दुर्घटना न्यूनीकरण गर्न बस व्यवसायीको अभियान- चालकलाई पालैपालो तालिम, नआउनेलाई सवारी चलाउन राेक – Nepal Press

दुर्घटना न्यूनीकरण गर्न बस व्यवसायीको अभियान- चालकलाई पालैपालो तालिम, नआउनेलाई सवारी चलाउन राेक

रुपन्देही । देशभर सवारी दुर्घटना बढिरहेको समयमा २ हजारभन्दा बढी यात्रुबाहक साधन संचालन गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले सबै रुटका चालक र सहचालकहरुलाई पालैपालो विज्ञहरुसँग राखेर प्रशिक्षण चलाएको छ ।

हरेक दिन २ सयभन्दा बढी चालक र सहचालकलाई राखेर तीन दिनयता नियमित दिइएको यसप्रकारको प्रशिक्षणमा सहभागीहरुले ध्यानपूर्वक विज्ञहरुका सुझाव ग्रहण गरिरहेका छन् ।

सबै मजदुर संगठनका प्रतिनिधि, व्यवसायीका प्रतिनिधि र नियामक निकायलाई साक्षी राखेर दिइएको यो प्रशिक्षणमा बसेका चालकहरुले नयाँ कार्ड पाउने र त्यो कार्ड नभए देशैभरी यातायातका साधन चलाउन नपाउनेगरी नियम बनाइएको छ । यस्तो कडाईका साथ नियम बनाएपछि धेरै चालकहरु यस्तो तालिममा बस्ने र त्यो कार्ड लिन थालेका हुन् ।

सवारी चालक तथा परिचालकहरूलाई मजदुर क्षेत्रमा लामो समय काम गरेका अनुभवीहरु मात्रै होइन नियामक निकायमा रहेका व्यक्तिहरुले उनीहरुलाई कानुनी र व्यवहारिक विषयमा प्रशिक्षण चलाइरहेका छन् । बैशाख महिनाको चर्को गर्मीका बावजुत तालिममा सहभागीहरुले त्यसको कुनै वास्ता नगरी ध्यानपूर्वक दुर्घटना कम गर्ने उपायहरु सुनिरहेका देखिन्थे ।

सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित संचालन गरिएको प्रशिक्षणमा सहभागी प्रशिक्षकले सवारी दुर्घटना हुनुका पछाडि यात्रु, अन्य सडक प्रयोगकर्ता, सवारी साधन, भौगोलिक तथा सडकको अवस्था, छाडा चौपाया, मौसमलगायत धेरै कारण हुने भए पनि सवारी साधनको चाबी चालकको हातमा हुने भएकोले जिम्मेवारी पनि धेरै चालककै हुने बताएका छन् ।

उनीहरुले सडक र सवारी साधनको अवस्था र यात्रुहरूको मनोविज्ञानलाई बुझेर गाडी चलाउने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिने बताउँदै सवारी धनी, यात्रु र चालकलाई एकरूपतामा नहेर्दासम्म सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भएकाले सवारी सहजीकरण, यात्रुमैत्री र सुरक्षित यात्राका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको सुझाव दिएका छन् ।

ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले दुर्घटनाका ५ कारकमध्ये चालक तथा सहचालकले तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन, नियम पालना, हेलमेट र सिटबेल्ट अनिवार्य र गलत दिशाबाट ओभरटेक नगरे धेरै घटना कम हुने बताउँछिन् ।

‘जे कारणले घटना हुने भएपनि चावि र ब्रेक साथमा भएकोले मुख्य जिम्मेवारी चालक र सहचालकको हुन्छ, उत्कृष्ट पेशामा छु भन्ने महशुस गराउनुपर्यो, सधैं एकै गतिमा हिंड्ने सबै पिढीको गुरु हो, सबै भविश्य मेरो हातमा छ भन्ने बुझ्नुपर्यो’ उनले भनिन्–‘गर्भदेखि चिहानसम्मको हरेक ठाउँमा पुग्नेपुराउने जिम्मेवारीलाई कम नआँकौं ।’

‘प्रसव पीडा, जन्मेपछि घरअस्पताल, अध्यापन, जीवनका हरेक गति र अन्तेष्टिसम्मका सबै काममा पुराउने जिम्मेवारी तपाईहरुको हातमा छ । तर यो पेशालाई किन मर्यादित बनाउन सकिएन ? तपाईहरु समाजले कम महत्व दिएका गुरुहरु हुनुहुन्छ अब आफू पनि अनुशासनमा रहने र अरुलाई पनि सिकाउने गर्नुपर्यो’ पाण्डेले भनिन् ।

’हात,खुट्टा र दिमागको एकैपटक प्रयोग गर्नुपर्ने पेशा हो चालकको । जीवन जोगाउने र बचाउने मुख्य जिम्मेवारी छ । यात्रु, नियामक निकाय सबैलाई सचेत बनाउनुपर्ने छ, हरेक यात्रुले टिकट काटेर सबै जीवन चालकलाई सुम्पेको हुन्छ, घर, यातायात र सहचालकलाई चलाएको सम्झनुपर्यो, खान हुने,बोल्न हुने सिक्न मिल्ने कुरा सहचालकलाई सिकाउनुपर्यो’ उनले भनिन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले धार्मिक कार्य, जन्म र मृत्युपछिको दाहसंस्कारको लागि समेत सवारी चालकको भरमा यात्रा गर्नुपर्ने भएकोले यो पेशा मात्र नभई पुण्यको काम भएको उल्लेख गर्दै पेशालाई सम्मानित बनाइरहने दायित्व चालकहरूको हातमा रहेको बताए ।

उनले प्रालिले चालक तथा मजदुरहरूको श्रमको सम्मान गर्ने सवालमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै चालकहरूकै आर्थिक सुरक्षाको लागि दुर्घटना बीमासँगै जीवन बीमाको योजना अगाडि सारिएको बताए ।

प्रालिले आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समिति गठन गरी २०६६ सालदेखि नियमित रूपमा चालक केन्द्रित प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समितिका संयोजक नारायण प्रसाद घिमिरेले १५ वर्षसम्म नियमित प्रशिक्षण सञ्चालन गर्दा प्रालिमा आबद्ध सवारी साधनहरूको दुर्घटना १५ प्रतिशतले न्यूनीकरण गर्न सकिएको बताए ।

घिमिरेले यो अवधिमा ८ हजारभन्दा बढी चालक तथा परिचालकलाई प्रशिक्षण दिइएको दाबी गरे । घिमिरेले प्रालिमा बोलाएर दिइने यसप्रकारको प्रशिक्षण सामान्य मानिए पनि महत्वपूर्ण रहेको बताए । नेपाल स्वतन्त्र मजदुर संगठनका हुमबहादुर क्षेत्रीले हरेक जिम्मेवारी चालकको काँधमा पर्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे ।

समितिका संचालक नारायण घिमिरेले घटना हुन्छ तर दोषी म मात्रै होइन भन्ने बुझेर अगाडि बढ्नुपर्ने बताउँदै अब एक ठाउँमा गल्ती गरेर अन्त चलाउन नपाइनेगरी कार्ड वितरण गरिने बताए । चार दिन लगातार फरक फरक रूटमा रहेका चालक सहभागी र हरेक दिन २ सयभन्दा बढी सहभागी भएको यसप्रकारको तालिमलाई नियमित बनाउने समितिले जनाएको छ ।

प्रालिका संचालक तथा दुर्घटना न्युनिकरण अभियानका सचिव जितेन्द्र खत्रीले सिकाइ निरन्तर हुने तर्क दिँदै स्वरोजगार चालक बन्न प्रशिक्षण फाइदाजनक भएको बताए । तालिममा सहभागी सुनौली पोखरा रुटका योगेश पुनले यो तालिमले आफूलाई धेरै व्यवहारिक ज्ञान दिएको सुनाए ।

‘जाने जानेजस्तो लाग्ने तर आफैले कमजोरी गर्नसकिने धेरै विषयमा ज्ञान भयो, यस्तो तालिमले अझै धेरै जिम्मेवारी दिएको महशुस गराएको छ’ उनले भने । बुटवल–काठमाण्डौ रुटका चालक कौशलराज न्यौपानेले सबै क्षेत्रका विज्ञहरुसँग बसेर दिएको प्रशिक्षणले आफूलाई धेरै ज्ञान थपेको बताए । ‘हामीले अन्य क्षेत्रका जानकारसँग पनि धेरै विषय बुझ्न पाइयो, हामीलाई गल्ती गर्ने छुट छैन भन्ने महशुस गरायो’ न्यौपानेले सुनाए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक प्रयोग सम्बन्धी जानकारी दिँदै दुर्घटना न्यूनीकरणमा चालकको भूमिका र प्रतिबद्धता महत्वपूर्ण हुने बताइन् ।

उनले सार्वजनिक सवारी साधनको स्टेयरिङमा बसेपछि यात्रा गर्ने सबै यात्रुहरू मेरै आफन्तहरू हुन् र उनलाई सकुशल गन्तव्यमा पु¥याउने जिम्मेवारी मेरो हो भन्ने बुझेर सवारी साधन चलाउने हो भने दुर्घटना कम गर्न सकिने बताइन् ।

जीवनयापनको लागि गरिने जुनसुकै पेशा तथा व्यवसायमध्ये सवारी चालक पेशा सबभन्दा महत्वपूर्ण पेशा रहेकोले यसलाई सबभन्दा सम्मानित पेशा बनाउने जिम्मेवारी चालकहरूको रहने बताइन् ।

पाण्डेले सडकमा पर्खिएर बसेका एक दुईजना यात्रुलाई भेट्टाउने नाममा गरिने अस्वस्थ प्रतिष्पर्धाका कारण दुर्घटनाको जोखिम बढ्ने भएकोले यात्रु भेट्टाउने नाममा प्रतिस्पर्धात्मक चालक नबन्न सुझाव दिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर