ईपीएस भाषा परीक्षा आवेदनमा नयाँ नियम लागू – Nepal Press

ईपीएस भाषा परीक्षा आवेदनमा नयाँ नियम लागू

काठमाडौं । अब कोरियाले माग गरेको कामदार कोटाको आधारमा मात्रै ईपीएस कोरियाको भाषा परीक्षाको आवेदन दिन पाउने भएका छन् । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउँथे ।

नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बरभन्दा बढीले ईपीएसको आवेदन भर्न पाउँदैनन् । अर्थात् १० हजार कामदारको कोटा खुलेमा १० हजारको तेब्बर ३० हजारभन्दा बढीले परीक्षामा सहभागी हुन पाउँदैनन् ।

ईपीएस कोरिया शाखा प्रमुख कमल श्रेष्ठका अनुसार ईपीएस परिक्षाका लागि आवेदन प्रणालीमात्रै परिवर्तन गरिएको छ ।

श्रेष्ठले भने, ‘कोरिया जान चाहने सबैले परिक्षा दिन नपाउने भन्ने होइन । आवेदन दिने प्रणालीमात्रै परिवर्तन गरिएको हो । जसमा केरियाले माग गरेको कामदर संख्याको तेब्बरसम्म आवेदन परेमा स्वत: त्यसपछिकाले आवेदन भर्न पाउने छैनन् । सिस्टम आफैं बन्द हुनेछ ।’

अधिकांश देशहरूमा अत्यधिक मात्रामा आवेदन पर्ने भएकाले त्यसलाई व्यवस्था गर्न नयाँ नियम लागू भएको उनले सुनाए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपालबाट वर्षेनी हजारौंको संख्यामा कामदार कोरिया जाने गर्छन् । कोरियाले नेपालबाट मेन्युफेक्चरिङ, सीपबिल्डिङ, कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदै आएको छ । अब फरेस्ट्री, सर्भिस र रुट इन्डस्ट्रिज सेक्टलाई पनि थप्न प्रस्ताव गरिएको छ । एक वर्षमा कुनै एउटा सेक्टरमा मात्रै आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।

तर, गत मंसिरमा १५ हजार कामदारको कोटामा १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेको थियो । अहिले उनीहरूलाई ३ चरणमा परीक्षा दिलाउने व्यवस्था मिलाइएको छ ।

अहिलेसम्म एउटै सेक्टरमा परीक्षा गराइँदा मात्रै ५ देखि १० गुणा बढीले आवदेन दिने गरेका छन् । अब तेब्बरभन्दा बढीले मात्रै आवेदन दिन पाउने भएपछि वर्षैौंदेखि कोरिया जान तयारी गरिरहेकाहरूलाई अझै कुर्नुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *