सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा (भिडिओ) – Nepal Press

सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा (भिडिओ)

जनकपुरधाम । फागुन प्रतिपदामा सुरू भएको १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको छ ।

आइतबार आइपुगेको परिक्रमा टोली राति जनकपुरधाममै विश्राम गरी आज अन्तरगृह परिक्रमा गरेको हो । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् । साधु सन्त, महन्थ र श्रद्धालुहरू राम-जानकीको डोला लिएर जनकपुरधामको अन्तरगृह परिक्रमा गरे । अन्तरगृह परिक्रमाको दूरी ५ कोष छ । त्यसैले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू-भागको पदयात्रा गरिन्छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रमा रहेका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भन्ने चलन छ । यो परिक्रमामा सहभागी हुनेको मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

परिक्रमामा सहभागीहरूले आज गरिब तथा विपन्नलाई दान गर्नुपर्ने मान्यता पनि छ । दान थाप्न सडक पेटीमा बसेकाहरूलाई यात्रीहरूले चामल र नगद दान गरिरहेका हुन्छन् ।

फागुन औँसीदेखि धनुषा मिथिला विहारी नगरपालिकाको ठेरा कचुरी स्थित मिथिला विहारी मठबाट राम जानकीको डोला र जनकपुरधामको अग्नि कुण्ड लगायतका मठबाट ल्याएका जानकीजीका डोलाहरूलाई समावेश गरी परिक्रमाको यात्रा सुरू गरिएको थियो । अनेकतामा एकताको विशिष्ट उदाहरणका रूपमा यो परिक्रमालाई लिइन्छ ।

परिक्रमा यात्री १५ दिनमा नेपाल र भारतका विभिन्न १५ पडावमा रात बिताउँछन् । उनीहरु खाली खुट्टा १३३ किलोमिटर यात्रा गर्छन् । यो परिक्रमामा हरेक जातजातीका व्यक्ति सहभागी हुन्छ । र, उनीहरु एकै स्थानमा बसेर रामनाम जप्ने भएकाले सामाजिक सद्भाव कायम राख्न र कसैले कसैसंग विभेद गर्न नहुने सन्देश पनि दिन्छ ।

यस प्रकारको धार्मिक आस्थाका कारण नेपालका कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सामेल हुन्छ । ‘जय सिया राम, जय सीताराम’को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु श्री मिथिला विहारीका डोलाका पछिपछि श्रद्धा भक्तिका साथ परिक्रमा गरिहरेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ ।

सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्र स्थललाई केन्द्र मानी श्रद्धापूर्वक चार दिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक यात्रा हो । हिन्दूधर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्त्व रहेको छ । वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्र स्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ ।

जनकपुरधाममा मंगलबार होली

तराई/मधेशमा आज हर्षोल्लास पूर्वक होली पर्व मनाइँदैछ । तर जनकपुरधाममा मंगलबार होली पर्व मनाइने साधुसन्तहरु बताउँछन् ।

अन्तरगृह परिक्रमाको बिहान जनकपुरधाममा होली मनाउने धार्मिक मान्यता छ । सो अनुसार जनकपुरधाममा मंगलबार होली मनाइने जानकी मन्दिरका छोटा महन्त रामरोषण दासको तर्क छ । जनकपुरधामबासी भने बुधबार होली मनाउन तयार छैनन् ।

जनकपुरधामका अधिकांशले ‘मंगलवारी ब्रत’ गर्छन् । ब्रत गर्नेहरु माछा मासु र मदिरा मंगलबार खादैनन् । त्यसैले उनीहरु बुधबार होली मनाउने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *