बालुवा तस्करको आक्रमणमा २ प्रहरी घाइते – Nepal Press

बालुवा तस्करको आक्रमणमा २ प्रहरी घाइते

जनकपुरधाम । पर्साको जगरनाथपुर गाउँपालिका १ स्थित ओरिया खोलामा बालुवा उत्खनन गरिरहेका भारतीय तस्कर र सशस्त्र प्रहरीबीच शुक्रवार झडप भएको छ । झडपका क्रममा दुई सशस्त्र प्रहरी घाईते भएका हुन् ।

उत्खनन रोक्न सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोली पुगेको थियो । आक्रमणमा सशस्त्र प्रहरीद्वय आयुष यादव र नरेश यादव घाइते भएका छन् । ट्याक्टर नियन्त्रणमा लिने क्रममा भारतीय गाउँ गदियानी भंगाहाका बालुवा तस्करहरूले ढुंगा, लाठी र बेल्चाले आक्रमण गर्दा दुवैजना घाइते भएका छन् ।

घाइते दुवैजनाको अहिले वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । नियन्त्रणमा लिएको तीनवटा ट्याक्टर प्रहरीबाट खोसेर तस्कर भागेको बताइएको छ । सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमले अहिले अवस्था सामान्य भइसकेको बताए ।

जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ भन्छन्, ‘ओरिया खोला नेपाल-भारत सीमा क्षेत्रमा पर्छ । भारतमा पर्दैन । तर जहिल्यै भारतीयले ज्यादती गर्छन् । आज सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थाहा पाएँ । यसअघि इन्सपेक्टरको पनि टाउँको फोडेको थियो । कैयौं नेपालीमाथि पनि आक्रमण गरेका छन् ।’

उनका अनुसार खोला दशगजा क्षेत्रमा परेको तर भारतीय तस्करहरू नेपाली भूमिमा पर्ने नदीमा आएर बालुवा उत्खनन गरी लग्ने गर्छन् । ‘खोला नेपालमा रहेकाले संरक्षणका लागि हेरचाह गर्न मान्छे पनि राखेका थियौं’, उनले भने, ‘तर भारतीयले पटक पटक आक्रमण गरेर भगाइदियो ।’भारतीयको ज्यादतीले सो क्षेत्रका नेपाली हैरान बनेको उनको भनाइ छ ।

नेपालतर्फ पनि भारतीय पक्षले नै खोलाको ठेक्का लगाउने गरेको प्रमुख मियाँ बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘सिमाको अन्तिममा खोला छ । १० मिटर यता र १० मिटर उता छोड्दा भारतमा पर्दै-पर्दैन । तर, खै कसरी ठेक्का भारतीय पक्षले लगाउँछ ।’ यसवर्ष ठेक्का लगाएको छ वा छैन भन्नेवारे थाहा नभएको उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर