मीनरत्नका ११ `आइकोनिक´ तस्विर: जागिरहेकी दुर्गा, भागिरहेका सुशील ! – Nepal Press

मीनरत्नका ११ `आइकोनिक´ तस्विर: जागिरहेकी दुर्गा, भागिरहेका सुशील !

काठमाडौं । वरिष्ठ फोटो पत्रकार मीनरत्न बज्राचार्यले क्यामेरा चलाउन थालेको साढे तीन दशक भइसक्यो । यो अवधिमा उनले हजारौं तस्विर खिचे । ती सबै तस्विरले आआफ्नो समयको कथा भन्छ । चाहे २०४६ सालको जनआन्दोलनका तस्विर होऊन् या प्रजातन्त्र पुनःस्थापनाको उल्लासका तस्विर ! चाहे गणेशमान सिंहका ऐतिहासिक तस्विर होऊन् या भूगर्भविद् टोनी हेगनका तस्विर ! टोनी हेगनको एक तस्विर त सालिक बनाउनुपर्‍यो भने रिप्लिकाकै रुपमा प्रयोग हुने गरेको छ ।

२०४६ सालमा खिचिएको आइकोनिक तस्विरमा रहेकी दुर्गा केसीलाई मीनरत्नले २०६२/६३ को जनआन्दोलनमा पनि कैद गरे । मुस्ताङ पुगेका डेनमार्कका राजकुमारदेखि फिल्म खेल्नुअघिका मनिषा कोइरालाका तस्विर पनि कैद गरे ।

लामो समय फोटो पत्रकारिता गरेका मीनरत्न अहिले स्वतन्त्र फोटो पत्रकारको रुपमा सक्रिय छन् । उनै मीनरत्नले खिचेका केही ऐतिहासिक र त्यो समयको कथा भन्ने तस्विरहरुको चर्चा यहाँ गरिएको छ । उनले खिचेका तस्विरहरु पछाडिको कथा उनकै शब्दमा उधिन्न खोजिएको छ ।

तस्बिर १ : २०४६ सालको त्यो आइकोनिक तस्विर र २०६२/६३ कनेक्सन

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि झण्डै दुई महिना आन्दोलन भएको थियो । चैत २४ गतेदेखि कर्फ्यु लागेको थियो । तर, चैत २६ गते राजा वीरेन्द्रले कृष्णप्रसाद भट्टराई, सहाना प्रधान, गिरिजाप्रसाद कोइराला, राधाकृष्ण मैनालीलाई बोलाएर आफू संवैधानिक राजतन्त्रमा रहने बताए ।

राजाले २६ गते राति नै नेपाल टेलिभिजनबाट सम्बोधन गरेका थिए । त्यही रातिबाट छिटफुट विजयोत्सव मनाउने क्रम सुरु भएको थियो । २७ गते भने विशाल र्‍याली भयो । खुला मञ्चमा विभिन्न नेताहरुले भाषण गर्ने सिलसिला चल्यो । तर, मेरो ध्यान भने मास कभरेज गर्नेमा केन्द्रित थियो ।

मासलाई कभरेज गर्ने क्रममा पश्चिमदेखि उत्तर-पूर्वको टुक्रा जोड्छु भनेर फोटो खिच्दै थिएँ । एकजना महिला भीडबाट उफ्रेर प्रजातन्त्रको उदय वा विजय त्यस्तै नारा लगाउनुभयो । त्यो नारा लगाएको वेला तीनचार स्न्याप लिएँ । त्यसपछि उहाँलाई भीडले बसायो । अनि कोही पनि उफ्रेनन् । लक्किली त्यो फोटो मेरो क्यामेरामा कैद भयो ।

त्यसवेला मलाई यो फोटो यति ऐतिहासिक हुन्छ भन्ने लागेको थिएन । मुमेन्ट क्याप्चर गर्ने ध्याउन्नमा खिचेको थिएँ । त्यसवेलाका पत्रकार, सम्पादकहरुले घरमै फोटो लिन आउनुभयो ।

हरिहर विरही आफैं आएर फोटो छान्नुभयो । उहाँले ‘गणेशमान, मंगलादेवी, सहाना ठीक छ’ भनेर छान्नुभयो । तर, सँगै एउटा सेतो अनुहार टिलिक्क टल्केको, तेल दलेर मजाको ह्याण्डसम नेताको फोटो चाहिँ यतिकै छाड्नुभयो ।

भोलिपल्ट त्यही फोटो फेरि लिन आउनुभयो । त्यो फोटो झलनाथ खनालको थियो । किनभने त्यही राति अन्तरिम सरकार गठन भयो । उहाँ मन्त्री हुनुभएको थियो ।

अलि पछि २०४८ सालमा मानव अधिकार सर्वेक्षण मञ्चको टीम फोटो हेर्न आए । फोटो कोठाभरि छरपस्ट थिए । टीममा जर्मन पत्रकार थोमस बंकर भन्ने पनि आएका थिए । उनले यो फोटो देख्नासाथ ‘वाउ, दिस इज ह्वाट एक्जाक्टली वी आर लुकिङ फर मीन’ भनेर छान्नुभयो । यही फोटो कभरका लागि ठीक छ भनेर लिएर जानुभयो ।

पछि डन अफ डेमोक्रेसी भन्ने किताबमा यो कभर फोटो छापियो ।

पछि १९९३ को चैत महिनामा कान्तिपुरमा यही फोटो छापियो । त्यो दिन मच्छिन्द्र बहालमा रक्तदान कार्यक्रम थियो । नेता गणेशमान र म निस्कँदै थियौं, उहाँ महिला (दुर्गा केसी) पो फटाफट आएर गणेशमानलाई ‘जय नेपाल दाइ’ भन्दै आइन् । त्यसवेला उहाँ पीके क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुँदो रहेछ । पछि कांग्रेसको तरुण दल, ट्रेड युनियनतिर पनि छिर्नुभयो क्यार !

पछि २०६२/६३ सालको जनआन्दोलनमा पनि उहाँको फलोअप भयो । एकजना भाइले मेरो जीवनमाथि डकुमेन्ट्री बनाइरहेका थिए । म मिनिबसमा बसेर आन्दोलनको दृश्य खिचिरहेको थिएँ । माथिबाट हेर्दा उहाँलाई ठ्याक्क देखें । देख्नासाथ मिनिबसबाट झरेर उहाँलाई पछ्याउँदै गएँ । बानेश्वर नपुग्दै उहाँको मुखको मुमेन्ट खिचें ।

२०४६ सालमा खिचेको मुखको मुमेन्ट र २०६२/६३ मा खिचेको मुखको मुमेन्ट मिलेपछि सम्पादक कुन्द दीक्षितलाई फोन गरेर यसबारे भनें । पछि फोटो डाउनलोड गरेर लगेपछि उहाँले भन्नुभयो, ‘थ्यांक यु मीन, यु सेभ द आवर्स एण्ड आवर्स टाइम टु मेक द कभर स्टोरी ।’

तस्बिर २ : टोनी हेगनको रिप्लिका

यो फोटो केही वर्ष अगाडि हुलाक टिकट निकाल्दा राखिएको हो । यो फोटो चाहिँ मैले सन् १९९८ मा खिचेको हो ।

उहाँसँग कसरी कनेक्सन भयो भने एक दिन मलाई के के पाण्डेले फोन गर्नुभयो, ‘पीएल सिंह हुनुहुन्छ ?’

मैले भनें, ‘उहाँ त दिल्लीमा हुनुहुन्छ ।’

‘प्रकाशमान सिंहजी ?’

‘उहाँ पनि हुनुहुन्न ।’

अनि उहाँले भन्नुभयो, ‘टोनी हेगन भन्ने व्यक्ति आउनुभएको छ । उहाँले गणेशमानजीलाई भेट्न चाहनुभएको छ । कसरी मिलाउने होला ?’

‘हेरौं न त, म कोसिस गर्छु ।’

अनि उहाँहरुको नम्बर मागें । उहाँले याक एण्ड यती होटेलको नम्बर दिनुभयो ।

गणेशमान सिंहको घरमा गएर मैले कुरा गरें । टोनी हेगन भन्ने व्यक्तिले भेट्न चाहेको कुरा बताएँ ।

गणेशमानले भन्नुभयो, ‘ल तिमीले समय मिलाएर डायरीमा भेटघाटको समय नोट गरेर राख ।’

टोनी हेगन र गणेशमान सिंहको साथमा फोटोग्राफर बज्राचार्य

यसपछि सांग्रिला होटेलमा भेट्ने कुरा भयो । यो फोटो त्यही वेलाको हो । टोनी हेगनसँग पहिलो पटक भेट हुँदा प्रकाशमान दाइले भन्नुभयो, ‘तिमी यत्रो धेरै फन्क्सनको फोटो खिचेको मान्छे । तिम्रो पनि एउटा फोटो खिचिदिन्छु ।’

अनि उहाँहरु जस्तो व्यक्तिसँग मैले पनि फोटो खिचें ।

त्यस भेटपछि टोनी हेगनले मलाई भन्नुभयो, ‘यु आर ट्रस्टेड बाइ गणेशमान सिंह । आइ ह्याभ नो डाउट विथ यू, सो ह्वाइ डन्ट यु बी माई पी ?’

अनि ‘पी’ भनेको के हो भन्दा फोटोग्राफर त भइहाल्यो, सँगै पिउनदेखि प्राइमिनिस्टरसम्मको कुरा गर्नुभयो ।

मैले उहाँको प्रस्ताव स्वीकार गरें ।

त्यो वेला खिचेको उहाँको फोटो पछि आइकोनिक बन्दै गयो । रिप्लिका नै बन्यो त्यो फोटो । उहाँबारेको किताब या सालिक बनाउँदा पनि यही फोटो रिप्लिका बन्यो ।

यो फोटो चाहिँ उहाँले मलाई गिफ्ट दिएको क्यामेराको हो । उहाँले ‘उहिलेको नेपाल’ भन्ने डकुमेन्ट्रीबाट खिचेको हो मैले ।

उहाँ सन् २००३ मा बित्नुभयो । बित्ने वेला उहाँले छोरीलाई ‘दिस इज फर मीन’ भनेर जानुभएको रहेछ । यो स्वीस मेड क्यामेरा उहाँबाट पाएको उपहार हो ।

यो क्यामेरा साथीहरुसँग शेयर पनि गरें । उहाँको सन् २०१६ मा एक्जिभिसन पनि गरें ।

उहाँले १५ वर्ष नेपालमा स्वतन्त्र भएर बिताउनुभयो । नेपालको पूर्व-पश्चिम हिँड्नुभयो ।

तस्बिर ३ : दीपेन्द्रले अरुको तस्बिर खिचिदिँदै

यो २०५६/५७ सालतिरको फोटो हो । तत्कालीन युवराज दीपेन्द्रसहित र्‍याडिसन होटेलमा इन्टरनेशनल फन्क्सन भएको थियो । मलाई र्‍याडिसनमा सुरुदेखि नै फोटोहरु खिच्ने काममा लगाइरहन्थे ।

त्यो वेला पनि मलाई फोटो खिच्न बोलाइएकाले म फोटो खिचिहिरेको थिएँ । होटेलको गार्डेनमा केही महिलाले आफ्नै क्यामेराले फोटो खिचिरहेका थिए ।

मलाई थाहा थियो, दीपेन्द्रको फोटोग्राफीमा रुचि छ भनेर । उहाँले फोटो खिचिरहेकी युवतीलाई ‘लेडी, गिभ मी योर क्यामेरा, आई विल टेक योर पिपल्स पिक्चर’ भनेको वेला खिचेको हो ।

त्यसवेला मलाई गोरखापत्र र दरबारका फोटोग्राफरहरुले ‘नखिच’ भनेर रोकेका थिए ।

मैले भनेको थिएँ, ‘यो तिमीहरुको च्याम्बर हो र नखिच्नलाई ? पब्लिक फिगरको किन खिच्न पाइँदैन ?’

अनि मैले फोटो खिचेको हो । यही फोटो कति ठाउँमा छापियो । हिडन ट्रेजरले निकालेका किताबमा धेरैजसो फोटो छापिएको छ ।

तस्बिर ४ : त्यतिवेलाका युवा नेताहरु अहिलेसम्म निरन्तर

यो २०४६ साल चैत २४ गते कर्फ्यु हुनु अगाडिको फोटो हो ।

यहाँ हुनुभएका सीताराम मास्के पछि राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव हुनुभयो । यहाँ बलबहादुर केसी, राजेश मिश्र, ध्यानगोविन्द श्रेष्ठ, पद्मरत्न तुलाधारलगायत नेताहरु छन् । मैले चाहिँ वीरेन्द्रभक्त श्रेष्ठले भाषण गर्दै गरेको खिचेको हुँ ।

हामीले उहाँसँगै गणित पढेको हो परोपकार हाईस्कुलमा । त्यो स्कुलमा २०२८ सालमा मेरो बुवा हेडमास्टर हुनुहुन्थ्यो ।

२०४६ सालपछि म लगातार फोटोग्राफीमा सक्रिय भएँ । यो फोटोमा भएका नेताहरु पनि लगातार राजनीतिमा सक्रिय हुनुहुन्छ ।

तर, मलाई के लाग्छ भने युवा पिढीलाई गाइडलाइन दिएर नेतृत्व छाड्नुपर्ने हो उहाँहरुले । राजनीति व्यापारको थलो बनाउने होइन भनेर उहाँहरुले छाड्नुपर्ने हो । तर, उहाँहरु जहिल्यै पावरमा जाऔं, त्यहाँ गएपछि सात पुस्तालाई पुग्ने कमाऔं भनेर लागिरहनुभएको छ । शिवाय हातमा गन्न सकिने व्यक्तिहरु गणेशमान, किसुनजी, मनमोहन अधिकारी ।

मेरो मामलामा पनि म अहिलेसम्म लागिरहेकै छु । म लागे तापनि जुनवेला मैले ‘हिमाल’ म्यागजिन छाडें, २०७४/७५ मा । त्यसपछि कुनै पनि म्यागजिनमा फोटोग्राफर भनेर लागिनँ । बरु म श्रीमतीको आयस्रोतमा बाँचें । तर, कमाउनुपर्छ भनेर नलागिकन युवा पिढीलाई आइडिया शेयर गर्दै जिन्दगी आनन्दसँग बिताइरहेको छु ।

तस्बिर ५ : सन् १९९१ मा एउटै फोटोको १००० डलर

सन् १९९१ मा मुस्ताङमा एक वर्ष बस्ने मौका पाएको थिएँ । सुरुमा ६ महिना बसेर पनि आइसकेको थिएँ ।

२०४८ सालको चुनावमा मंगलादेवी सिंह हार्नुभयो । प्रकाशमान सिंह हार्नुभयो । त्यसपछि क्षेत्रपाटी अलि शून्य भयो । त्यहाँ पहिला जस्तो गतिविधि भएन । गणेशमानजी त कार्यकर्तामाझ सक्रिय हुनुहुन्थ्यो । तर, उहाँको पनि पहिला जस्तो सक्रियता थिएन ।

कति राजनीतिकै पछाडि लाग्नु, अब यात्रा गर्नुपर्‍यो भनेर मुस्ताङ गएँ । त्यही वेला डेनमार्कका राजकुमार हेलिकोप्टरबाट आउनुभयो । मैले उहाँसँग फोटो पनि खिचें । उहाँको पर्सनल लेडिज फोटोग्राफरले खिचिदिएको हो फोटो चाहिँ ।

छेवैमा मुस्ताङे राजाका सचिव चन्द्र गुरुङ, गाउँ विकास समितिको अध्यक्ष, नेपाल सरकारले खटाएका आर्मीका अफिसर र नर्वेको इन्टरनेशनल एजेन्सीको स्टाफ हो ।

त्यो वेला मैले माथि पुरानो दरबारमा खिचेको एउटा फोटो फ्रेन्च म्यागजिन लाफिगारोमा छापियो । त्यो फोटोको मलाई एक हजार डलर आएको थियो । कर काटेर ८०० भन्दा बढी आएको थियो । त्यहाँबाट मैले महसुस गरें कि फोटोग्राफीमा चुनौती छ, ग्ल्यामर छ, थ्रिल छ र पैसा पनि छ ।

तर, त्यसरी पैसा आउने त आक्कलझुक्कल मात्रै थियो । मैले त्यसवेला न्युयोर्क टाइम्सबाट पनि फोटोको २५० डलर पाएको थिएँ । यसो हुँदा राम्रोसँग पकेट मनी हुँदोरहेछ ।

तस्बिर ६ : गणेशमान सिंह र ज्ञानेन्द्र शाह

यो चाहिँ ज्ञानेन्द्र शाह राजकुमार हुँदाको फोटो हो । २०५०/५१ सालतिर शीतलनिवासमा चियापान हुँदाको फोटो हो । म गणेशमानको लाइभ कभरेज गर्न हिँड्थें ।

त्यसैले यो फोटो खिच्न पाएँ ।

गणेशमानको फोटो खिच्न मलाई रोकटोक थिएन । उहाँसँगै हिँड्थें । तर, मैले कहिल्यै पनि पावरको मिसयुज गरिनँ ।

तस्बिर ७ : बालक राजन रायमाझीको छातीमा गोली

जनआन्दोलनको वेला चैतको दोस्रो हप्तातिरको समय थियो । पाटनमा आन्दोलन खुब चर्कियो ।

आन्दोलन चर्किएपछि महावल भन्ने ठाउँमा प्रहरी भ्यान जलाइयो । अहिले त त्यो भ्यान जलेको ठाउँमा बैंक बनिसक्यो ।

त्यो वेला काठमाडौंमा आन्दोलन शिथिल भएपछि पाटन र भक्तपुरका आन्दोलनकारीले काठमाडौंका आन्दोलनकारीहरुलाई चुरीहरु पठाएका थिए । आँट छैन भने चुरी लगाउनुस् भनेर ।

पाटनमा आन्दोलनकारीहरुले नाकाबन्दी नै गरेका थिए । बाहिरबाट प्रहरीहरु नआओस् भनेर पुल्चोक, ग्वार्को, जावलाखेलमा खाल्डो खनेका थिए । पाटनभित्रका खाकी प्रहरीहरुलाई नजरबन्दै गरेका थिए ।

चैत २६ गते तत्कालीन राजा वीरेन्द्रबाट सम्बोधन भएपछि रातारात जनता खुसीयालीमा बाहिर निस्किए । तर, राम्रो सञ्चारको अभावले प्रहरीसँगको झडपमा धेरै मान्छे मरे ।

त्यही क्रममा राजन रायमाझी भन्ने रेस्टुरेन्टमा काम गर्ने १०-१२ वर्षको केटो पनि मर्‍यो । होटेलमा काम गर्ने केटो पनि खुसीयाली मनाउन सडकमा आएछ । गोली लागेर मर्‍यो । भोलिपल्ट वीर अस्पतालमा गएर खिचेको हो यो फोटो ।

त्यो वेला कतिपय लास सुरक्षा निकायले लगेर गायब नै बनाएको घटना पनि बाहिरिएको थियो । मैले चिनेको मान्छे पुष्परत्न शाक्य भन्ने चाहिँ आर्मी अस्पतालको डाक्टरको चिनजानको भएकाले आर्मीले लगिसकेको लास सुरक्षाकर्मीको घेराभित्र पशुपतिमा जलाएको सुनेको थिएँ ।

त्यो वेलाको आन्दोलन वास्तवमा पाटन, कीर्तिपुर, भक्तपुर, काठमाडौंका नेवारहरु उत्रेर नै सफल भएको हो । त्यही भएर अहिलेका शीर्षस्थ नेताहरु पनि भन्छन्, काठमाडौंका नेवारहरु ब्युँझनुपर्‍यो ।

तस्बिर ८ : सर्कसमा बेचिएकी बालिकाको फुटेका हात

यो चाहिँ हिमाल साउथ एसियन म्यागजिनका लागि साथी प्रणेश शाह र म भारतको नागपुर मध्य प्रदेश गएर खिचेको फोटो हो ।

२०६० सालतिरको कुरा हो । त्यो वेला नेपालका केही माइनरिटीका बच्चाहरुलाई फकाइफुलाइ, आमाबाउलाई पैसा दिएर सर्कसका लागि भारत लगिन्थ्यो । यस विषयमा रिपोर्टिङ गर्न हामीलाई एउटा संस्थाले बोलाएपछि प्रहरीको सुरक्षाका साथ गएका थियौं ।

त्यहाँ महाराजा भन्ने सर्कसका व्यक्तिहरुको माफियातन्त्र रहेछ ।

कति ठाउँमा त हामीलाई लखेटे पनि । तर, दुई रात तीन दिन नसुती स्टोरी ग¥यौं । यो फोटो त्यही पीडित बच्चीको हो ।

विशेष गरेर हेटौंडाका बालबालिकालाई त्यहाँ लगिन्थ्यो । सर्कसमा एक्रोबेट गर्ने वेला हात छियाछिया भएर रगताम्य हुन्थ्यो । घाउलाई जीर्ण बनाएर बच्चीहरुलाई यातना दिइन्थ्यो । अनि त्यही घाउमा मैनबत्ती खन्याइदिन्थे । मैनबत्तीले रगत रोकिन्थ्यो । अनि पछि डोरीमा ऊ राम्रोसँग झुण्डिन सक्ने हुन्थी ।

१४ वर्षसम्म सर्कसमा खेलाएर त्यसपछि अधिकांशलाई यौन व्यवसायको दुनियाँमा बेचिन्थ्यो ।

तस्बिर ९ : सुशील कोइराला भागिरहेका वेला

यो चाहिँ सुशील कोइराला भागिरहेको फोटो हो ।

२०६२.६३ सालमा रत्नपार्क आन्दोलनको केन्द्र नै थियो । त्यो वेला मलाई फोटोग्राफी स्टान्डर्ड चाहिन्थ्यो । कहिले रेलिङ चढेर खिच्ने, कहिले कहाँ चढेर खिच्ने गर्थें ।

यो फोटोमा सुशील कोइराला, ठाकुर गैरे र अर्जुननरसिंह केसी छन् ।

रत्नपार्क छेवैको प्रहरी प्रभाग, यता मुस्लिम मस्जिद, अर्कातिर बागबजार, त्यसको पारि शान्ति बाटिका थियो । दरबारतिर जाने बाटो निषेधित थियो । त्यही ठाउँमा खिचेको फोटो हो यो ।

तस्बिर १० : १९ वर्षीया मनिषा कोइरालाको त्यो फोटोसुट

२०४५ सालतिर भर्खर भर्खर फोटो पत्रकारिता सुरु गर्दै थिएँ । मनिषा कोइराला भर्खरै १२ कक्षा पास गरेर नेपाल फकिर्नुभएको थियो । उहाँलाई मैले एउटा विज्ञापनमा देखेको थिएँ । जहाँ उहाँ एकदमै क्युट र इनोसेन्ट देखिनुभएको थियो ।

मलाई ‘रुपरंग’ म्यागजिनका लागि यो मोडेललाई ल्याउन पाए गजब हुन्थ्यो भन्ने लागिरहेको थियो । तर, मलाई थाहा थिएन, उहाँ बीपी कोइरालाको नातिनी हो भनेर । त्यो वेला मैले ठ्याक्कै मनिषाका बुवा प्रकाश कोइरालालाई भेटेको थिएँ ।

मैले उहाँलाई भनें, ‘हाम्रो रुपरंग म्यागजिन छ । तपाईंकी छोरीको फोटोसुट गर्न मन छ । कतिको सम्भव छ ?’

प्रकाश कोइरालाले भन्नुभयो, ‘भाइको नम्बर देऊ न, छोरी मानी भने कलब्याक गर्छु ।’

त्यसको एकदुई हप्तापछि मलाई फोन आयो, ‘मीन भाइ, छोरीले मानिन्, खिच्न आउनुस् ।’

त्यो समयमा जनआन्दोलनको ग्राउण्ड तयार हुँदै थियो । रमण घिमिरे र म झोला बोकेर मनिषाको घरतिर लाग्यौं । त्यो वेला अहिले जस्तो लाइटको सुविधा कहाँ थियो र ? झ्यालमा सिन्क्रोनाइज फ्लास साइड साइडमा राखेर ब्याक लाइटहरु दिएर खिचियो । यो फोटो चाहिँ मलाई एन्टी लाइटमा खिच्न मन भएर खिचेको हो ।

फोटो खिचेपछि ‘रुपरंग’मा मनिषा, पार्वती अधिकारी, निशा शर्मा, निलम केसी, अग्नि गुरुङलगायत पाँचसात जनाको कभर स्टोरी छापिएको थियो ।

यसवेला उहाँले बलिउडमा डेब्यु गर्नुभएको थिएन । यो फोटो स्टोरी आएपछि उहाँलाई ‘फेरि भेटौंला’ भन्ने नेपाली फिल्मबाट अफर आयो । यो फिल्म गरेपछि उहाँ बलिउड जानुभयो, सुवास घईसँग काम गरेपछि उहाँको करियर सुरु भयो ।

‘रुपरंग’ म्यागजिनमा फोटो छापिएपछि उहाँको पहिलो नेपाली फिल्मको सुटिङ पनि सुरु भयो । मलाई पनि सुटिङ रिपोर्ट गर्न आउनु भनेर अफर आयो । म पोखरा गएँ ।

पोखराको डाँडाकाँडामा फोटो खिचेर फर्केपछि म होटेल जान लागेको थिएँ । फिल्मको हिरो प्रकाश अधिकारीले भन्नुभयो, ‘रुम शेयर गरेर मसँगै बसौं । म पनि एक्लै छु । मसँगै मनिषाको रुम पनि छ । बेलुका खाना खाने वेला मौका पायो भने कुरा गर्न पाइन्छ ।’

त्यही हिसाबले होटेलमा रुम शेयर गरेर बसियो । तर, मनिषाको राजनीतिक परिवार भएकाले परिवारको सुरक्षा थियो । बोलचाल हुने कुरै भएन ।

पोखरामा खिचेको फोटो चाहिँ पछि कामना म्यागजिनमा ब्लोअपमा छापियो ।

तस्बिर ११ : हिलारी क्लिन्टनले सिग्नेचर गरेर पठाइदिएको फोटो

यो हिलारी क्लिन्टनले गोल्डेन सिग्नेचर गरेर पठाइदिएको फोटो ।

सन् १९९४ मा नेपाल भ्रमणमा आउँदा एम्बेसीमा खिचेको हो । त्यो वेला उहाँ फस्ट लेडी हुनुहुन्थ्यो ।

यो फोटो एम्बेसीमा खिचिएकाले एम्बेसीमा दिएँ । त्यो वेला एक जना साथी पनि त्यहाँ कार्यरत हुनुहुन्थ्यो । उहाँले फोटो हेरेपछि भन्नुभयो, ‘ओ मीन, ह्वाट अ कलर कम्बिनेसन ! ह्वाट अ कलर हार्मोनी, ह्वाट अ गुड मुड । यो फोटो पठाइदेऊ न, सिग्नेचर गरेर पठाइदिन्छन् ।’

मैले हुलाकमार्फत् दुई वटा फोटो अमेरिका पठाइदिएँ । एउटा उहाँले राख्नुभयो । अर्को मलाई सिग्नेचर गरेर पठाइदिनुभयो । यो चाहिँ सन् १९९६/९७ तिरको कुरा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *