युएईमा आएको बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु – Nepal Press

युएईमा आएको बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु

युएई । संयुक्त अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको छ । भरतपुर १५ सूर्यनगर चितवनका मोहन पुनको बाढीमा परी मृत्यु भएको नेपाली दुतावास आबुधावीले पुष्टी गरेको छ ।

२० महिना पहिले भिजिट भिसामा युएई आएर सारजाह र फुजेराह राज्यको सीमा क्षेत्रमा रहेको वेल क्याफे (ओसुफ क्याफे कम्पनीको भिसामा) मा कार्यरत मोहन बुधबार मध्यरातदेखि संपर्कविहीन भएका थिए । मंगलबार आफुहरु बस्दै आएको क्षेत्रमा वर्षा भएकोबारे आफ्नै फेसबूक मार्फत लाइभ गरेका मोहनले पुनः युएईको समय अनुसार राती १ बजे बाढी आएर आफूहरुलाई बगाउन लागेको आफ्नो श्रीमतीलाई म्यासेज गरेर जानकारी दिएका थिए ।

युएईका विभिन्न भागमा मंगलबार र बुधबार अविरल वर्षा भएको थियो । वर्षाका कारण केही भागमा डुबान तथा ओमानसँग बोर्डर जोडीएको क्षेत्र तथा चट्टान पहाडी क्षेत्रबाट आएको बाढी केही तटहरु तोडेर वस्तीभित्र छिरेको थियो ।

सोही बाढी सारजाहको अलमदाम क्षेत्रमा बस्दै आएका मोहन बस्ने बस्तीमा पसेर उनी सँगैं अन्य दुई घानाका नागरिकलाई समेत बगाएर लगेको र बुधबार दिउँसो २ बजे मात्रै ३ जनाको शव भेटेको कम्पनी संचालकले आफूहरुलाई जानकारी गराएको युएईमै कार्यरत मृतकका जेठान सुर्य रानामगरले नेपालप्रेस लाई जानकारी दिए । सुर्यका अनुसार मोहन अर्को महिना घरविदामा जाने तयारीमा थिए । मृतकको एक श्रीमती सहित ३ वर्षीया छोरीसमेत रहेको परिवारले जनाएको छ ।

मोहन युएईको शारजाहबाट फुजेराहा जाने बाटोमा रहेको पुल नजिक वेल क्याफेमा रेष्टुरेन्टुमा काम गर्ने गरेको नेपाली दुतावास आबुधावीका श्रम काउन्सिलर दिनबन्दु सुवेदीले जानकारी दिए ।

युएईमा दुई दिन परेको बर्षाका कारण ठाउँ ठाउँमा बाढी आएको हो । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जनाएको छ । मृतकको शब सारजाहको अल दहिद अस्पतालमा राखिएको आफन्तको भनाइ छ ।

सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर