पर्यटन प्रवर्द्धनको हुटहुटीमा लागेकी रचना पन्तको अभियान – Nepal Press

पर्यटन प्रवर्द्धनको हुटहुटीमा लागेकी रचना पन्तको अभियान

विश्वमै पहिलो धार्मिक मार्ग यात्रा बनाउन सुनौली–रुरु–मुक्तिक्षेत्र यात्रा

रुपन्देही । रचना पन्तले सामाजिक, व्यवसायिक तथा पर्यटन प्रवद्र्धन सबै क्षेत्रमा उत्तिकै अनुभव संगालेकी छन् । महिलाले पनि जिम्मेवारी पाए सहजै पूरा गर्नसक्छन् आफ्नो काम भन्ने उदाहरण उनले उद्योग, बस, ट्राभल एजेन्सी संचालन गरेर आफ्नो सफलताको क्षमता देखाएकी छन् ।

धेरै व्यवसायिक र सामाजिक क्षेत्रमा अनुभव लिएर पहिल्लो समय यस क्षेत्रका प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनलाई उनले विशेष अभियानका साथ अगाडि बढाएकी छन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धनमा हुटहुटीका साथ लागेको पहिचान बनाइसकेकी पन्तले सुरु गर्न लागेको शालिग्राम महोत्सव अहिले विशेष चर्चामा छ । विश्वमै पहिलो धार्मिक मार्ग यात्रा बनाउने उनले सुनौली–रुरु–मुक्तिक्षेत्रको यात्रामा सरोकारवालालाई पुर्‍याउने अभियान थालेकी छन् ।

पश्चिम नेपाल बस व्यवसायी समिति, रुपन्देही उद्योग संघ, बुटवल महिला जेसीज, एकता सहकारीलगायतका एक दर्जन सामाजिक संस्थाको विभिन्न जिम्मेवारीको अनुभव लिएकी पन्त दुई वर्षयता नाट्टा लुम्बिनीको अध्यक्ष बनेर पर्यटन क्षेत्रको विकासमा विशेष अभियान संचालन गरेर धेरैको मन जित्ने अभियानमा छन् ।

कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रलाई उनको नेतृत्वमा आएको नाट्टा लुम्बिनीले विभिन्न रचनात्मक कार्यक्रम संचालन गरेर लयमा फर्काउने प्रयास गरिरहेको छ । यस क्षेत्रमा रहेका प्रमुख पर्यटकीय क्षेत्रमा सरोकारवालाको ध्यानाकर्षण गराउने गरी नाट्टा लुम्बिनीले यस्तो अभियान थालेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा सरोकारवालाको ध्यानाकर्षण कार्यक्रम, अंग्रेजलाई हराएको जीतगढी–नुवाकोट पदयात्रा संचालन, पाल्पाको रानीमहल ब्राण्डिङ, तिनाउमा महाआरती अभियानको संचालन, नेपालगन्जको बागेश्वरी र बर्दियाको ठाकुरद्वारामा महाआरती अभियान, रुरु क्षेत्रको शालिग्राम संरक्षण अभियानसहित रेसुङ्गा, पाणिनि, सुपा देउराली, स्वर्गद्वारीलगायतका क्षेत्रको प्रचार अभियान, पाल्पा र बाँकेमा गन्तव्यस्थलमा पुग्ने अभियान संचालन यो बीचमा उनको अगुवाईमा थालिएका पर्यटन प्रवद्र्धनका मुख्य अभियान हुन् । उनले प्रदेशका मुख्य पर्यटकीय गन्तव्यस्थलमा पदयात्रा अभियान संचालन अभियान थालेकी हुन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार अभियानबाट नै पर्यटन क्षेत्रको विकास हुने ठहर गर्दै उनले धार्मिक पर्यटक आकर्षण गर्न नयाँ प्रकारको कार्यक्रमलाई अगाडि बढाएकी हुन् ।

उनको अगुवाई शालिग्राम पर्यटन प्रतिष्ठानले गुल्मी–पाल्पा–स्याङ्जाको संगमस्थल रुरु क्षेत्रमा बैशाख ७ गते शालिग्राम महोत्सव संचालन हुन लागेको छ । रुपन्देहीको दक्षिणी सिमाना बेलहिया–रुरु–मुक्ति क्षेत्रसम्म हुन लागेको धार्मिक पर्यटकीय मार्ग र्याली र पहिलो धाम शालिग्राम महोत्सव वर्ष २०८१ को तयारीमा अहिले पन्त दिनहुँ विभिन्न चरणका काम गरिरहेकी छन् ।

‘कालीगण्डकीको तिरमा रहेका मन्दिर वरिपरी दर्शनार्थीको घुईंचो लगाउने र भारतसहित नेपालका विभिन्न स्थानबाट धार्मिक पर्यटक भित्राउने यो अभियानको मुख्य लक्ष्य हो’ पन्तले सुनाइन् ।

केही महिनाअघि उनले यो योजना सुनाउँदा हाँसेर उडाउनेहरु अहिले बढ्दै गएको माहोलपछि आफै खटिएर लागेको देखेर उनलाई थप ऊर्जा मिलेको छ ।

‘पहिले सबैलाई विश्वास नलाग्ने रहेछ, पहिले नपत्याउनेहरु अहिले हामीलाई दिनहुँ सघाउन थाल्नुभएको छ, धेरै स्थानीय सरकारले यो अभियानमा सहकार्यको प्रस्ताव ल्याउनुभएको छ, यो एउटा सन्देश दिने अभियान हो, प्रचार गर्ने अभियान हो’ पन्तले भनिन् ।

गुल्मीको छत्रकोटमा जन्मिएकी पन्तलाई सानैदेखि समाज र देशका लागि केही न केही गर्नुपर्छ भनेर लागिरहने गरेको बताउँछिन् । २०५६ तिर उनलाई रेडियोमा काम गर्ने रहर रुपन्देहीको रेडियो लुम्विनीमा कार्यक्रम प्रस्तोताको रुपमा प्रवेश गरेपनि छोटो अनुभव लिएर व्यवसायतर्फ लागेकी हुन् ।

विभिन्न क्षेत्रमा काम थालेकी उनलाई सबैभन्दा सन्तुष्टि पर्यटन व्यवसायले दिएको छ । ‘मलाई पैसा र आम्दानी भन्दा पनि नाम र सन्तुष्टि दिएको छ, अझै भन्नुपर्दा मेरो सपना नै थियो यो क्षेत्रमा काम गर्ने, त्यसैले मलाई यसमै आनन्द लागेको छ’ पन्तले भनिन् ।

‘पर्यटन व्यवसायी भएकोले थोरैधेरै सम्वन्धहरु बनिसकेका थिए केही साथीहरुलाई कालीगण्डकीको शिलाको संरक्षण र पर्यटन आकर्षण गर्ने आफ्नो योजना सुनाएपनि पनि विश्वास गरेनन् । तर आफ्नो धर्म र संस्कृति जोगाउंदा जसले जे भनेपनि निरन्तर अगाडि बढेँ, अब यो अभियान सबैको साझा बन्ने चरणमा पुगिसक्यो’ पन्तले भनिन् ।

महिला भएकै कारण काममा रोकिनु नपर्ने तर संघर्ष भने गर्नुपरेको बताउँछिन् । ‘सफलता पाउनका लागि जसले पनि संघर्ष त गर्छ,गर्नैपर्छ तर पाएको सफलतालाई जोगाउन संघर्ष गर्ने निकै कम हुन्छन् । बाहिर मरुभूमिमा श्रम बेचेर प्रशस्त पैसा कमाउन सकिन्छ भने हामी आफ्नो ऐतिहासिक तथ्यलाई सम्वर्द्धन गरेर आस्थाको केन्द्र किन बनाउन सक्दैनौ ? भनेर यो अभियान थालेकी हुँ’ उनले सुनाइन् ।

‘अब अलिकति समन्वय मात्र गरे भने मेरो सपना साकार हुन्छ, सबै क्षेत्रबाट निकै सकारात्मक सन्देश आएको छ’ उनले भनिन्–‘सवैभन्दा आनन्द नदीका किनारमा लाग्छ । जो कोही मानिस नदीको किनारमा पुग्छ उ जीवनको सकारात्मकताबारे सोचेर फर्कन्छ,तर फर्किएपछि लोभ,क्रोध र मोहमा फस्छ र आफूले गरेको संकल्प विर्सन्छ । मेरो एउटै उद्देश्य छ, मानिसहरुमा जीवनको सकरात्मकताको चेत पसोस् र पटकपटक शालिग्रामलाई छोपेर महशुस गरिरहुन् । मेरो यात्रा पनि त्यहीसम्मको हो,र प्राण रहुन्जेल,त्यहाँसम्म नपुगुञ्जेल म थाक्दिन,र यात्रा निरन्तर रहन्छ ।’

रचनाको शालिग्राम महोत्सवलाई अहिले विभिन्न सरकारी तह र संघसंंस्थाहरुले साथ दिने प्रतिवद्धता गरेका छन् ,स्थानीयवासीले हौँस्याइरहेका छन्, कालीगण्डकी किनारका शिलाले छिटो बोलाइरहेका अनुभूति उनलाई भइरहेको छ ।

उनले यो अभियानमा सहकार्य गर्ने स्थानीय सरकार, विभिन्न सामाजिक संघसंस्था सबैलाई मायाको चिनोको रुपमा देवशीला प्रयोग गर्ने वातावरण बनाउने, पहिलो धार्मिक मार्ग यात्रा बनाउने जनाइन् ।

पहिलोपटक सुनौली–रुरुक्षेत्र र रुरु क्षेत्र–मुक्ति क्षेत्रको करिब ३ सय किलोमिटर यात्रा ऐतिहासिक बनाउने उनको योजना छ । पन्तको यो अभियानमा नाट्टा, होटल एशोसियसन, विभिन्न ठाउँका उद्योग वाणिज्य संघ, विभिन्न स्थानीय सरकार तथा अन्य स्थानीय संघसंस्थाले सहकार्य गर्नेभएका छन् ।

यो अभियानलाई विश्वमै पहिलो धार्मिक मार्ग यात्रा भनेर पन्तले नाम राखेकी छन् । ‘एक सीमाबाट अर्को सीमासम्म पहिलो पाइला वा पूर्ण पाइला सबैको ईच्छाशक्तिमा भरपर्ने कुरा हो । बैशाख ७ रुरु क्षेत्र जाऔं, पहिलो धार्मिक मार्ग यात्रालाई सफल बनाऔं’ पन्तले आग्रह गरिन् ।इतिहासका अध्येता अध्यापक युवराज कंडेलका अनुसार प्राचीन इतिहासबारे जान्न खोज्ने हरेक व्यक्ति रुरु क्षेत्रमा पुग्नुपर्ने हुन्छ ।

‘अवध राज्यलाई ब्रिटिशले आफ्नो कब्जामा लिनु अघि र लिएपछिको लामो समयसम्म पूर्वी अवध र विहारको चम्पारणसम्म बुटवलिया वा गोरखपुरी पैसा भनिने चौकुने सिक्क प्रचलनमा थियो । यो पैसा रिडीमा पनि टकमरी हुँदो रहेछ । १५० वर्ष पहिले नेपालको जासुसी गर्न खटिएर पश्चिम नेपालबाट जुम्ला–डोल्पा–मुस्ताङ हुँदै रिडी आइपुगेका सर्भे अफ इन्डियाका डेपुटी सुपरिटेन्ड त्. न्.ःयलतनयmभचष्भ ले आफ्नो पुस्तक ‘जर्नी फ्रम पिथौरागढ इन कुमाउँ…’ पुस्तकमा उल्लेख गरेका छन्. रिडीको त्यो बैभवता बुझ्न पनि रिडी पुग्नुपर्छ शालिग्राम–महोत्सवमा ।’ कंडेलले भनेका छन् ।

इतिहासका जानकार प्राध्यापक कुलराज चालिसेका अनुसार जलवायु परिवर्तन तथा अनुकुलनको शिक्षा लिन कालीगण्डकी प्रस्रवण अत्यन्त अनुकुल प्रदर्शनी स्थल हो । यो प्रस्रवणलाई विश्वस्तरीय बनाउन यो अभियानले विशेष भूमिका खेल्ने उनको भनाइ छ । चालिसेले यो क्षेत्रको प्रचारप्रचारका लागि विभिन्न अध्ययन गरिरहेका छन् ।

‘शालिग्रामको लक्षण पहिचान त्यत्ति सजिलो विषय होइन । तरपनि हिमवतखण्डले नै त्यसको नेतृत्व लिनुपर्छ । अहिलेको पुस्ता जे भनेपनि खुरुक्क पत्याउँदैन । शालिग्रामशिलालाई आध्यात्मिक पर्यटनको केन्द्रमा स्थापित गर्ने हो भने हामीले स्थानीय स्तरमा शालिग्राम गाइड उत्पादन गर्नैपर्छ ।’ चालिसेले भने–‘शालिग्राम महोत्सवको मूल लक्ष्य स्थानीय सरकारलाई शालिग्राम केन्द्रित सीप विकास प्रशिक्षण कार्यक्रम आयोजना गरेर पर्यटनलाई दिगो विकास लक्ष हासिल गर्न रणनीतिक उपयोग गर्न प्रेरित गर्ने हो । दोस्रो प्रयास शालिग्रामशिलाको लक्षण निरुपणमा केन्द्रित हुनेछ ।’

यो क्षेत्रको इतिहासबारे उल्लेख गर्दै चालिसेले लेखेका छन्–‘‘साविकमा कालीगण्डकीले पश्चिमामुख त्रिकोण बनाएको आलम त्रिकोणको शिर्काेण रिडी, कृष्णा प्रस्रवणको नाभीक्षेत्र हो । मिर्मीमा बाँध हालेपछि त्यो नाभीको ऊर्जा उत्पादन क्षमतामा ह्रास आयो । डोल्पाको राडीपाखी पाटलीपुत्रको बजारमा प्रख्यात बनाउने व्यापार केन्द्र रिडीको मकर स्नान विश्व विख्यात थियो । विद्युत् ऊर्जा उत्पादन गर्ने लोभमा कस्मिक ऊर्जाको केन्द्र रिडीमा हामी आफैले छुरा घोपेर घायल बनायौ । शालिग्राम महोत्सव २०८१ त्यही घायल नाभी क्षेत्र आलम त्रिकोणलाई पूनरताजगी गराउने प्रयास हो । आलमदेवीलाई कुलदेवी मान्ने ठकुरी समाजले महोत्सवमा सकृय सहभागिता जनाउनै पर्छ । ठकुरीहरूले कुलदेवीको आशिर्वाद थाप्न चुक्दैनन् भन्ने विश्वास छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर