साउदीमा कोमामा पुगेर बाँचेका भुजेल स्वदेश फर्किए, एनआरएनको पहलमा भयो उद्धार – Nepal Press

साउदीमा कोमामा पुगेर बाँचेका भुजेल स्वदेश फर्किए, एनआरएनको पहलमा भयो उद्धार

काठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्ने सपना बोकेर वैदेशिक रोजगारीलाई साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल ।

तर, भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । परिवारमा खुशी ल्याउने इच्छा पालेर त्यहाँ पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्‍यो ।

साथीभाइको सहयोगमा गैरकानूनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भुजेल कामकै क्रममा दुर्घटनामा परे । स्थानीय अस्पतालमा भर्ना भएर उनले साढे दुई बर्षसम्म उपचार गरे । । तीन महिनासम्म त भुजेल कोमामा परेका थिए ।

परदेशमा बेखर्ची रहेका भुजेललाई अस्पतालले दुई करोड ५० लाख (८ लाख २३ हजार रिहाद) को बिल थमाईदियो । खानबस्न समेत समस्यामा परेका भुजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए ।

बिल तिर्न नसक्ने भएपछि रियादस्थित फ्यामेली केयर अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दाका कारण भुजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे । विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे ।

दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो । दूतावासको विशेष पहलकदमीपछि अस्पतालले भुजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो ।

भुजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रुपमा निकै कमजोर रहेका भुजेलको सहयोगको लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्‍यो तर उनको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो ।

संघको कोभिड-१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालन समेत गरेको थियो ।

विराटनगरबाट घरसम्म जानका लागि गाडीको व्यवस्था संघले मिलाएको थियो । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुनःस्थापना कार्यक्रमअन्तर्गत भुजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो ।

उनको आर्थिक अवस्था नाजुक रहेको छ । वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को ब्याजमा ऋण लिएका भुजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ ।

परिवारसँगको भेटपछि प्रसन्न देखिएका भुजेल अब के गर्ने भनेर चिन्तित छन् । अहिले उनको ठूलो चिन्ता साहुको ऋण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, ‘जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ ।’

संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले वैदेशिक रोजगारीका क्रममा अलपत्रमा परेका नेपाली श्रमिकलाई राहत तथा उद्दारको काम जारी रहेको बताए ।

उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०२० देखि हालसम्म कोभिड-१९ का कारणले मध्यपूर्वका विभिन्न देशहरु तथा मलेसिया लगायतका देशहरुमा समस्यामा परेका १७,००० भन्दा बढी नेपाली श्रमिकहरुलाई राहत तथा उद्धार सम्बन्धि सहयोग पुर्‍याएको कुरा ब्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *