१२ छोरीका बुवाआमाको सन्देश– खुसी हुने कसरी ? सिक्ने भए हामीसँग आउनुस् (भिडियोसहित) – Nepal Press

१२ छोरीका बुवाआमाको सन्देश– खुसी हुने कसरी ? सिक्ने भए हामीसँग आउनुस् (भिडियोसहित)

रुपन्देही । हाम्रो समाजमा अझै छोरीलाई ‘दुःखको कारण’का रुपमा लिइन्छ, बुझिन्छ र व्यवहार गरिन्छ । तर प्युठान नौबहिनी–७ बाँसकोटका १२ छोरीका बुवा सुमन्त र आमा पुना सापकोटा एकदमै खुसी छन् । उनीहरु एकस्वरमा भन्छन्– छोरी भएर कसैलाई दुःख लागेको छ भने खुसी सिक्न हामीकहाँ आउनुस् ।

सापकोटा दम्पतीका १२ छोरीमध्ये ८ जनाको विहे भइसकेको छ । कुनै चाडपर्वमा छोरी–ज्वाइँ र नातिनातिना भेला हुँदा घर भरिन्छ । तीज, तिहारजस्ता पर्वमा घरमा उल्लास छाउँछ । छिमेकी तथा गाउँले पनि छोरीहरुको खुसी देखेर दंग पर्छन् । विहे भएका छोरीहरुबाट उनका १४ जना नातिनातिना छन् ।

चाडपर्वमा सबै जुट्दा घर पूरै भरिने बताउँदै सुमन्त भन्छन्, ‘तीनवटा तलामा लाइन लगाएर सुत्छन्, कसले खाना खायो, कसले खाएन, को सुत्यो को सुतेन भनेर चेक गर्ने डिउटी सुरु हुन्छ मेरो । सबै भेला हुनेबेलामा खोजेरै भए पनि एउटा ठूलो खसी काट्छु । ज्वाइँहरुले मिलेर काटकुट पार्छन्, छोरीहरुले पकाउँछन् । सबै भेला भएर खाँदा बेग्लै संसारमा पुगेको अनुभूति हुन्छ ।

१२ वर्षमा विवाह गरेका सुमन्त १४ वर्षको हुँदा जेठी छोरी जन्मिन् । अहिले ५८ वर्षीय उनी अहिले निकै खुसी छन् । विहे गर्न बाँकी चार छोरीको पालनपोषणको चिन्ताले भने उनलाई सताइरहन्छ ।
हुनत १२ छोरी हुर्काउन, पढाउन उनले कम्ति संघर्ष गर्नु परेन । कहिले भारतमा मजदुरी त कहिले सानोतिनो व्यापार गरेर सुमन्तले छोरीहरु हुर्काए, बढाए, पढाए । उनकी काँइली छोरी लाली सुवेदी भन्छिन्– बुवाले हामीलाई हुर्काउन, बढाउन, पढाउन गरेको संघर्षले थप प्रेरणा मिलेको छ ।

सुमन्तले जेठी छोरीलाई सुरुमै व्यापारमा लगाए । जेठी छोरीको प्रेरणाले अरु छोरीहरुले पनि व्यापार नै रोजे । विहे भएका ८ छोरीमध्ये सातैजना अहिले व्यापार गर्छन् । एउटी छोरी भने रोजगारीका लागि भारत गएकी छन् ।

सुमन्त आफ्ना छोरीहरुलाई ‘भगवानको पाहुर’ भन्छन् । छिमेकी र केही इष्टमित्रले छोरा नभएकामा प्रश्न उठाए पनि आफू सन्तुष्ट र खुसी भएको बताउँछन्, उनी । ‘छोरीहरु मेरा खुसी हुन्’ सुमन्त भन्छन्, ‘उनीहरुसँग जति रमाइलो अन्त कतै केही गर्दा पनि लाग्दैन ।’

प्युठानसँग सीमा जोडिएको रोल्पा सिर्प माइती भएकी पुना सापकोटासँग विवाह गरेका सुमन्त अहिलेसम्म कुनै पनि छोरीसँग झगडा नभएको र कसैलाई एक थप्पड पनि नलगाएको बताउँछन् ।

‘मलाई छोरीको भन्दा ज्वाइँको माया लाग्छ, छोरी लगेपछि ज्वाइँ छोरा बराबर नै भए’, उनी भन्छन्, ‘म तीजमा पनि पहिले ज्वाइँहरु जुटाउँछु अनि मात्र छोरीलाई बोलाउँछु । मेरा साथी, संसार जे भने पनि छोरी, ज्वाइँ र नातिनातिना हुन् ।’

उनीहरुकाे कान्छी छोरी ८ वर्षकी भइन् । उनी अहिले ४ कक्षामा पढ्छिन् ।

‘पहिला छोरा पाउने आशले नै निरन्तर गर्भ बस्यो । छोरी नै जन्मदा अलि खल्लो चाहिँ लाग्थ्यो’, उनी भन्छन्, ‘तर अहिले छोरा नभएकामा कुनै दुखेसो छैन । छोरीहरुबाटै खुसी छु, सन्तुष्ट छु ।’

अहिले हरेक हिसाबले छोरीहरुबाट छोरासरह साथ पाइरहेको सुमन्तले बताए ।

उनलाई छोरीहरुको नाम भन्न अप्mठेरो लाग्छ । अनि १, २ गर्दै नम्बरबाट छोरीहरुलाई बोलाउँछन् । उनका १२ छोरीको नाम क्रमशः गीता थापा, मदा रोका, तुलसा सापकोटा, लाली सुवेदी, नारायणी पोखरेल, पद्मा केसी, सोनु पोखरेल, सृजना जिसी, जानकी सापकोटा, कान्छी सापकोटा, मिना सापकोटा, सर्वना सापकोटा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर