मधेशका मुख्यमन्त्री सरोज यादवमाथिको समर्थन फिर्ता लिने माओवादीको गृहकार्य – Nepal Press

मधेशका मुख्यमन्त्री सरोज यादवमाथिको समर्थन फिर्ता लिने माओवादीको गृहकार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेशका मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरू गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको भन्दै माओवादीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल चलाएको हो ।
.
माओवादीका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘जसपाबाट मधेशमा मुख्यमन्त्री बनेका यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको छ । अहिले निष्कर्षमा पुगेका छैनौं त्यो निर्णय हुनसक्छ ।’

उनले उपेन्द्र यादवले केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न खेलेको खेल स्वीकार्य नभएको पार्टीको निष्कर्ष सुनाए ।

ती पदाधिकारीले भने, ‘उहाँले अहिले आफैं सरकारमा बसेर त्यही सरकार ढाल्न खोज्नुभएको पुष्टि भइसकेको छ । त्यो स्वीकार्य हुँदैन ।’

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको भनेपनि प्रधानमन्त्रीले त्यसबारे छलफल गरिरहेको ती नेताको भनाइ छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर अशोक राईले नयाँ पार्टी खोलिसकेका छन् । मधेशका मुख्यमन्त्री यादव उपेन्द्र पक्षधरका हुन् ।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा जसपा नेपाल नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस रहेको समर्थन छ ।

त्यहाँ एमाले २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन्। वैशाख पहिलो साता विश्वासको मत लिँदा मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त गरेका थिए। माओवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

त्यहाँ कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १/१ सांसद छन् । लोसपाका एक सांसद निलम्बित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर