१० वर्षीय दिलबहादुर कसरी माओवादीको पहिलो शहीद ? क्लासमेट नवीनबाबुकाे यु द्ध अनुभव – Nepal Press

१० वर्षीय दिलबहादुर कसरी माओवादीको पहिलो शहीद ? क्लासमेट नवीनबाबुकाे यु द्ध अनुभव

काठमाडौं । माओवादीले हरेक वर्ष मनाउने जनयुद्ध दिवसमा एउटा मधुरो तस्विर सधैं चर्चाको विषय बन्छ । त्यो तस्विर हो- दिलबहादुर रम्तेलको । १० वर्षकै उमेरमा २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागेर मृत्यु भएका दिलबहादुरलाई माओवादीहरुले प्रथम शहीद भन्ने गर्छन् ।

गाउँले र प्रहरीबीच भएको झडप हेरिरहेका कक्षा ४ का विद्यार्थी दिलबहादुरलाई छातीमा गोली लागेको थियो । उपचार गर्न गोर्खा सदरमुकाम लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । अर्का स्थानीय रामबहादुर भट्टलाई पनि पेटमा गोली लागेको थियो । उनी भने बाँच्न सफल भए । रामबहादुर अहिले पालुङटारमा घडी रेडियो बनाउने पसल चलाएर बसेका छन् ।

दिलबहादुरको ज्यान लिएको त्यो फागुन १४

दिलबहादुरको क्लासमेट थिए, फोटो पत्रकार नवीनबाबु गुरुङ । २८ वर्ष अगाडिको त्यो घटनाको दृश्य अझै तजोताजा छ उनको स्मृतिमा । त्यो स्मृति थप ताजा भने नवीनबाबुले रम्तेलको डकुमेन्ट्री बनाउन कोसिस गर्दा भयो ।

त्यसवेलाका प्रत्यक्षदर्शी गाउँले, तत्कालीन प्रहरीहरुसँग कुराकानी गर्दा उनले थाहा पाए- प्रहरीहरु शिक्षक गुणनिधि देवकोटा र वीरबहादुर गुरुङलाई पक्राउ गर्न गएका रहेछन् । दुवै शिक्षक त्यसवेला गाउँले र विद्यार्थीहरुलाई पनि राजनीतिक रुपमा दीक्षित बनाउने गर्थे ।

प्रहरी आएको थाहा पाएपछि गुणनिधि पढाउँदै गरेको कक्षा कोठाको झ्यालबाट हाम फालेर भागे । सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुरलाई भने प्रहरीले लिएर गए ।

त्यही समयमा आर्मीमा भर्ती हुन छनबहादुर गुरुङ सर्टिफिकेट लिन स्कुल गएका थिए । पहिलो पटक प्रधानाध्यापकलाई १०-१२ जना प्रहरीले लिएर गएको उनैले थाहा पाए । स्कुलमा पनि हाफटाइम भयो । सबै विद्यार्थी स्कुल बाहिर निस्किए । अनि थाहा पाए- हेडसरलाई प्रहरीले समातेर लगे ।

नवीनबाबु भन्छन्, ‘हेडसरलाई प्रहरीले लगेपछि विद्यार्थीहरुले प्रतिकार गरे, छुटाउन खोजे । गाउँलेहरु पनि आए । लफडा सुरु भयो ।’

फागुनको महिना, गाउँलेहरु बाँझो बारी जोतिरहेका थिए । माटोका ठूल्ठूला ढेला निकालिरहेका थिए । त्यही ढेलाले प्रहरीलाई हान्न सुरु गरे । कसैले हँसिया, कोदाली वा जे जे हतियार छ, सबै लिएर आए । बाटोमा प्रहरीले वीरबहादुरलाई लाँदै थिए, माथिबाट विद्यार्थी र गाउँलेले प्रतिकार गरिरहेका थिए ।

‘गाउँमा वीरबहादुर सर सम्मानित हुनुहुन्थ्यो । उहाँलाई प्रहरीले समातेपछि पक्कै मार्छ भन्ने भएर गाउँलेहरु ओर्लिएका थिए । छनबहादुर काका दगुरेर हाम्रो ब्रह्मचारिणी निमाविको डिलमा आएर कराउनुभयो, ‘ल है गाउँलेहरु, वीरबहादुर काकालाई प्रहरीले समात्यो, आउनुपर्‍यो’, यसपछि हाम्रो गाउँका सबै गाउँले पनि उर्लिए । उता त पल्लो गाउँका गाउँले र विद्यार्थीहरुले लखेटिरहेकै थिए ।’

गाउँलेहरु चिच्याए, ‘सरलाई छाडिदे !’

वीरबहादुरले भने, ‘मलाई छाडिदेऊ, म फर्किहाल्छु ।’

तर, वीरबहादुरको कुरा न विद्यार्थीले माने न त गाउँलेले । नवीनबाबुको गाउँमा अवकास प्राप्त आर्मी र प्रहरीहरु थुप्रो थिए । उनीहरु हतियार खेलाउन जान्नेहरु भए । नवीनबाबुको स्कुलबाट पनि शिक्षक र विद्यार्थीहरु हातहातमा ढुंगा लिएर गए । रम्तेल पनि गाउँलेको पछिपछि गए ।

वीरबहादुरलाई पक्रिएर गाउँलेसँग लफडा गर्दै प्रहरीहरु नवीनबाबुको गाउँतिर आए । उताबाट पनि गाउँलेले प्रहरीहरुलाई लखेटिरहेका थिए । यताबाट पनि गाउँले र विद्यार्थीले बाटो छेके । प्रहरीहरु अप्ठेरोमा परे ।

‘प्रहरीहरुले वीरबहादुर सरलाई घ्याम्पे साल भन्ने ठाउँमा लिएर जाँदै थिएँ । त्यहाँ जानलाई सटकट बाटो हाम्रै गाउँको थियो । त्यसैले प्रहरीहरु बीचमा परे’, नवीनबाबु सम्झन्छन् ।

दुवैतिरबाट चेपुवामा परेपछि प्रहरीहरुले हवाई फायर गर्न थाले । सुरुमा प्लास्टिकको गोली हाने । यसपछि स्थिति झन तनावपूर्ण बन्यो । विद्यार्थी र गाउँलेहरुले वीरबहादुरलाई प्रहरीबाट खोसे ।

यसपछि भने प्रहरीले साँच्चैको गोली हान्यो । किनभने गाउँलेहरु प्रहरीसँग भिड्न तयार भए । तर, प्रहरीले त्यति धेरै गाउँलेसँग लड्न सक्ने अवस्था थिएन । अनि राइफल चलाए । साँच्चैको गोली चलाएपछि भागाभाग भयो । कोही बारीको गह्राको कुनातिर लुके ।

नवीनबाबु भन्छन्, ‘दिलबहादुर चाहिँ परालको टौवामा बसेर हेरिरहेका रहेछन् । उसलाई त्यहीबाट प्रहरीले चरा खसाले झैं खसालेछन् । लड्ने मान्छेहरु भागे, हेर्ने मान्छे चाहिँ गोली लागेर खसे ।’

दिलबहादुर त्यहाँ पुग्नुको कारण भने एकै थियो, उसको घर जाने बाटो नै त्यही थियो ।

घरभन्दा मुनि लगेर प्रहरीले गोली ठोकेका गुणनिधि सर

नवीनबाबुको गाउँ पहिलोको पान्द्रुङ गाविस अहिले बारपाक चुलिकोट गाउँपालिका- ८ बनेको छ । नवीनबाबुको साविकको गाविसको वडा नम्बर २ थियो भने दिलबहादुरको ३ । २ नम्बर वडामा भने ब्रह्मचारिणी निमावि थियो ।

२०५२ साल फागुन १ गते माओवादीले जनयुद्ध घोषणा गर्‍यो । देशका विभिन्न ठाउँमा हमला पनि गर्‍यो । गोर्खामा पनि पालुङटारस्थित कृषि विकास बैंक हमला गरेको थियो ।

नवीनबाबुका अनुसार फागुन १ बाट जनयुद्धको घोषणा गरे पनि गोर्खामा भने माओवादीहरु पहिलेदेखि नै सक्रिय थिए । गाउँलेहरु पनि राजनीतिक रुपमा निकै सचेत थिए । यसमा वीरबहादुर, गुणनिधिलगायत शिक्षकहरुको योगदान थियो ।

माओवादी सक्रिय भएका कारणले पनि गाउँलेहरु प्रहरी भन्नासाथ हच्किने गर्थे ।

यही कारण पनि वीरबहादुरलाई समात्दा सिंगो गाउँले उर्लिएका थिए । विद्यालयमा पढाउँदै गर्दा झ्यालबाट भागेका गुणनिधिलाई भने अर्को साल २०५३ साल असार २३ गते प्रहरीले घरबाटै समातेर लगेर घरभन्दा मुनि गोली ठोकेर मारे ।

दिलबहादुर र गुणनिधिको मृत्युले सुनसान बनेको गाउँ

दिलबहादुरको हत्यापछि वीरबहादुलाई गोर्खा सदरमुकाम लगियो ।

‘पछि केही समयपछि उहाँ छुट्नुभयो । उहाँ छुट्दा गाउँका मान्छेहरु माला उनेर बसेका थिए, कहिले छुट्छ र स्वागत गरौं भनेर । तर, सदरमुकामबाट हिँडेर उहाँ गाउँ आइपुग्दा रात परिसकेको थियो’, त्यसवेलाको गाउँलेको मनस्थिति सम्झन्छन्, ‘दिलबहादुर निर्दोष मान्छेलाई प्रहरीले मार्‍यो भन्ने थियो । प्रहरीले अत्याचार गर्‍यो भन्ने बुझाइ थियो गाउँलेको ।’

दिलबहादुरको छातीमा गोली दागिएपछि गाउँमा बलिया, गरिखाने खालका मान्छेहरु कोही पनि देखापर्दैन थिए । दिनभर लुकीलुकी घरको काम गर्थे । दिउँसै भात खान्थे । राति भाग्थे । गाउँमा बाँकी रहेका केटाकेटी र महिलाहरु एउटा घरमा जम्मा भएर दिउँसै ढोका लगाएर सुत्थे ।

यसपछि गाउँलेहरु माओवादीमा जाने संख्या पनि बढेर गयो । नवीनबाबुका अनुसार कोही जबरजस्ती लगिए । कोही रिसराग र प्रतिशोधका कारण गए । कोही लोभलालचमा गए । कोही बाध्यताले गए ।

झनै गुणनिधिको हत्यापछि त गाउँ असाध्यै त्रसित बनेको नवीनबाबुको सम्झना छ ।

उनी सम्झन्छन्, ‘यस घटनापछि त उमेर भएका मान्छेहरु गाउँमा बस्नै छाडे । जसलाई पनि जतिखेर पनि मार्नसक्ने अवस्था आयो । उनीहरु रातभरि ओढार, गोठ र रुखका टुप्पातिर गएर बस्थे ।’

यो आतंक जनयुद्धकालभरि नै रह्यो नवीनबाबुको सानो गाउँमा । नवीनबाबुकै स्कुलबाट माओवादी बनेकी थिइन् कौशिला गुरुङ । उनी लमजुङ जनसरकार उपप्रमुख पनि बनेकी थिइन् । उनी सुतिरहेको वेला आर्मीले लखेट्यो । अरु दुई जना माओवादी भागे । उनी पनि भाग्दै गर्दा गुन्यु अल्झिएर झिक्दै गर्दा गोली लाग्यो ।

नवीनबाबु भन्छन्, ‘हाम्रो गाउँमा हरेक घरबाट एक न एक जना कोही आर्मी, कोही पुलिस र कोही माओवादी थिए । यसकारण पनि चेपुवामा परे ।’

दिलबहादुर र नवीनबाबुसँगै पढेका सुकमान बराम २०६० सालतिर आर्मीमा भर्ती भएका थिए संकटकालमा । उनलाई रुकुम रोल्पातिर हेलिकोप्टरबाट झर्दाझर्दै माओवादीले मारिदिए ।

छोराको सम्झनामा

नवीनबाबुलाई लाग्छ, सारा संसार नै झूटको खेती हो । यसको एकै कारण हो, जहिल्यै पनि परिवर्तन, क्रान्ति, युद्धको नाममा निर्दोष मान्छे मात्रै मारिन्छ ।

उनी भन्छन्, ‘अवोध मान्छेलाई मात्रै मार्दोरहेछ । कौशिला गुरुङलाई गुन्यु तगारोमा अल्झिँदा गोली लाग्यो । जनयुद्धमै पनि टाठोबाठो मान्छे मरेन । उनीहरु अहिले पनि राजनीति गरिरहेका छन् । टाउकोमा बसेर खाइरहेका छन् । मर्नेहरु अधिकांश त गाउँघरका अनपढ, दलित, जनजातिमात्रै थिए ।’

अहिले गाउँमा दिलबहादुरको नाममा स्मृति पार्क बनाइएको छ ।

डकुमेन्ट्री वा त्यस्तै केही बनाउने सोचले नवीनबाबुले दिलबहादुरको आमा र बाउलाई दुईतीन पटक भेटे । एक पटक नवीनबाबुले दिलबहादुरकी आमालाई भने, ‘तपाईंको कान्छा छोरा र म सँगै पढेको हो नि !’

आमाले रुँदै भनेकी थिइन्, ‘अहिले बाँचेको भए मेरो कान्छा पनि यत्रै हुँदो हो । हामीलाई बाउआमा भनेर कहाँ कहाँ घुमाउन पुर्‍याउँथ्यो होला ।’

नवीनबाबु भन्छन्, ‘सँगै पढेको साथी आयो, मेरो छोरा चाहिँ गोली लागेर मर्‍यो भनेर रोएकी थिइन् होला । त्यतिका समयमा बिर्सिसकिन् कि लागेको थियो । तर, आफ्नो बच्चाको माया र सम्झना कतै न कतै हुँदो रहेछ !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *