‘सरकार ! हामीलाई घर न घाटको नबनाऊ’ – Nepal Press
कोरिया उडानको पर्खाइमा १० हजार युवा

‘सरकार ! हामीलाई घर न घाटको नबनाऊ’

काठमाडौं । ‘ईन्द्र गौतम राजीनामा दे, इपिएस कोटा खारेज गर’ लतिलपुर ग्वार्कोस्थित इपिएस कोरिया शाखा कार्यालयको मुल ढोकाअघि यस्तै नारा लागिरहेको छ । ढोकाबाहिर सातदोबाटो र मंलगबजार क्षेत्र हेर्ने २ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वका सुरक्षाकर्मी प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि तयारी अवस्थामा छन् ।

करिब १ सय युवाको टोली प्रदर्शन गरिरहेको छ, तर केही व्यक्ति भने प्रतिनिधिका रुपमा मुल ढोका भित्र पसेर इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमसँग बाझाबाझ गरिरहेका छन् । निर्देशक गौतम आफूले सक्ने काम आफ्नो तहबाट गरिरहेको र बाँकी काम दुई देशका सरकारले मात्र गर्न सक्ने जवाफ दिइरहेका छन् ।

यसैबीच एक जनाको आवाज चर्को सुनिन्छ– इन्द्र सर हामी पागल भइसकेका छौ । कतिपय साथीहरुले मानसिक समस्या भोगिरहेका छन् । हाम्रो अवस्था पनि त्यस्तो हुन बेर छैन । त्यसैले तपाईं हामीलाई कोरिया पठाउने वातावरण निर्माण गरिदिनुहोस्, होइन भने तपाईं पनि राजीनमा दिनुहोस् । तपाईंले हामीलाई कोरिया पठाउने वातावरण निर्माण गर्नुभयो भने तपाईंको फोटो घरको भित्तामा मात्र होइन, काम गर्ने कम्पनीको भित्तामा समेत टाँसेर राख्नेछौं ।

यसरी अर्को आवाजमा आक्रोशश्रित आग्रह गर्ने व्यक्ति हुन्, रुपन्देहीको सैनामैना नगरपालिका ६ का २१ वर्षीय महेश पाण्डे । विज्ञान संकायबाट १२ कक्षा उतीर्ण पाण्डेले इपिएस कोरियना भाषा परीक्षा गत वर्ष नै पास गरेका हुन् । उनले सीप परीक्षा पनि उतीर्ण गरे । भाषा परीक्षा पढ्नेदेखि लिएर कोरिया जानकै लागि भनेर १ लाखसम्म उनले खर्चिसकेका छन् ।

उत्पादनमूलक कम्पनीमा काम गर्नका लागि छनोट भएका पाण्डेले थप ५६ हजार रुपैयाँ दक्षिण कोरिया उड्ने तयारी भएका बेला खर्चिए । ‘तर सरकारले कोभिड–१९ को बहाना बनाएर म जस्ता हजारौ युवालाई भाषा तथा सीप परीक्षा उतीर्ण गराएर पनि पठाएन । उनले आक्रोशित मुद्रामा सुनाए ।

बुटवल बस्दै आएका पाण्डे कहिले सरकारले दक्षिण कोरिया पठाउने प्रक्रिया अघि बढाउँछ भनेर ५ पटकसम्म काठमाडौं धाइसकेका छन् । तर जहिले आए पनि रित्तो हात फर्किनुपरेको सुनाउँदै उनले भने– यसपालि त म यत्तिकै जादैँ जान्नँ । कि कोरिया जान्छु, कि अब अहिल्यै कोरिया नजाने गरी फर्किन्छु ।

०००

भोटखोला गाउँपालिका– ४ संखुवासभाका २४ वर्षका मिना गुरुङ भने नारा जुलुस लगाइरहेको भीड भन्दा अलिकति टाढा उभिएकी छन् । उनले पनि शिक्षा संकायमा १२ कक्षा उतीर्ण गरेकी हुन् ।

२ वर्षअघि पहिलोपटक काठमाडौं आएकी मिनाले २०७५ सालको चैतमा कोरिया भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन दिइन् । आवेदन दिएको २ महिनापछि २०७६ जेठ महिनामा भाषा परीक्षा भयो ।

असारमा आएको नतिजामा उतीर्ण भएपछि उनले साउनमा भएको सीप परीक्षा पनि उतीर्ण गरिन् । मिना कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया जानका योग्य भइन् ।

‘त्यतिबेला म यति धेरै खुसी भए कि सायदै जिवनमा त्यति धेरै खुसी थोरै दिन मात्र भएको छु ।’ सीप परीक्षा पनि उतीर्ण गरेपछि मिनाले माघमा कोरियनमैत्री अस्पताल भक्तपुर पुगेर स्वास्थ्य परीक्षण गराइन् ।

त्यहाँ पनि सफल भएपछि माघ १९ गते कामका लागि निवेदन पनि दिइन् । त्यसको १० दिनमा निवेदन स्वीकार पनि भयो । तर त्यसपछि निवेदन जारी हुन बाँकी थियो, २ महिना पुरा नहुँदै कोरोना महामारीले लकडाउन भएपछि अहिलेसम्म उनको निवेदन जारी भएको छैन ।

उनी भन्छिन्– अहिलेसम्म सबै गरेर २ लाख भन्दा बढी खर्च भइसक्यो । तर समय पनि यति धेरै बितिसक्यो । कतिपय साथीहरुको निवेदन नै रद्द भइसकेको छ । डर लागेको छ । खै के हुने हो ।

०००

रामेछामको गोकुलगंगा गाउँपालिका– ४ का भिम घिमिरेले व्यवस्थापन संकायमा १२ कक्षा उतीर्ण गरेका छन्, व्यवस्थापन संकायमा १२ कक्षा उतीर्ण गरे पनि कोरिया जाने बाटो भने अझै व्यवस्थापन हुन सकेको छैन ।

सन् २०१८ मा इपिएस भाषा परीक्षा उतीर्ण गरेका घिमिरेले २०२० भित्र कोरिया गइसक्नुपर्ने थियो । भिसा जारी भएर उनको गत वैशाखमा नै अनुमानित उडान मिति तोकिसकेको थियो । तर त्यो मिति कटेको पनि १० महिना पुग्यो । अब उनले सन् २०२१ मार्च १३ तारिखसम्म उडिसक्नुपर्नेछ तर अझै कहिले उड्ने अत्तोपत्तो छैन ।

उनलाई आफू कोरिया जान नपाएकोमा त्यति धेरै चिन्ता छैन, तर सरकारले २०२१ मा परीक्षा लिन्छ कि भन्ने चिन्ताले बढी पिरोलिरहेको छ । उनी भन्छन्– नयाँ भाषा परीक्षा लिएपछि नयाँ मान्छे उतीर्ण हुन्छन् । उनीहरु उतीर्ण भएपछि सरकारले नयाँलाई पठाउनमा जोड गर्ला । अनि हामी यतै थन्किन्छौ । अनि त हामी न त घरका न त घाटका हुन्छौ ।

महेश पाण्डे, मिना गुरुङ र भिम घिमिरे मात्र इपिएस शाखा अगाडि धर्ना दिइरहेका छैनन्, उनिहरुसँगै धर्ना दिन आउनेको संख्या सयौं छ । घरमै बसेर चिन्ता र पीडामा बस्नेको संख्या हजारौ छ ।

नेपालमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिने डरले सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरेपछि बैदेशिक रोजगारी ठप्प भएपछि कोरिया जाने रोजगारी पनि ठप्प नै छ ।

कतिपय देशमा रोजगारीमा जान र आउन खुला भए पनि कोरिया जानका लागि भने खुला गरिएको छैन । हरेक वर्ष लिइने इपिएस भाषा परीक्षा सन् २०२० अर्थात् गत वर्ष २०७६ मा सञ्चालन हुन सकेन । सन् २०१९ मा उतीर्ण भएका व्यक्ति पनि जान पाएनन् ।

वैदेशिक रोजगार विभागअन्तरगको इपिएस कोरिया शाखाका अनुसार सन् २०२० मा नेपालबाट ९ सय ५८ पुरुष र ६९ महिला गरेर १ हजार २७ जना नेपाली कोरिया गइसकेका छन् । तर उनीहरु कोरोना भाइरसको संङक्रमण फैलिनु अघि नै गएका हुन् ।

सरकारले इपिएस भाषा र सीप परीक्षा उतीर्ण भएका व्यक्तिलाई पठाउनका लागि पहल गरिरहेको भए पनि यो विषय दुइ देशका सरकारबीचको विषय भएकाले नेपालले मात्र पहल गरेर नहुने इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले नेपाल प्रेससँग बताए । उनका अनुसार नेपाल सरकारले उच्च स्तरबाट पहल गरिरहेको छ ।

नेपाल सरकार र कोरिया सरकारबीच सन् २००७ अर्थात् २०६४ सालमा वर्सेनि नेपाल कामदार कोरिया पठाउने समझदारी भएको थियो । पहिलो वर्ष सन् २००८ मा ३१ हजार ५ सय २५ जनाले कोरियन भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन दिएका सबै परीक्षामा सहभागी भए ।

जसमा ६ हजार ४ सय ४ पुरुष र ३ सय ८० महिला गरेर ६ हजार ७ सय ८६ उतीर्ण भएका थिए । सन् २००८ मा २ हजार ७ सय ३३ पुरुष र ८१ महिला गरेर २ हजार ८ सय १४ कोरिया उडेका थिए ।

दोस्रो वर्ष सन् २००९ मा भाषा परीक्षा हुन सकेन । परीक्षा नभए पनि अघिल्लो वर्ष उतीर्ण भएका १ हजार ८ सय ४७ जना पुरुष र ६४ महिला गरेर ६४ १ हजार ९ सय ११ जना कोरिया पुगेका थिए ।

त्यसपछि सन् २०१० र २०११ मा भाषा परीक्षा भए पनि २०१२ मा भाषा परीक्षा हुन सकेन । त्यसपछिका ७ वर्ष भने नियमित भाषा परीक्षा चल्यो र नियमित रुपमा नेपाली युवा पनि कोरिया उडे ।

इपिएस कोरिया शाखाका अनुसार १३ वर्षको अवधिमा ५ लाख ८९ हजार ६ सय १८ जनाले भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन दिए पनि ४ लाख ४८ हजार ७ सय ७१ जना मात्र भाषा परीक्षामा सहभागी भएका छन् । जसमध्ये ६९ हजार ७ सय ६० पुरुष र ७ हजार ६ सय १७ जना पुरुष गरेर जम्मा १३ प्रतिशत अर्थात् ७७ हजार ३ सय ७७ जना उतीर्ण भएका छन् ।

उतीर्ण हुनेमध्ये ९८ प्रतिशत अर्थात् ७५ हजार ९ सय ८२ ले कामका लागि आवेदन फाराम भरेका छन् । त्यसबाट पनि ६२ हजार ८ सय ५२ पुरुष र ४ हजार २० महिला गरेर ८८ प्रतिशत अर्थात् ६६ हजार ८ सय ७२ नेपाली युवा २०७६ फागुन २१ सम्ममा कोरिया पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर