेको स्रोतले जानकारी दिएको छ ।

“उनीहरूको सर्भिस प्रयोग भइरहेको भए पनि वान् एक्स बेटले थाहा दिएको छैन, यदि कुनै पनि एजेन्टको अकाउन्टमाथि शंका गर्‍यो भने अकाउन्ट ब्लक गरिदिन्छ” स्रोतले भन्यो, “त्यसो भएकाले एजेन्टहरूले समय समयमा अकाउन्ट नै परिवर्तन गरेर कारोबार गर्ने गरेका छन्, जसबाट बैङ्कले ट्रयाक गर्ने सम्भावना पनि कम हुने भएकाले बडो चलाखीपूर्ण तरिकाले यो कार्य निर्वाध रूपमा भइरहेको छ ।”

अझै यसरी ट्रान्जेक्सन गर्दा केही समस्या भयो भने बैङ्क तथा डिजिटल वालेटमा फोन नगर्न पनि कम्पनीले बारम्बार सूचना पठाउने गरेको छ । यस्तो अवैध सट्टेबाजीमा नेपालबाट दैनिक कम्तीमा १० देखि १५ लाख रूपैयाँ हुण्डीका रूपमा विदेशिने गरेको यसमा संलग्न जानकारहरु बताउँछन् ।

सट्टेबाजी सिरिज–१: युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

सट्टेबाजी सिरिज–२: नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर