‘राइफलको नालबाट जीवन नियाल्दा’ सार्वजनिक – Nepal Press

‘राइफलको नालबाट जीवन नियाल्दा’ सार्वजनिक

काठमाडौं । युद्ध साहित्यकार गणेश राईको नवौं कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ ।

ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाश प्राप्त साहित्यकार राईको उक्त कृति कवि श्रवण मुकारुङ, कवि शशि लुमुम्बू, सङ्गीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक टेकनाथ दाहाल, संस्कृति संरक्षण समाज नेपालका अध्यक्ष सास अधिकारी (ठण्डबहादुर)लगायतले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा श्रवण मुकारुङले डायास्पोरामा बसेर लेखिरहेका साहित्यकारहरूमध्ये आफूले गणेश राईलाई अब्बल साहित्यकारका रूपमा पाएको बताए ।

शशि लुमुम्बूले नेपाली साहित्यमा युद्ध साहित्यसम्बन्धी उत्कृष्ट कृतिहरू लेखेर गणेश राई युद्ध साहित्यकारका रूपमा स्थापित भएको उल्लेख गर्दै राईका अन्य कृति जस्तै यो कृति पनि युद्धसम्बन्धी नै भएको बताए ।

उनले भने, ‘यसलाई युद्ध अनुभव, युद्ध अनुभूति वा युद्ध स्मरणात्मक उपन्यास पनि भन्न सकिन्छ ।’

टेकनाथ दाहालले कृति पढिरहँदा पाठकले आफैं पनि युद्धमा सामेल भइरहेको अनुभूति दिने उल्लेख गर्दै युद्ध साहित्यमाथि लेखिएको यति बेजोडको किताब आफूले पहिलो पटक पढ्न पाएको बताए ।

कृतिकार राईले आफू जस्तै सैन्य तथा गैरसैन्य लेखक/साहित्यकारहरूसँगको सङ्गत र सहकार्यले आफूलाई साँच्चिकै लेखनको लत लागेको अनुभव सुनाए ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका पूर्वअध्यक्ष राईको उक्त पुस्तक रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो । राई यसअघि राइफलको नालबाट जीवन नियाल्दा (संस्मरणात्मक उपन्यास, २०६२), राइफलले फलाकेको जिन्दगी (कविता संग्रह, २०६३), युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास, सन् २००९), राइफलको मूच्र्छना (युद्ध उपन्यास, २०६८), फोकल्यान्ड जर्नल (युद्ध अनुभव, सन् २०१६), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू (संयुक्त लेखन, सन् २०१४), अमेरिका डायरी (नियात्रा, २०७९) र गोर्खा गन्स (सन् २०२०) प्रकाशित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर