अमेरिकामा नेपाली मूलका व्यवसायी संगठित – Nepal Press

अमेरिकामा नेपाली मूलका व्यवसायी संगठित

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू संगठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन् ।

न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरू संलग्न रहेको यो संस्थामा ७४ वटा व्यावसायिक कम्पनी आबद्ध भएका छन् ।

एक वर्षसम्मको तयारीपछि गरिएको साधारण सभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूयोर्कमा गरिएको कार्यक्रममा संस्थाको कार्यसमितिसहित आधिकारिक घोषणा गरिएको हो ।

समितिमा छेपाक दोर्जे गुरुङ, छिरिंग गुरुङ, डा. सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्री र निश्चल बाँस्कोटा सदस्य रहेका छन् ।

संयुक्त राष्ट् संघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि एवं राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको घोषणा सभामा नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क राज्य एसेम्बली मेम्बर स्टिभेन रागा, क्विन्स बोरो डेपुटि प्रेसिडेन्ट ईबोनि योंग, न्युयोर्क सिटी मेयर अफिस स्मल विजिनेश सर्भिसका डेपुटि डाइरेक्टर हरिस खान, सुप्रिम कोर्ट जज कासान्द्रा जोनसनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदानसहितको घोषणा सभामा चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले न्यूयोर्क आसपासमा रहेका नेपाली मूलका व्यवसायीहरूले भोग्नु परेको समस्यालाई संगठित ढंगले हल गर्न संस्था गठन गरिएको बताए ।

उनले यो आसपासमा एक हजार भन्दा बढी नेपाली मूलका व्यवसायीहरू रहेको भन्दै सबैलाई संस्थामा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

त्यस्तै प्रमुख अतिथि राजदूत थापाले नेपालमा लगानीको वातावरण बनेको भन्दै यहाँको सिप र लगानीलाई नेपालमा विस्तार गर्न आग्रह गरे । उनले आसन्न लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै व्यवसायीहरूलाई जस्तो सुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी दिए ।

करिब दुई वर्षको अनौपचारिक छलफल र कानुनी प्रक्रिया पूरा गरी गत मार्च २४, २०२४ मा संस्थाले पहिलो साधारण सभा सम्पन्न गरेको हो । संस्थाले आठ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा अमित प्रताप शाह, ग्याल्जेन नुरु शेर्पा, खगेन्द्र जिसी, मनिता देवि गुरुङ, नवराज केसी, पासांग नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर