प्रिमियर कपमा पराजित नेपाल कसरी पुग्यो एसिया कपमा ? – Nepal Press

प्रिमियर कपमा पराजित नेपाल कसरी पुग्यो एसिया कपमा ?

काठमाडौं । नेपालले आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले एसिया कप खेल्ने पक्का भएको हो ।

यसअघि फागुनमा मलेसियामा भएको छनोटमा सेमिफाइलनमा मलेसियासँग पराजित हुँदै एसिया कप खेल्ने नेपालको सम्भावना सकिएको थियो । उक्त खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै मलेसिया एसिया कपमा छनोट भएको थियो ।

तर, मंगलबार सार्वजनिक तालिकाअनुसार नेपालले एसिया कप खेल्ने निश्चित भएको छ । नेपालले कसरी एसिया कप खेल्न पायो ? नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्य दुर्गाराज पाठकले नेपालको लविङले यो सम्भव भएको बताउँछन् ।

‘हामी छनोट हुन सकेनौं । त्यसपछि नेपाललाई पनि सहभागी बनाउनुपर्छ भन्ने तरिकाले कुरा गर्‍यौं । नेपालको लविङले यो सम्भव भएको हो । यो हाम्रो लागि राम्रो कुरा हो’, उनले भने ।

यसअघि एसीसी प्रिमियर कपको फाइनलमा पुग्ने दुई टोलीले मात्रै एसिया कप खेल्न पाउँथे । सोही व्यवस्थाअनुसार मलेसिया र यूएईले एसिया कपमा स्थान बनाएका थिए । तर, अहिले भने सेमिफाइनल पुग्ने टोलीलाई पनि एसिया कप खेल्ने अवसर दिँदा नेपालले अवसर पाएको हो ।

सेमिफाइनल पुगेको नेपालसहित थाइल्यान्डले पनि एसिया कप खेल्ने अवसर पाएको छ ।

एसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आउँदो जुलाईमा महिला एसिया कप खेल्नेछ । नेपाल भारत, पाकिस्तान र यूएई रहेको समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल जुलाई १९ मा पाकिस्तान, दोस्रो खेल जुलाई २२ मा युएई र तेस्रो खेल भारतसँग जुलाई २३ मा खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *